लज्जास्पद हारेपछि गोरखा कांग्रेसले भन्यो- लोकप्रिय मत आयो, अन्तर्घातले हार्‍यौँ

पोखरा । वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा गोरखा कांग्रेस निकै लज्जास्पद हार्‍याे । ११ पालिकामध्ये ९ पालिका गुमाएको कांग्रेसले अघिल्लो स्थानीय निर्वाचनमा ९ पालिका जितेको थियो । चुनावको अघिल्लो दिनसम्म पनि गठबन्धन गर्ने वा नगर्ने टुङ्गो थिएन । नेतृत्वले समयमा निर्णय दिन नसक्दा उम्मेदवारहरु अलमलिएका थिए ।

कांग्रेस गोरखाले हारको कारण भने अन्तर्घातलाई लिएको छ । सोमबार र मंगलबार बसेको समीक्षा बैठकले अन्तर्घातकै कारण चुनाव हारेको निष्कर्ष निकालेको हो । यस्तै, मत भने लोकप्रिय आएको काँग्रेसको तर्क छ ।

पार्टीका उम्मेदवारविरुद्ध पार्टी भित्रका जिम्मेवार व्यक्तिले अन्तर्घातको काम गरेकोले पराजित हुनु परेको सभापति नन्दप्रसाद न्यौपानेले बताए । ‘पार्टी र उम्मेदवारका विरुद्ध काम भए । उनीहरूलाई कारबाही गर्नुपर्ने आवाज उठेको छ,’ न्यौपानेले भने, ‘प्रमुख हारको कारण अन्तर्घात हो । अन्तर्घात गर्नेलाई विधान अनुसार कारबाही गर्छौँ ।’

पालिका प्रमुख तर्फ काँग्रेसको मत माओवादीको भन्दा ३ हजार ९ सय २७ मत कम छ । केही पालिकामा अन्य पार्टीहरुबीचको तालमेलका कारण पनि पराजित हुनुपरेको न्यौपानेले बताए ।

वडाध्यक्ष तर्फ भने माओवादीको भन्दा कांग्रेसले बढी मत पाएको छ । कांग्रेसले ४८ हजार २ सय १२ र माओवादीले ४७ हजार ५ सय ४२ मत पाएको हो । पालिका प्रमुख २ र उपप्रमुख ५ वटा कांग्रेसले जितेको छ । गोरखामा स्थानीय तहका ४ सय ८७ सिट मध्ये कांग्रेसले २ सय १६ र माओवादी केन्द्रले २ सय ५, एमालेले ५०, जनता समाजवादी पार्टीले १५ र एकजना स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *