बागमती प्रदेशसभा बैठकमा बजेटमाथि छलफल र जवाफ

काठमाडौँ । बागमती प्रदेशसभाको १०औं अधिवेशन बैठकअन्तर्गत आजको बैठकले आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेटमाथि छलफल भएको छ ।

प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष तथा सत्तारूढ गठबन्धन दलका प्रदेशसभा सदस्यहरूले बजेटमाथि आ–आफ्नो धारणा व्यक्त गरेका छन् । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रदेशसभा सदस्य रामेश्वर फुयाँल, सीता लामा, सरेश नेपाल, दीपक निरौला, कैलाशप्रसाद ढुङ्गेलले वर्तमान सरकारले चुनावमुखी बजेट ल्याएको बताए ।

प्रतिपक्ष दल राप्रपाका रिना गुरुङ र रिता माझी सरकारले बजेटमा सीमान्तकृत समुदायका नागरिकको माग सम्बोधन गर्न नसकेको बताए । छलफलमा भाग लिँदै विवेकशील साझा पार्टीका रमेश पौड्याल र विराजभक्त श्रेष्ठले विगतको रवैयाअनुसार बजेट आएको भन्दै योजना छनोट र बजेट विनियोजनको प्रक्रिया बदल्नुपर्नेमा जोड दिएका छन् ।

बजेटले प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्न सक्नुपर्ने र त्यसका लागि प्राकृतिको स्रोतको दोहन रोक्नतर्फ ध्यान दिन जरुरी रहेको विवेकशील साझाले औंल्याएको छ ।

सत्तारूढ गठबन्धनका नरोत्तम वैद्य, गीता वाग्ले, बिजुला वर्मा, राजेन्द्र गुरुङ, जीवन डङ्गोल, सीता अधिकारी, युवराज दुलाल, जगतबहादुर सिंखडा, हिरानाथ खतिवडा, भावना सुवेदी र रामलाल महतोले सार्वजनिक बजेट जनताप्रति उत्तरदायी रहेको भन्दै समग्र प्रदेशको विकासमा बजेट फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।

प्रदेश सरकारले ल्याएको आगामी आवको बजेटमा समाजवाद उन्मुख अर्थतन्त्रलाई विकास गर्ने योजना समेटिएको भन्दै उनीहरूले बजेट कार्यान्वयनमा प्रतिबद्ध भएर उत्पादनमुखी आयात प्रतिस्थापनमा विनियोजित बजेटलाई सफल बनाउन सुझाव दिए ।

आजै बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले सरकारले दीगो विकासको अवधारणालाई आत्मसात गरेर बजेट कार्यक्रम ल्याएकाले चुनाव केन्द्रित बजेट भन्न नमिल्ने बताए । उनले बजेटमाथिको छलफलका क्रममा सांसदले उठाउनुभएको प्रशनको जवाफ दिनुहुँदै सो कुरा बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *