म्याग्दीको बेनीस्थित ऐतिहासिक कोतघरको पुनःनिर्माण सम्पन्न

काठमाडौँ । बेनी नगरपालिका–८ स्थित ऐतिहासिक कोतघरको जीर्णोद्धार तथा पुनःनिर्माण भएको छ ।

बाइसे-चौबिसे मल्ल राजाका पालामा तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा सोह्रौं शताब्दीमा निर्माण भएको कोतघर जीर्ण भइसकेको छ । बेनी नगरपालिका र विभिन्न दाताको सहयोगमा कोतघर पुनःनिर्माण भएको उपभोक्ता समितिका अध्यक्ष अनोद श्रेष्ठले बताए ।

पुनःनिर्माणका लागि नगरपालिकाले चालू आर्थिक वर्ष २०७८-०७९ मा रु. आठ लाख विनियोजन गरेको थियो । नगरपालिकाको अनुदानको अतिरिक्त कोतघरमा केही सामग्री दाताले पनि सहयोग गरेका छन् । “छानो चुहिने, भुइँमा पानी जम्ने र पर्खाल चिरा पर्न थालेको थियो”, उनले भने, “पुरानो स्वरूप कायम रहने गरी संरचना बनाएका छौँ ।”

गत फागुनको तेस्रो हप्तादेखि कोतघरको पुरानो छाना र पर्खाल भत्काएर नयाँ निर्माण थालिएको थियो । छानोमा तीन गजुर राखिएको कोतघरको झ्याल, ढोका र टुँडाल कलात्मक शैलीका छन् । भक्तपुरबाट इँटा, काठ र मजदूर ल्याएर कोतघर पुनः बनाइएको उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले बताए । कोतघर वरपर घुम्न मिल्ने र बत्ती बाल्ने ठाउँ बनाइएको छ ।

विसं १६३१ देखि नेपाल एकीकरण नहुँदासम्म ३४२ वर्षसम्म तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनी थियो । तत्कालीन पर्वत राज्यका राजा हिउँदमा बेनी र गर्मीयाममा ढोलथानमा बसेर राज्य सञ्चालन गरेका थिए । ऐतिहासिक महत्त्वका तोप, खुकुरी, तरबारलगायतका हतियार भएको कोतघर परिसरमा तत्कालीन राज्य सञ्चालकले धातुका सिक्का बनाउने टक्सार बनाएका थिए । पौराणिक महत्व, मौलिकता र इतिहास ननासिने गरेर कोतघर पुनःनिर्माण भएको बेनी नगरपालिका–८ का निवर्तमान वडाध्यक्ष रामकृष्ण बराइलीले बताए ।

“ऐतिहासिक कोतघरलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न व्यवस्थापन र संरक्षण गरिएको हो”, उनले भने, “रु. पाँच लाख बजेटबाट पहिलो चरणमा कोतघर परिसरको सार्वजनिक जग्गालाई व्यवस्थित र संरक्षण गर्न पूर्वाधार निर्माण भएको छ ।” सार्वजनिक जग्गामा घेराबार, पर्खाल, रेलिङ निर्माण र भुइँमा पेभर इँटा राखेर आकर्षक बनाइएको छ ।

यसअघि उपयोगविहीन रहेको सो जग्गामा बालबालिका खेल्न र ज्येष्ठ नागरिकलाई टहलिन मिल्ने गरी पूर्वाधार बनाइएको छ । साँघुरो ठाउँ र सडक भएको बेनीमा भेला, बैठक, सभा सञ्चालनका लागि पनि सो जग्गा उपयोगी भएको छ ।

यस कोतघरमा वडादसशैं र चैते दशैंमा पूजाआजा तथा बलि चढाउने गरिन्छ । कोतघरलाई बेनीमा भित्रने पर्यटकका लागि आकर्षक गन्तव्य बनाउन पहल गर्ने बेनी नगरपालिका–८ का अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए । म्याग्दी र मुस्ताङ घुम्न आउने पर्यटकको बसाइँ लम्ब्याउन पुनःनिर्मित कोतघरले सहयोग पुर्याउने उनले विश्वास रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *