मोरङमा दुई बालबालिकाको मृत्यु

विराटनगर । मोरङको बेलबारी र रतुवामाई नगरपालिकामा खाल्डोमा डुबेर र दुर्घटनामा परेर शनिबार राति दुई जना बालबालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार रतुवामाईमा खाल्डोमा डुबेर बालक र बेलबारीमा दुर्घटनामा परेर बालिकाको मृत्यु भएको हो । दुवै जना २ वर्षका थिए । रतुवामाई–१ मुस्लिम टोलका २ वर्षीय बालकको शव खाल्डोको पानीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार साकिर आलमका छोरा जासिद आलमको शव खाल्डोको पानीभित्र डुबेर मृत्यु भएको अवस्थामा फेला परेको हो । घरदेखि ३० मिटरजति उत्तरमा रहेको सार्वजनिक कलको पानी जमेको खाल्डोमा बालकको शव भेटिएको डिएसपी श्रेष्ठले बताए ।
शव पोस्टमार्टमका लागि रङ्गेली अस्पताल लगेर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । खेल्दै जाने क्रममा बालक खाल्डोमा खसेको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।
त्यस्तै पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी–२ स्थित सडकमा रोकेर राखेको ना ६ ख ५९३६ नम्बरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १० प ८२२३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार दुर्घटनामा परेर बेलबारी–१० का अन्दाजी ३५ वर्षीय रविन चाम्लिङ राईकी छोरी २ वर्षीया दयानी राईको मृत्यु भएको हो ।
मृतक बालिका मोटरसाइकलमा बाबु–आमासँगै सवार थिइन् । दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा राति ९ बजेतिर मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रविन र पछाडि सवार उनकी पत्नी अन्दाजी ३० वर्षीया बन्दना राईको न्युरो अस्पतालमै उपचार भइरहेको छ ।
अर्का घाइतेको पनि मृत्यु
बेलबारी–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा दुर्घटना हुँदा गम्भीर घाइते भएका २५ वर्षीय गणेशकुमार राईको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–१ घर भएका राई गत शुक्रबार दिउँसो दुर्घटनामा परेर घाइते भएका थिए ।
प्रदेश १–०२–०४४ प १६७२ नम्बरको स्कुटरका चालक रहेका उनको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा शनिबार राति ८ः३० बजेतिर मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स्कुटरलाई शुक्रबार दिउँसो ४ः४० बजेतिर पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७४७ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा चालक राई र स्कुटरको पछाडि सवार मोरङको ग्रामथान गाउँपालिका–५ का २३ वर्षीय विजयकुमार श्रेष्ठ घाइते भएका थिए । विराट नर्सिङ होममै उपचाररत श्रेष्ठको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।








