अमेरिकालाई अर्को चिठी लेखेर एसपीपीबाट नेपाल बाहिरिनुपर्छ

काठमाडौँ । अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम(एसपीपी) कार्यक्रम जस्तो सुनिएको छ । जे जानकारीमा आएको छ । ती कुराहरु सुन्दा र बुझ्दा यसमा नेपाल संलग्न हुनु हुँदैन । तर, यसको अर्थ यो होइन कि नेपालले अमेरिकासँग मैत्रीपूर्ण सम्बन्ध अघि बढाउनु हुँदैन । अमेरिका, चीन, भातर, बेलायत, फ्रान्स, जर्मनी, रुस, जापानलगायत सबै देशसँग नेपालले मैत्रीपूर्ण सम्बन्ध अघि बढाउनुपर्छ । तर, अन्तर्राष्ट्रिय तथा वैदेशिक सम्बन्धहरु विकास गर्दा धेरै होसियार भएर अघि बढ्नुपर्छ । एसपीपी कार्यक्रममा भने नेपाल सहभागी हुनु नेपालको हितमा छैन ।

सबैभन्दा पहिला त नेपालमा एसपीपी कहाँबाट, कसरी र कहिले सुरु भयो ? सुरु हुँदा यो कार्यक्रम वा सहकार्यको स्वरुप के थियो । अहिले के स्वरुप छ । पहिलो औपचारिक चिठी कसले लेख्यो । सेनाले पनि सरकारकै सहमतिमा चिठी लेखेको बताइरहेको छ । त्यसाे हाे भने सरकारले दिएको सहमति पत्र पनि सेनाले बाहिर ल्याउनु पर्छ । चिठी लेख्ने बेलामा नेपालको प्रतिबद्धता के-के हुनुपर्छ भनिएको थियो । नेपालले के कस्तो प्रतिवद्धता जनाएको थियो । यी सबै विषय बाहिर ल्याउनु पर्छ । सरकार र सेनाले नेपाली जनता र संसदलाई समेत अन्योलमा राख्न मिल्दैन । किनभने सरकारकै भनाइहरु पटक पटक बाझिएर आएका छन् । एउटा मन्त्रीले एउटा कुरा भनेका छन् । अर्को मन्त्रीले अर्को कुरा भनेका छन् । सेनाले एक पटक एउटा, अर्को पटक अर्कै कुरा गरेको छ । संसदमा गृहमन्त्री र कानुमन्त्रीले संसदमा त्यस्तो चिठी लेखिएको छैन भन्नु भयो । तर, चिठी लेखिएको रहेछ । हिजाे बिहीबार मात्र बाहिरियाे । यसबारे प्रधानमन्त्री आफैँ पनि यसबारे संसदमा गएर जवाफ दिन हिचकिचाइरहेका छन् ।

सन् २०१५ मा नेपालले चिठी लेख्दा अमेरिकाको तर्फबाट के भएको थियो । कुन पृष्ठमूमिमा नेपालले चिठी लेख्यो ? अमेरिकाको यो कार्यक्रमबारे नेपालले कसरी थाहा पायो । सेनाले सरकारकै लिखित सहमतिमा अमेरिकालाई चिठी लेखेको हो भने सरकारको सहमति पत्र कहाँ छ भनेर सेनाले देखाउनु पर्छ । २०१७ मा पनि चिठी लेखेको भनिएको छ । उक्त चिठी कहाँ छ ? देखाउनु पर्छ ।

सत्य र तथ्य गोलमटोल गरेर जनता, संसद र सबैलाई झुक्याउन पाइँदैन । फलानो प्रधानमन्त्री भएका बेला गरेको हो, त्यसलाई हामीले अघि बढायौँ भन्न पनि मिल्दैन । अर्को कुरा यो विषय भविष्यमा पनि नदोहोरियोस् भनेर हामीले ध्यान दिनु आवश्यक छ । देशको सार्वभौमिक स्वतन्त्रतालाई जोगाउन यी सबै आपत्तिजनक विषयलाई बाहिर ल्याउनु पर्छ । यसबारे सरकारले स्वेतपत्र नै जारी गरेर सत्य तत्य र वस्तुस्थितिलाई प्रष्ट पार्नुपर्छ ।

जो प्रधानममन्त्री वा परराष्ट्र मन्त्री हुँदा गरिएको भए पनि यो गलत क्रियाकलाप नेपाल सरकारले गरेको हो । त्यसो हुँदा यसबाट हामी बाहिर निस्किनु पर्छ । अमेरिकीहरू स्वयंले पनि नेपाल एपीपीमा संलग्न हुन चाहँदैन भने चिठी लेखेर बाहिर निस्किन पनि सक्छन् भनेर भनिरहेकै छन् । त्यसो हुँदा पहिले यसमा सहभागी हुन चिठी लेखेकाे हाे भने नेपालले फेरि अर्काे चिठी लेखेर एसपीपीबाट बाहिर निस्किनु पर्छ ।  (मकालु खबरसँगकाे कुराकानीमा आधारित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *