जब सदनमा सांसदले देउवालाई भने, हमराे माग सम्बाेधन क्यान्या भयाे ?

काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रिय, स्थानीय तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मूल्यवृद्धिको मारमा जनता पिल्सिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद दीपप्रकाश भट्टले त सुदूरपश्चिम प्रदेशमा चलनचल्तीमा रहेको डोट्याली भाषामा गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालनमा ल्याउन माग गरे ।
उनले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयमा परिवर्तन गर्न स्थानीय भाषामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । उनले सुदूरपश्चिम प्रदेशबाट पटकपटक प्रधानमन्त्री भएकामा शेरबहादुर देउवाप्रति स्थानीयवासीको ठूलो अपेक्षा रहेको बताउँदै डाेटेली भाषामा ‘हाम्राे माग किन सम्बाेधन नभएकाे’ भन्दै प्रश्न गरे ।
सांसदद्वय देवप्रसाद तिमिल्सिना र धर्मशीला चापागाईँले नागरिकताको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । त्यस्तै सांसद देवप्रसाद गुरुङले पेट्रोलियम पदार्थमा गरिएको मूल्यृवद्धि फिर्ता लिन माग गरे । सांसद नवीना लामाले पनि इन्धनमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न अनुरोध गरे ।
शून्य समयमा सांसदहरू डिला सङ्ग्रौला, थममाया थापा दलबहादुर राना, दामोदर भण्डारी, नरबहादुर धाँमी, नवराज सिल्वाल, नारदमुनी राना, निरुदेवी पाल, पूर्णाकुमारी सुवेदीले देश र जनताका पक्षमा सरकारले काम गर्नुपर्नेमा ध्यानाकर्षण गराए ।








