एयर अरेबिया र फ्लाई दुबईले भैरहवा विमानस्थलबाट नियमित उडान भर्ने

काठमाडौँ । गत जेठ २ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले नियमित उडान भर्ने भएका छन् ।

नियमित उडान भर्नका लागि एयर अरेबिया र युएइको फ्लाई दुबई कम्पनीले प्रक्रिया अघि बढाइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । यी दुवै संयुक्त अरब इमिरेट्स (युएई) का अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक ई. प्रदीप अधिकारीका अनुसार एयर अरेबियाले आउँदो दुई हप्ताभित्रै नियमित व्यावसायिक उडानका लागि इच्छा प्रकट गर्दै प्रक्रिया थालेको जानकारी दिए ।

उनका अनुसार खासगरी भैरहवा विमानस्थलबाट श्रम गन्तव्य मुलुक जान चाहने यात्रुको माग तथा चाप पनि उच्च रहेको छ । सोही कारण अन्य विदेशी वायुसेवा कम्पनीले पनि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि रुचि बढाएका छन् ।

यसैगरी, एक महिनाअघि विमानस्थल उद्घाटनसँगै साताको तीन दिन नियमित उडान शुरू गरेको जजिरा एयरलाइन्सले पनि छिट्टै हप्तामा सातैवटा उडान शुरू गर्ने तयारी गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका प्रमुख गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

हाल काठमाडौँ–कुवेत रुटका लागि जजिराको न्यूनतम भाडा रु. ३३ हजार रहेको छ । भैरहवा–कुवेत रुट भएर अवतजावत गर्दा भने यसमा २० प्रतिशत अर्थात् रु. छ हजार ६०० कममा सेवा दिँदै आएको जनाइएको छ ।

जजिरा एअरले छिट्टै आफ्नो उडान तालिका परिवर्नन गरी बिहानका लागि पनि बनाउने योजना बनाएको उक्त वायुसेवाको नेपालका लागि आधिकारिक जिएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रवीचन्द्र सिंहले जानकारी दिए ।

उनका अनुसार भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत यात्रुले कुवेत भएर खाडीका विभिन्न मुलुकका साथै जर्जिया, इजिप्ट, अजरबैजानलगायत कुवेत हब बनाएर जजिराले उडान सञ्चालन गरिरहेका सबै गन्तव्य जाने उडान सेवा लिँदै आएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने आउने यात्रुका लागि यो विमानस्थल सहज भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *