सर्वोच्चको परमादेश: विद्युतीय सवारीमा कर बढाउने निर्णय खारेज गरियोस्

काठमाडौँ । विद्युतीय सवारीको प्रयोगका लागि आवश्यक वातावरण सिर्जना गर्नुपर्ने माग गर्दै शशी बस्नेतसमेतको टोलीले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले निवेदकको पक्षमा परमादेश जारी गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजालासले यस्तो फैसला गरेको हो । सर्वोच्च अदालतले वातावरणीय कानुनको विकासमा पर्न गएको प्रभाव र आगामी दिनमा अवलम्बन गर्नुपर्ने उपायको सम्बन्धमा सुझाव दिन एक विज्ञ र सरोकारवालाको प्रतिनिधित्व हुनेगरी कार्यदल गठन गर्ने परमादेश जारी गरेको छ ।
दैनिक बढिरहेको प्रदुषण र त्यसले पारेको प्रभावको विषयलाई ध्यान दिनुपर्ने र आवश्यक उपायहरू अपनाएर यसलाई कम गर्नुपर्ने माग गर्दै विद्युतीय सवारीको प्रयोगका लागि आवश्यक वातावरण सिर्जना गर्नुपर्ने माग गर्दै निवेदक टोलीले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाइ गर्दै यस्तो परमादेश जारी गरेको हो ।
आर्थिक ऐन तथा बजेट तर्जुमा गर्दा वायु प्रदुषणले जनस्वास्थ्यमा अपुरणीय क्षति पुग्ने विषयलाई ध्यानमा राखेर नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हक प्रवर्द्धन हुनेगरी आवश्यक व्यवस्था मिलाउन माग गर्दै दायर रिटको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको छ ।
फैसलामा नेपालमा जलविद्युतको सम्भावना भएकाले विद्युतीय गाडीमा कर नबढाई राष्ट्रिय हितअनुकुल स्रोत साधनको संरक्षण, सम्वर्द्धन र वातावरण अनुकूल दिगो रूपमा उपयोग गनुपर्ने उल्लेख गरिएको छ । संविधानको मर्म र भावनाविपरीत विद्युतीय सवारीमा कर बढाउने निर्णय नगर्नसमेत फैसलामा भनिएको छ ।








