विदेशमा रहेका जग्गाधनीको नक्कली मृत्युदर्ता बनाइ काठमाडौँको जग्गा बेच्ने पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विदेशमा बस्ने एक व्यक्तिको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर काठमाडौँको जग्गा बिक्री गर्ने ५ जनालाई पक्राउ गरेको छ ।

ब्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरीले नक्कली कागजपत्र बनाएर जग्गा किनबेच गरेको अभियोगमा महावीर चन्द, गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र डासी माया श्रेष्ठलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

उनीहरूले २०५५ सालदेखि जापान बस्दै आएको शान्तादेवी लोहनीको नाममा रहेको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा बिक्री गरेको अनुसन्धानबाट खुलेको ब्युरोका प्रवक्ता प्रहरी उपरिक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।

जग्गा बिक्री गर्ने क्रममा शान्तादेवी नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाइएको र नक्कली विवाह दर्ता प्रमाणपत्र समेत पेश गरेर नक्कली छोरी खडा गरिएको अनुसन्धानबाट खुलेको महत्तोले बताए । लामो समय नेपाल फर्किएकी शान्तादेवीले आफ्नो जग्गा प्रमाणपत्रलाई डिजिटल बनाउन खोज्दा आफ्नो नाममा नभएको पाइएपछि ब्युरोमा पुगेको र थप अनुसन्धान गर्दा किर्ते कागजात बनाएर बेचिएको पाइएको महत्तोले जानकारी दिए ।

पक्राउ परेका मध्ये गणेशबहादुर खनाल मुख्य योजनाकार रहेको खुलेको ब्युरोले जानकारी गराएको छ । पक्राउ परेका व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =