इन्टरनेट बजारमा वाईफाई नेपालः मासिक ३३३ र ४१७ रुपैयाँमा इन्टरनेट सुविधा

काठमाडौँ । नेपाली इन्टरनेट बजारमा नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले आफ्नो सेवा शुरू गरेको छ । विद्यमान कम्पनीहरूमध्ये सभैभन्दा सहुलियत दरमा वाईफाई नेपालले इन्टरनेट प्याकेजसहित सेवा शुरू गरेको हो ।

इन्टरनेट प्रयोगकर्ताको संख्यामा वृद्धि गराउने उद्देश्यले सहुलियतपूर्ण इन्टरनेट प्रदान गर्न लागिएको वाईफाई नेपालले जनाएको छ । देशकै सबैभन्दा सस्तो इन्टरनेट प्याकेज ल्याएको कम्पनीले हाल ३० र ५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन थालेको छ । कम्पनीले हाल काठमाडौँ उपत्यकामा सेवा उपलब्ध गराएको र क्रमशः चरणबद्ध रूपमा देशभर विस्तार गर्ने योजना बनाएको छ ।

वाईफाई नेपालले वार्षिक प्याकेज लिने ग्राहकका लागि ४ हजार रुपैयाँमा ३० एमबीपीएस र ५ हजार रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउने भएको हो । ३० एमबीपीएसको मासिक शुल्क ३३३ रुपैयाँ र ५० एमबीपीएसको ४१७ रुपैयाँ हुन आउँछ ।

त्यस्तै, ३० एमबीपीएसको तीन महिने प्याकेज १ हजार १०० रुपैयाँमा र छ महिने प्याकेज २ हजार १०० रुपैयाँमा पाउने कम्पनीले जनाएको छ। त्यस्तै, ५० एमबीपीएसको तीन महिने प्याकेजका लागि १ हजार ५०० रुपैयाँ र छ महिने प्याकेजका लागि ३ हजार रुपैयाँ शुल्क लाग्नेछ । ३० एमबीपीएस गतिको इन्टरनेट प्याकेजको मासिक शुल्क भ्याट बाहेक ४०० रुपैयाँ र ५० एमबीपीएस स्पिडको इन्टरनेट प्याकेजको मूल्य भ्याट बाहेक मासिक ५५० रुपैयाँमा उपलब्ध हुनेछ।

यी दुवै प्याकेज नेपालमा उपलब्ध सेवामध्ये सबैभन्दा सस्तो प्याकेज भएको कम्पनीको दाबी छ । “इन्टरनेट शुल्क बढी हुँदा ग्राहकले आपसमा शेयरिङ गरेर प्रयोग गर्नुपर्ने बाध्यता छ।” कम्पनीका प्रमुख कार्यकारी अधिकृत रितेशराज सिंहले भने, “यसले गर्दा उपभोक्ताले स्तरीय इन्टरनेटको अनुभव गर्न पाएका छैनन्।”

आफ्नो कम्पनीले उपलब्ध गराउने इन्टरनेट जोसुकै उपभोक्ताले पनि सजिलै जडान गर्नसक्ने मूल्यमा उपलब्ध हुने भएकाले इन्टरनेटको पहुँच सबैमा पुग्ने सिंहको विश्वास छ । कम्पनीका अनुसार दुवै प्याकेजका लागि अनलाइन बुकिङ खुला भइसकेको छ।

ग्राहकले वाईफाई नेपाल डट कम डट एनपी वेबसाइटमा गएर इन्टरनेट जडानका लागि बुकिङ गराउन सक्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *