जीवन र भोगाइ !

विषय प्रवेशः जीवन भन्नु कहानीको संगालो हो । हरेक मानिसको जीवनमा आ-आफ्नै कहानी हुन्छ, भोगाइ र अनुभव हुन्छ । त्यही भोगाइ र अनुभवको बृहत् संगालो हो जीवन । मानिसको जीवनमा पृथक-पृथक कथा हुन्छ, व्यथा हुन्छ फरक यति हो, कसैको कोरिएको हुन्छ भने कसैको कोरिएको हुँदैन । तीन दशकको मेरो जीवनमा मैले पनि केही भोगाइ अनि अनुभूति संगालेको छु । त्यही विषयलाई संक्षिप्तमा यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु ।

गाँउमा हुँदा

खोटाङ जिल्लाको सदरमुकामभन्दा निकै टाढाको एउटा विकट गाउँमा जन्मिएकी म । लामो बाटो हिँडेर स्कूल जानुपर्थ्यो । गाउँमा बाटोघाटो पनि राम्रो थिएन ।

खेतको आली अनि कुलाको छेउछेउ हुँदै हिँडेर बल्लतल्ल स्कूल पुगिन्थ्यो । यसै गरेर गाउँकै शिशु माध्यमिक विद्यालयबाट माध्यमिक तहसम्मको पढाइ सकेँ । गाग्रीमा पानी र डोकोमा घाँस बोकेर, ढिकी-जाँतो अनि मेलापात; यस्तै थियो मैले बाँचेको परिवेश । मध्यम वर्गको परिवारमा जन्मिएकी म जीवनमा कुनै ठूलो सपना थिएन । घरछेउको खरवनमा बिदाको दिन घाँस काट्न जाँदा लामिडाँडा (खोटाङ) एयरपोर्टमा प्लेन उडेको देखिन्थ्यो । हामी टाढाबाटै हेरेर रमाइलो मान्थ्यौँ । टाढाबाट सानो सियोजस्तै देखिने प्लेन आखिरी कहाँ जाँदा चढ्न पाइँदो हो भनेजस्तो लाग्थ्यो । त्यो ग्रामीण क्षेत्रमा भोगेको दुःख अभाव र दबाबले जीवनमा केही गर्नुपर्छ भन्ने सपना र महत्वकांक्षा बुन्न सिकायो । गाउँमा बाँचेको त्यो प्रिय विगतले जीवनको उकाली चढ्न सिकाइरहन्छ, आधार बनिरहन्छ ।

बुबाको प्रेरणा

थुलुङ राई भाषामा बुबालाई ‘पाप’ भनिन्छ र छोटकरीमा ‘पा’ भन्ने गरिन्छ । यसैले म बुबालाई ‘पा’ भन्छु । यसमा मलाई बेग्लै मज्जा अनि गर्व लागेर आउँछ । मेरो ‘पा’ वास्तवमै मेरो लागि हौसला र ऊर्जाको पहिलो स्रोत, पहिलो गुरु र जीवनको दर्शन हुनुहुन्छ । बुवाले सधैँ पढ्नुपर्छ र जागिर खानुपर्छ भनिरहनुहुन्थ्यो तर, के जागिर र कसरी खाने त्योचाहिँ कहिल्यै भन्नुभएन । ‘छोरी भनेको अर्काको घर जाने जात भन्दै’ छोरीलाई स्कूल पठाउन नचाहने हाम्रो समाजमा मेरो ‘पा’ ले मलाई रौसिएर सधैँ स्कूल पठाउनु हुने, म त्यस्तो एक भाग्यमानी छोरी हुँ । बिजुली पुगेकै थिएन गाउँमा । टुकी बाल्न मट्टीलेतको जोहो गरिदिनुहुन्थ्यो । म त्यहीँ मधुरो टुकी बालेर रातभर पढ्दै उज्यालो भविष्य खोजिरहेको हुन्थेँ ।

‘हाम्राे समाजले महिलाकाे प्रमुख भूमिकलाई अझै स्वीकारेकाे छैनझैँ लाग्थ्याे ।’

‘पा’ ले हरेक साल ढाकरमा नयाँ किताब किनेर ल्याउनुहुँदा यति खुसी हुन्थेँ कि संसारकै खुसी व्यक्ति सायद मै हुँ जस्तो लाग्थ्यो मलाई । स्कूल नजाउ कहिल्यै भन्नुभएन, पढाइ खर्च छैन भनेर कहिल्यै भन्नुभएन । मागेको कुरा पूरा गर्न सक्दिनँ भनेर त आजसम्म पनि भन्नुभएको छैन । जीवनमा आइपर्ने हरेक गाह्रो र अप्ठ्यारोमा पनि उहाँको सल्लाह, सुझाव, आड र भरोसा लिन्छु । उहाँ भन्नुहुन्छ कि— ‘हिमाल काटिजाने हिम्मत थियो रे कसैको तर बस्दाबस्दै आँगन परदेश भयो रे !’ अझै थप्नुहुन्छ कि— ‘हिँड्यो भने छेउ लाग्छ बसे लेउ लाग्छ ।’

जीवनलाई क्रियाशीलता राख्नुपर्छ, समयानुसार जिउनुपर्छ यो उहाँको मान्यता हो । आजको दिनमा म जे छु मेरो ‘पा’ को ऊर्जा र हौसलाको कारणले गर्दा हो । बुवाले पढ्नको लागि दिएको प्रेरणा र हौसला नै मेरो जीवनमा सफलता प्राप्तका आधारहरू हुन् ।

निजामती सेवामा आउनुअघि

निजामती सेवामा आउनुअघि म शिक्षण पेशामा आबद्ध थिएँ । शिक्षा संकायबाट स्नातक गरेर मैले आफू पढेकै विद्यालयमा पढाउन शुरू गरेकी थिएँ । यो मेरो जीवनको पहिलो र महत्त्वपूर्ण अवसर थियो ।

जीवनमा एउटा असल शिक्षक बन्ने रहर थियो । जुन विद्यालयमा म आफूले पढेँ, पेन्सिल र कागजको टुक्रामा आफ्नो सपना कोरेँ, वास्तवमा त्यहीँ स्कूलको शिक्षक बन्न पाउँदा गर्व पनि लाग्ने रहेछ, मलाई पनि लाग्याे । शिक्षक मेरो लागि मनपर्ने पेशा र प्यासन दुवै थियो । मेरो जीवनको आदर्श पात्रको रूपमा म शिक्षकलाई लिन्थेँ । त्यही रहर त्यही आदर्शमा करिब ६ वर्षसम्म स्कूलमा पढाएर बिताएका समय मेरो लागि धेरै महत्त्वपूर्ण रहन गयो । कक्षाकोठामा विद्यार्थीलाई सिकाएको कुरा मज्जाले बुझिदिँदाको जस्तो आनन्द र खुसी आजसम्म मैले अन्त कतै पाएकी छैन ।

विवाह ‘टर्निङ पोईन्ट’

गाउँकै शिशु माविबाट स्कूल तहको पढाइ सकाएँ । जिल्ला सदरमुकामको कलेजबाट स्नातक तहको पढाइ सकेपछि थप पढाइका लागि म काठमाडौँ जाने योजनामा थिएँ । तर, योबीचमा विवाह भएपछि तत्काल आफ्नो पढाइलाई अघि बढाउन सकिनँ । त्रिभुवन विश्वविद्यालयको एउटा नियमित विद्यार्थी बनेर किर्तीपुरमा डेरा गर्ने र बा-आमाले गाउँबाट पठाएको खर्चलाई अड्कलेर खर्च गर्दै पढ्ने मनभित्रको चाहना अधुरो भयो । भन्छन्— यात्रामा एउटा बाटो बन्द भयो भने अर्को गोरेटो खोज्नुपर्छ । मैले पनि आफूले हिँड्न सक्ने बाटो पहिल्याउन थालेँ ।

विवाहपछि श्रीमान्‌काे काेठामा भएका किताबका थुप्रो नै मेरो नयाँ यात्राको थालनी बन्न पुग्यो । सँगसँगै पढेका साथीहरू मास्टर गर्न शहर पस्दा म भने गाउँमा नै बस्न बाध्य भएकी थिएँ । सोचेँ यसैलाई मेरो लाईफको टर्निङ पोईन्ट बनाउँछु भनेर । बाटो मोडेर भएपनि यात्रा उकालीकै गर्छु भन्ने अठोट लिएँ । यसका लागि मेरो श्रीमान्‌काे साथ, सहयोग र सद्भाव थप प्रेरणाको स्रोत बने । हातमा किताब र काखमा सानो बच्चासहित नयाँ यात्राको थालनी गरेँ । अब मैले लोकसेवा आयोगको तयारी गर्न थालेँ । विवाह नै मेरो जीवन यात्राको बन्यो– नयाँ टर्निङ पोईन्ट ।

पढाइ व्यवस्थापन

हामी सबैलाई प्राप्त हुने समय हो– चौबिस घन्टा । यसमा हामीले कुन समयलाई कसरी उपयोग गर्‍याैँ भने राम्राे हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हाे । लाेकसेवा आयोगको तयारी गर्दा मैले मिनेट-मिनेट समयको उपयोग गरेँ, जसमा एक घण्टा त निकै ठूलो समय रहेछ भन्ने थाहा पाएँ । हरेक दिनको तालिका बनाएँ, हप्ता-हप्ताको सूची बनाएँ र महिना-महिनाको योजना बनाएँ । कुनै पनि समय खेर फालिनँ मैले । मैले हरेक समयलाई एकत्रित गरेर पढाइमा खर्च गरेँ । खाना बनाएँ, कपडा धोएँ, स्कूल पढाएँ, बच्चालाई हेरचाह गरेँ, छिमेकीलाई सहयोग गरेँ, आफन्तको निम्तो मानेँ, बुहारीको भूमिका निभाएँ; सबैथोक गरेँ र पनि पढि नै रहेँ । कोर्षको हरेक टपिकलाई हरेक कामसँग बाँडेर काम र पढाइसँगै लाने रणनीति नै मेरो सफलताको कारक बन्न पुग्यो ।

त्यसबेलाको सामान्य ज्ञान, नवयुवा, युवामञ्च, अन्तर्राष्ट्रिय मञ्चजस्ता ज्ञानगुण भएका लोकसेवाको खुराक पस्कने पत्रिकाहरू महिनौँपछि मात्र पुस्तक पसलमा आइ पुगेपनि नियमित किनेर हेरिरहन्थेँ, पढिरहन्थेँ । जति धेरै पुस्तक पढ्यो त्यति ज्ञानको दायरा बढ्ने हुनाले पुस्तक किन्नमा कहिल्यै कुनै कञ्जुस्याइँ गरिनँ मैले । एकसरो लुगा र एकजोर चप्पल लगाएर धेरै पुस्तक पढ्नमा निकै आनन्द लाग्ने मलाई । थोरोले भनेका पनि छन् कि– पुरानो कोट लगाउ तर नयाँ पुस्तक किन ।

निजामती सेवामा पहिलो खुड्किलो

त्यतिखेर गाउँ (दोर्पा) बाट दिक्तेल आउँदाखेरी सडक पनि बनिसकेको थिएन । अहिले त ग्रामीण र मध्यपहाडी लोकमार्गको राम्रै सडकमार्ग बनिसकेको छ । त्यो मेवाखोलादेखि ठाडो उकालो हिँडेर दिक्तेल आइपुग्नुपर्ने । साथमा सानो बच्चा अनि भारीको कुम्लो त छँदैँछ । लोकसेवाको परीक्षा सकेर गाउँको घर पुगेर दिक्तेल फर्कने क्रममा थिएँ । उकालो हिँडिरहेको बेला टाटा ईन्डिकमको सानो मोबाइल फोनमा खरिदारमा नाम सिफारिस भएको खबर आयो । खुसीले बाटैमा आहा भनेर चिच्याएछु । बाटो छेउमा गाईगोठालो गर्नेले ‘के भयो नानी ?’ भन्दा पो बेस्मारी लाज लागेको अहिले पनि याद आउँछ । त्यसपछि लोकसेवा आयोग सगरमाथा अञ्चल कार्यालय खोटाङको सिफारिस लिएर नियुक्ति लिन लागि सिराहा जिल्ला पुग्नुपर्‍याे । डिभिजन सहकारी कार्यालय, लहानबाट सरकारी जागिरे जीवनको सुरुवात भयो । खरिदारको नियुक्ति लिनको लागि पहिलो पटक सिराहा जिल्ला जाँदा खोटाङको जाडो सम्झेर बोकेको सिरक र स्वीटर, छोराले गाडी चड्न नमानेर रोएको त्यो दिन, गाडीले मातेको, त्यो थोत्रो बसको झुर यात्रा अनि कार्यालयमा अधिकृत नभएको कारण फेरि नियुक्तिको लागि सिराहाबाट काठमाडौंतर्फ जान परेको झन्झट र पीडालाई सम्झँदा अहिले पनि अत्यास लागेर आउँछ ।

बाँचेकाे छु भन्नलाई पनि सपनाहरू देख्नुपर्छ भन्छन् । नयाँ सपनाहरू सिर्जना हुन्, परिवर्तन हुन् ।

यी सबै पीडाहरणको लागि एउटै धुन रेटिरहेँ कि मैले त लोकसेवा आयोगको परीक्षा पास गरेकी छु, त्यसैले यस्ता पीडालाई मैले भुल्नुपर्छ । विसं २०६७ सालमा खरिदार पदमा नियुक्ति लिएसँगै निजामती सेवामा जागिर सुरुवात गरेको नै आजसम्म करिब बाह्र वर्ष लागेछ । सम्झेकी थिएँ, खरिदारमा नियुक्ति भएपछि अब भने मेरा दु:खका दिनहरू गए । अब मैले पढ्नुपर्ने कामै सकियो । अब मेरो उद्धेश्य पूरा भए र यात्राहरू पूरा भए भनेर । तर, खासमा दुःखका दिन र खास यात्राचाहिँ अब शुरू भएको रहेछ भनेर पत्तो पाउन मलाई आजसम्मकै दिनहरू बिताउनुपर्‍याे ।

बुझ्दै जाँदाखेरी थाहा हुँदै गयो कि दुःख अझै बाँकी रहेछ, पढ्नु त अझै धेरै नै रहेछ, सिक्नु त झन् कति हो कति; भोग्न झनै धेरै बाँकी रहेछ । एउटा डाँडा सिर्फ देखेको रै’छु मैले । त्यहाँ पुगेपछि फेरि पनि अझै शिखर टन्नै रहेछ । अर्को अग्लो पहाड देख्नै बाँकी रहेछ टेक्नै बाँकी रहेछ ।

शाखा अधिकृत हुने मेरो सपना

लोकसेवा आयोगबाट खरिदार पदमा सिफारिस लिएर डिभिजन सहकारी कार्यालय लहान सिराहामा पहिलो पटक नियुक्ति लिन जाँदाखेरी त्यस कार्यालयमा कार्यालय प्रमुख शाखा अधिकृत नहुँदा झोली तुम्बी बोकेर पुनः काठमाडौंसम्म पुग्नु परेको हैरानीबाटै मैले अधिकृतको महत्त्व बुझिसकेकी थिएँ । कार्यालयमा हाजिर भएपछि सिराहाको खपिनसक्नुको उखरमौलो त्यो गर्मी, लामखुट्टेको टोकाइ सहँदै सिलिङ फ्यानको तातो हावा खाएर लाए/अह्राएको काम मात्र गरेर बस्नु भनेको आफ्नै शैक्षिक योग्यताकै अपमान गर्नु हो भन्ने कुराले मनभित्र कतै घोच्न थाल्यो मलाई ।

सहकारी संस्थाको दर्ता गर्ने, नवीकरण गर्ने, तालिम दिने र स-साना पूँजी भएकाहरूको लागि बचत गर्दै आत्मनिर्भर बनाउन सरकारको तर्फबाट काम गर्ने यो कार्यालय मलाई अति मन परेको थियो । सारी लगाएका र घुम्टो ओढेका महिला दिदीबहिनीहरू साईकलको पाईडल घुमाउँदै कार्यालयमा आएर आफ्ना हजार दुःखहरू सुनाउँथे । आफू कार्यालय प्रमुखजस्तो निर्णायक भूमिकामा नहुँदाखेरी त्यसको सही समाधान गरिदिन नसकेर केवल मूखदर्शक बन्नुशिवायः कुनै उपाय थिएन मसँग । यही कुराले पनि मलाई अधिकृत अर्थात् नेपाल सरकारको अधिकारप्राप्त अधिकारी हुनुपर्छ भन्ने कुराले सदा प्रेरित गरिरह्यो ।

म अब नायब सुब्बा छाडेर सिधै शाखा अधिकृतको तयारी गर्न थालेँ । सपना देखेर मात्र भएन पूरा गर्न हरदम मेहेनत, लगनशीलता र धीरताकाे खाँचो हुन्छ नै । म यही कुराहरूको अनुशरण गर्दै आफ्नो सपना पूरा गर्न डटेर लागेँ । लाग्छ, सफलताको लागि मान्छेमा सकारात्मक सोचको विकास हुनैपर्छ । म हर-बाधा र अवरोधहरूलाई अवसरको रूपमा लिने गर्छु ।

त्यसबीचमा सरुवाको चक्करले नराम्ररी घुमायो मलाई । सानो बच्चा च्यापेर सिराहाबाट खोटाङ अनि खोटाङबाट काठमाडौँ धाउनु पर्दा आउने तलबभन्दा बढी खर्च हुन पुग्यो । यो अवस्थाबाट मैले अझै पढ्नुपर्ने ऊर्जा र प्रेरणा लिएँ अनि सोहीअनुसार अघि बढिरहेँ, लम्किरहेँ । मनमा असल भाव बोकेर सत्कर्म गर्नेलाई कसैले नहेरे पनि भगवान्‌ले अवश्य हेर्छन् जस्तो लाग्छ मलाई । परीक्षाको तयारी गर्ने क्रममा सासु-आमाको उपचारको सिलसिलामा अस्पतालमा बस्नुपर्ने भयो । माघ महिनाको काठमाडौँको चिसो, सिभिल हस्पिटलको बसाइ अनि अधिकृतको तयारी । अधिकृतको तयारी गर्ने क्रममा मैले यस्तै भोगेँ । यद्यपि मैले जे गर्न सकेँ त्यो गरेँ र निरन्तर गरी नै रहेँ । केही कुराले साथ दिएन होला तर बानेश्वर, थापागाउँ, अनामनगर, न्यू प्लाजा हुँदै पुतलीसडक जाने त्यो खैरो रङकाे नेपाल यातायातचाहिँ सिर्फ मेरै लागि चलेकोझैँ लाग्थ्याे ।

म त्यो गाडीको भीडमा न्यानो महसुस गर्दै तयारी कक्षाहरू लिन जान्थेँ र त्यसैगरी फर्केर आउँथेँ । धन्न अफिसले बिदा दिएको थियो । बिहानै बिरामी आमाको लागि तातोचिसो बनाउनु, खाना र खाजा तयार गर्नु, सरसफाइ गर्नु, प्रेसर नापिरहनु, बेला-बेलामा औषधि खुवाउनु र अप्रेसनको लागि सम्पूर्ण तयारी गर्नु अनि यसैको बाबजुद पनि पढ्नु त छँदैँ थियो । किनकी मलाई अधिकृत बन्नु थियो । मेरो सपना पूरा गर्नु थियो । कहिलेकाहीँ परिवारको स्वास्थ्यभन्दा आफ्नो सपना गौण लाग्थ्यो । खासमा त्यसबेला मेरो सासुआमाको अप्रेसन गर्नु थियो । अप्रेसनको मिति र मेरो परीक्षाको मिति सँगसँगै जस्तो भयो । तर सबै कर्तव्य र जिम्मेवारी पूरा गरिसकेपछि जे जस्तो समय र मेरो मनस्थिति बाँकी रहन्थ्यो मैले त्यसैको उपयोग गरिरहेँ । हस्पिटलमा, बाटोमा, गाडीमा, किचनमा हर ठाउँमा पढि नै रहेँ । अन्त्यमा, आमाको अप्रेसन र मेरो परीक्षा पनि सँगै सकियो । साउन महिनाको एक दिन जिल्ला प्रशासन कार्यालयको व्यस्त भीडमा नागरिकता लेखिरहेको बेला शाखा अधिकृत पदमा आफ्नो नाम निस्किएको खबर सुन्दा धेरै नै खुसी भएँ ।

कार्यालय प्रमुखको अनुभव

अधिकृत पास भएपछि लामो आवासीय तालिम सकेर कार्यक्षेत्र रोज्नुपर्दा उपत्यका बाहिर जाने सायद म मात्र एक्ली थिएँ— महिला अधिकृत । जिल्ला हुलाक कार्यालय, खोटाङमा हुलाक अधिकृतको रूपमा पहिलो पटक कार्यालय प्रमुखको रूपमा काम गर्दै थिएँ । कार्यालयमा जाँदाखेरी हाकिम साब भनेर गरेको सम्बोधनले निकै पुरानो शैलीजस्तो अनौठो र अप्ठ्यारो अनुभूति भएको थियो । पछि विस्तार-विस्तारै बानी पर्दै गयो । महिला पनि हाकिम हुने रहेछन् भनेको सुन्दा अचम्म लागेर आउँथ्यो । पहिलो पटक कार्यालयमा महिला कार्यालय प्रमुखको रूपमा पाउँदा खुसी पनि व्यक्त गर्थे । काम छिटो छरितो र सहजरूपमा हुने गरेको भनी विश्वास व्यक्त गरेको पाएँ । सरकारी कार्यालयमा जागिर खानु भनेको गफ गर्नु हो भनेजस्तो मनोभावलाई तोडेर काम गर्नुपर्छ र कामको सम्मान गर्नुपर्छ भन्ने मेरो मान्यताअनुसार कार्यालय सञ्चालन गर्दै गएँ । यस्ता धेरै अनुभवहरू छन् जो महिला भएर कार्यालय प्रमुख भएको कारण मैले बटुल्न पाएको छु । कार्यालय प्रमुखको कक्षामा महिलालाई बसेको देखेर व्यक्त भएका ती अविश्वासका भाव अनि हाउभाउलाई म सहजै अनुमान गर्न सक्थेँ र बुझ्न सक्थेँ । मालपोत कार्यलयमा मालपोत अधिकृतको रूपमा हुँदा धेरैले मकहाँ आएर हाकिम साब कता हुनुहुन्छ भनेर साेध्थे र  आफैँ हुँ भन्दा हो र ? भनेर अचम्म मान्थेँ । शुरू शुरूमा मलाई पनि थाहा भएन धेरै जसो सेवाग्राहीहरू ढोकासम्म आएर कोठाभित्र मलाई हेर्दै फर्कँदै गर्थे । अर्को कोठामा गएर हाकिम सोधेर फेरि म भएको ठाउँमा आउने गर्दथे ।

यी सबै परिदृष्यले के देखाँउछ भने हाम्रो समाजले अझै महिलाको प्रमुख भूमिकालाई सहजरूपमा स्वीकार गर्न सकेको छैन । घरको घेरा तोडेर बाहिर निस्कने कामकाजी महिलाले अझैपनि आफ्नो पदीय भूमिका र दायित्व पूरा गर्न कामको प्रमाणित गर्नुपर्ने अवस्था छ । भूमिकाको हिसाबले दोहोरो मात्र होइन, बहुभूमिकामा रहनुपर्दछ । अफिसबाट घर पुग्न नपाइकन लगाएको युनिफर्म खोलेर सिधै किचनमा पुग्नुपर्छ । यी सब हैरानीमा पनि पनि छुट्टै मज्जा छ । मज्जा लिन र रमाउन पनि जान्नुपर्छ हरेक कुरा आफैँ सहज अनि प्रिय हुन्छ ।

उपसचिवको तयारी र सफलता

शाखा अधिकृत भएपछि मैले प्राय: समय जिल्लास्तरकै कार्यालयमा काम गरेर बिताएको छु । दूरदराजको नागरिकको सेवा गर्ने मौका पाएको छु । चप्पलबिनाको खुट्टा पट्पटी फुटेका ती कुर्कचाहरू सिधै आफ्ना समस्याहरू राख्न नसक्ने ती मुहार पढेर काम गरिदिएपछि अनपेक्षित खुसीले हाँसेका ती अनुहार सम्झँदा मलाई विकटमै बसेर सेवा गराैँजस्ताे लाग्छ । कुना-कुनामा पुगेर नागरिकलाई खुसी बनाउ जस्तो लाग्छ । यसैको लागि पनि थप भूमिका पाउन अझै जिम्मेवार बन्न म अर्को तह अथवा उपसचिव हुनुपर्छ भन्ने कुराले भित्र कतै छुन थाल्यो । त्यसपछि उपसचिवको तयारी गर्न थालेँ ।

‘लकडाउन’को समय थियो । सामाजिक सञ्जाल हेरेर साध्य थिएन । चिनेका जानेकाहरूकै पनि कति अप्रिय खबर आइरहेको थियो । मान्छेसँग मान्छे डराएर भाग्न थालेका थिए । सामाजिक सद्भाव र मानवीय संवेदनशीलता हराएर गएको जस्तो अनुभूति हुन्थ्यो । वल्ल घर पल्लो घर आउजाउ थिएन । एक हिसाबले घरभित्र मान्छे कैदीजस्तै बनेर बस्नुपरेको थियो । जतासुकै एकप्रकारको सन्त्रास फैलिएको थियो । बजार अफिस सबै ठप्प नै थिए । मैले यही समयको सदुपयोग गर्दै परीक्षाको तयारीमा लागेँ । एक किसिमले कोरोनासँग लड्ने की लोकसेवासँग लड्नेजस्तो अवस्था पनि थियो । यस्तो विषम् परिस्थितिमा पढाइलाई अघि बढाउनु सजिलो त पक्कै थिएन । तैपनि म आफ्नो लक्ष्यमा अडिग भएर लागिरहेँ आफ्नो कर्मलाई अघि बढाइरहेँ र अन्ततः सफल पनि भएँ ।

तयारीको क्रममा शुरूमा बजारमा पाइने थुप्रै पुस्तकहरू किनियो र सबै पढियो । तर परीक्षामा आउने प्रश्नपत्रको प्रकृति हेर्दा पढिएका विषयवस्तुसँग प्रश्नको फेद टुप्पो नै मिलेको पाइएन । पछि बुझ्दै जाँदा पढ्नुपर्ने कन्टेन्ट र कन्टेक्सलाई मिलाएर बृहत् र विश्लेषणात्मक तवरबाट विषयवस्तुको चिरफार गर्नुपर्ने रहेछ । विषयवस्तुलाई फरक फरक डाईमेन्सनबाट केलाउनुपर्ने रहेछ ।

विषयवस्तुलाई तथ्य र तथ्याङ्कको आधारमा तर्क विश्लेषण समीक्षा गरेर प्रस्तुतिलाई ओझिलो र तार्किक बनाउनुपर्ने रहेछ । जति पढेपनि लिखित परीक्षा भएकोले लेखाइमा निखारता र उत्कृष्टता अर्को महत्त्वपूर्ण पाटो हो । बृहत् विषयवस्तुको गहन अध्ययन, तथ्य र तथ्याङ्कसहितको पुष्ट्याइँ, कलात्मक प्रस्तुति, लेखाइमा चातुर्यता, स्व-अनुशासन र इमान्दारीता नै सफलताका सूत्रहरू हुन् । यीबाहेक विषयगत परीक्षामा जाँचकीको मनोभाव, बुझाइको स्तर, अनुभव, समयसन्दर्भ र देशकाल परिस्थिति आदिमा पनि निर्भर हुने रहेछ । त्यस्तै आफ्नो मनोभाव, स्वास्थ्य अवस्था, पारिवारिक वातावरण, विषयलाई बुझ्ने तथा विश्लेषण गर्ने क्षमता आदिले पनि लेखाइमा प्रभाव पार्ने रहेछ ।

भोगाइ र सिकाइ

भाग्य र समयले साथ दिएर होला उपत्यका बाहिर बसेर पनि दुई पटकसम्म विदेशी तालिम गोष्ठीमा भाग लिने अवसर पनि पाएँ । तीनवटा कार्यालयको प्रमुख भूमिकामा रहेर काम गरेँ । एउटा महिलालाई घर परिवार र कार्यालय प्रमुखको जिम्मेवारी थामेर आफ्नो करिअर बनाउनको लागि कति दुःख र हैरानी खेप्नुपर्छ त्यो मैले भोगेँ । तर, जे जति भोगेँ मिठो गरेर भोगेँ, अहिले पनि ती कुराहरू त्यतिकै प्रिय लागेर आउँछ । किनकी जीवनमा आइपरेका दुःख र हैरानीलाई मैले आफ्नै ठानेँ र प्रेम गरेँ । मान्छे बाँचेको छ भन्नलाई पनि सपना देख्नुपर्छ भन्छन् । नयाँ सपनाहरू सिर्जना हुन्, परिवर्तन हुन् । यात्रा रमाइलो हुनका लागि बीचमा घुम्तीहरू पनि आउनुपर्छ । उचाइ लिन उकालै हिँड्नुपर्छ । अक्करे भीरमा नै फुलेका हुन्छन् सुन्दर फूलहरू । म यही मान्यताको पक्षपोषक पनि हुँ ।

सकारात्मक सोचले मानिसलाई ऊर्जा, प्रेरणा, आँट र हौसला प्रदान गरिरहन्छ । मान्छे यसमा चुक्नुहुन्न ।

मानिसको जीवन भोगाइ र सिकाइको समिश्रण हो । वातावरणबाट मानिसले जे भोग्छ त्यही नै सिक्छ । भोगाइ नै सिकाइको वास्तविक माध्यम हो । हरेक समय एउटा पाठ हो सिक्न खोज्नेको लागि । हरेक एक पाइला एउटा सिंगो यात्राको थालनी हो अघि बढ्न चाहनेहरूका लागि । मानिसलाई काम गर्ने फरक शैली र तरिकाले अरुभन्दा भिन्न बनाउँछ । जीवनमा सफलताको लागि त्याग, मेहनत, चोट, कष्टजस्ता कुराहरू सहन सक्ने क्षमता अवश्य हुनुपर्दछ । अध्ययनले भन्छ कम्प्युटरको प्रणाली गीगो सूत्रमा आधारित छ त्यो भनेको ग्यार्वेज इन, ग्यार्वेज आउट यसमा जे हाल्यो त्यही निस्कन्छ, जे सोच्यो त्यही गरिन्छ ।

यसर्थ, सफलताको लागि जहिले पनि मानिसमा सकारात्मक सोच हुन जरुरी हुन्छ । सकारात्मक सोचले मानिसलाई ऊर्जा, प्रेरणा र हौसला प्रदान गर्दछ । सबैभन्दा बढी त आफूलाई माया गर्ने आफूमा जे छ, आफूजस्तो छ त्यस्तै स्वीकार्ने र आफ्नो कर्म र क्षमतामा विश्वास गर्नाले मानिसलाई सफलता हासिल गराउँछ । मैले आफ्नो जीवनमा केही गर्नुपर्छ भन्ने लागेदेखि हालसम्मको भोगाइबाट सिकेको महत्त्वपूर्ण पाठ यही हो ।

मैले जे भोगेँ त्यही लेखेँ । आशा गर्छु मेरा यी मेरो भोगाइ, सिकाइ अनि अनुभवहरूले तपाईंको मन र दिमागमा पनि केही गर्ने सोच पलाउनेछ । फेरि पनि भन्छु— जीवनमा आशा रहिरहोस्, विश्वास भइरहोस् अनि पो जीवन चलिरहन्छ । एउटा डाँडा काटेपछि अर्कै डाँडा देखुँ लागोस्, एउटा पहाड चढेपछि अर्कै पहाड चढुँ लागोस् । अनि पो जीवन प्रिय लाग्छ । तपाईंको समय पनि ऊर्जाशील बनोस्, तपाईं हरेक समयलाई माया गर्नुहोस्, सफल हुन प्रयास गर्नुहोस् एकदिन तपाईं अवश्य सफल बन्नुहुनेछ ।

कोपिला राई
उपसचिव
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. १, विराटनगर

प्रतिक्रिया

6 thoughts on “जीवन र भोगाइ !

  1. निनि मलाई हजुरको जीवन भोगाइ पढेर एक छिन मन भरीएर अयो अनि पछि फेरि मिठो उर्जा जग्यो 😍🙇‍♀️🙏🙏🙏🙏

  2. म पनि लोकसेवाको एक उम्मेदवार । यो लेख फेला परेपछि आफ्नो पाठ्यपुस्तक थन्क्याएर आज यत्ती लेख पढेर सुत्छु भनेर पढ्न थालेँ । ठ्याक्कै ५४ मिनेट सकिएछ मेरो जुनिको । तर, मलाई खेद छैन । ममा भएको आत्मविश्वास अझ शतप्रतिशत भएर आएको छ । मैले जे सोच्थेँ र जसरी कार्यतालिका योजना बनाएँ त्यो सहि रहेछ भनेर मापन गरेँ । मेरो योजना सहि छ या गलत, मसँग मापन गर्ने ठाउँ थिएन ।
    यो मार्गदर्शनलाई यथाशक्य अपनाउनेछु र मन उदाङ्ग पारेर भन्नुपर्दा, म महिला भएर किन जन्म लिइनँ ? भन्ने लागिरहेको छ । खैर यो प्राकृतिक कुरा हो म पुरुष हुँ । पुरुष नै भएर अन्य पुरुष भन्दा फरक ढंगले सहकार्य गर्नेछु ।
    आलास्यो कोपिला दिदी 🙏

    1. पढेर गर्नु भएको यति मीठो कमेन्टको लागि धेरै धेरै धन्यवाद ।

    2. दिदि तपाइको जिबन र भोगाई पढ़े पछि मेरो थाकेको, गलेको र हारेको जिबनमा केहि उर्जा थपिए,
      यो लेख पढ्दै जादा त्यो दिनको याद आयो! मैले पनि राम्रो डटले ठुलो कपिमा लेख्न पाइन् |त्यो बेलाको महँगो र लामो हातको नंग्रा भएको डट निस्किएको थियो, जब बाबा पसल छोडेर कतै जानु हुन्थो मन परेको साथीहरु लाई बाबाले नथापाई दिन्थे! सोच्थे मलाई जस्तै रहर त होला नि भनेर!सायद त्यो डट तपाइले पनि पाउनु भएको थियो होला 🤔 तपाइका कति भोगाईहरु त मैले नि देखेको थे कति नदेखेका भोगाईहरु पढ्न पाउदा खुशी लागो दिदि 💓 तपाइको बाकि जिबन सुखमय बितेको होस्|

  3. निक्कै खुसी लाग्यो प्रेरणादायी भोगाइ र प्रस्तुति शैली एक पठक पढेर उर्जा मिल्यो धन्यवाद म्याम।

Leave a Reply

Your email address will not be published. Required fields are marked *