म्याग्दीको अर्जमलाई बनाइयो बङ्गुर पकेट क्षेत्र

काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका–१ अर्जमलाई बङ्गुरको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) बनाइएको छ ।

परम्परागत रूपमा सुँगुर र बङ्गुरपालन गर्दै आएका त्यहाँका कृषकलाई व्यावसायिक बनाउन नगरपालिकाले चालू आर्थिक वर्षदेखि पकेट क्षेत्र घोषणा गरेको हो ।नगरपालिकाको पशु सेवा शाखाका प्रमुख जनाश्रित श्रेष्ठले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत् अर्जम पशुपालन तथा बहुउद्देश्यीय कृषक समूहमार्फत बङ्गुर पकेट क्षेत्र घोषणा गरिएको जानकारी दिए ।

उक्त कार्यक्रमका लागि चालू आर्थिक वर्षमा रु. १० लाख विनियोजन भएकामा समूहमा आबद्ध कृषकलाई बङ्गुरको खोर निर्माण र पाठापाठी खरिदमा अनुदान दिइएको छ । नगरपालिकाको ५० प्रतिशत अनुदानमा २२ कृषकले बङ्गुरको सुधारिएको खोर बनाएका समूहका अध्यक्ष नरबहादुर थापाले बताए । “बाइस जनालाई दुई-दुईवटाका दरले पाख्रीबास जातको बङ्गुरका पाठापाठी उपलब्ध गराएका छौँ”, उनले भने, “पानी पर्दा ओत लाग्ने र खुला ठाउँमा बस्ने, उमेर समूहअनुसार पोथी र भालेलाई छुट्टाछुट्टै राख्न मिल्ने आधुनिक खोर बनाएका छौँ ।”

खोर निर्माणका लागि प्रतिकृषक रु. ३५ हजारका दरले अनुदान दिइएको अध्यक्ष थापाले बताए । एउटा खोरमा १० भन्दाबढी बङ्गुर पाल्न सकिन्छ । करिब ३०० घरधुरी रहेको अर्जमका अधिकांशका घरमा धराने कालो जातको सुँगुर पालेका छन् । यसअघि, परम्परागत शैलीका खोरमा बङ्गुर पालिएको थियो । घरायसी उपभोगका लागि बङ्गुर, सुँगुर पाल्दै आएका अर्जमका कृषकको आयआर्जन सुधारका लागि पकेट क्षेत्र सञ्चालन गरिएको वडासदस्य ताराप्रसाद थापामगरले बताए ।

पाठापाठी र मासुका लागि बङ्गुर, सुँगुरको माग बढेको छ । बागलुङ, बेनीलगायत बजार क्षेत्रबाट सुँगुरको माग आउने गरेको छ । धेरै पाठापाठी जन्माउने, छिटो हुर्कने, घरमा फालिएको खानेकुराको सदुपयोग आम्दानी हुने भएकाले त्यहाँका बासिन्दाले बङ्गुरपालनलाई व्यावसायिक बनाउन थालेका छन् । प्रतिकिलो रु. ५०० को हाराहारीमा बङ्गुर बिक्री हुन्छ ।

एउटै बङ्गुरलाई एक वर्ष पालेमा रु. ५० हजारभन्दा बढी मूल्य आम्दानी गर्न सकिने कृषकले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *