जापानमा नेपाली विद्यार्थीहरूकाे भविष्य !

म कुनै प्रख्यात स्तम्भकार होइन, तर समसामयिक घटनाहरूबारे भने मनमा लागेका कुराहरू शब्दमा उतार्न मन पराउँछु र उतार्दै पनि आएकाे छु । म विगत केही वर्षयता जापानकाे सन्दाई बस्दै आएकाे छु । विद्यार्थीकै रूपमा जापान आएकाे मलाई यहाँका अन्य विद्यार्थीहरूकाे पीडाले असाध्यै पाेल्छ, खल्लाे बनाउँछ । यहाँका भिन्न समस्यासँग भिन्नै प्रकारले सङ्घर्ष गर्दै बस्ने विद्यार्थीहरूले ज्यान गुमाउनुपरेकाे सत्यले चिथाेरिरहन्छ भने स्वयम् उनीहरूले नै गरेकाे आत्महत्याले अत्याउँछ । याे आलेखमार्फत यही विषयबारे चर्चा गरेकाे छु ।

०००

केही हप्ताअघि मात्रै जापानको नागोया आएका चितवन घर भएका २६ वर्षीय एक भाइले आत्माहत्या गरे । याे एउटा प्रतिनिधि घटना मात्रै थियाे, वर्षेनी यस्ता घटनाहरू टन्नै घटिरहेका हुन्छन् । सरलरूपमा भन्ने हाे भने जापानमा आत्महत्या गर्ने नेपाली विद्यार्थीहरूकाे सङ्ख्या बढिरहेकाे छ । नयाँ ठाउँकाे नयैँ चुनाैतीसँग जुध्न नसकेर आत्महत्याकाे बाटाे राेजेका ती विद्यार्थीहरूकाे कदमले ‘जापानमा नेपाली विद्यार्थीहरूकाे भविष्य’ माथि स्वाभाविक प्रश्नहरू उठ्ने गरेका छन् । यत्ति मात्रै हाेइन, समग्रमा जापानमा नेपालीकाे भविष्यमाथि प्रश्न उठेकाे छ ।

यसका कैयन् कारणहरू हुनसक्लान् । यसकाे विस्तृत आयामबारे सम्बन्धित निकायहरूले बहस तथा छलफल गर्लान् नै । तर याे लेखमा म आफैँ पनि यहीँ बस्ने र ती समस्याहरूलाई नजिकबाट नियाल्ने एक प्रत्यक्षदर्शीकाे हिसाबले लेखेकाे छु । त्याेसँगै यहाँका समस्या, त्यसकाे कारण र त्यसकाे न्यूनीकरणका लागि गर्न सकिने उपायबारे बेही लेखेकाे छु ।

म शुरूमै आग्रह गर्न चाहन्छु कि, मैले यहाँ जाेडेकाे सन्दर्भ र छानेकाे शब्दावलीले कसैलाई आघात पुगेकाे खण्डमा माफी पनि चाहन्छु । अत: विषयवस्तुतिरै लागाैँ ।

०००

पछिल्लो समय पढ्ने अभिप्राय लिएर नेपालबाट मात्रै होइन, अन्य थुप्रै देशबाट विद्यार्थीहरू जापान आइपुग्छन् । यसकारण समस्याहरू बढ्दै जानै नै भए । संख्या बढेसँगै समस्या र चुनौतीहरू थपिनु अस्वाभाविक भएन । यसलाई स्वाभाविकरूपमै लिनुपर्छ । तर, जब विद्यार्थीहरू पढ्ने प्रयोजनका साथ आइपुग्छन् । अनि आत्महत्यालगायतका बाटोहरू रोज्छन्/राेज्न बाध्य हुन्छन्, याे समस्या खासगरी विद्यार्थी वृत्तमै हुन्छ । यसका कैयन् कारणहरू हुनसक्लान् । त्यसमध्ये मलाई लागेका केही यहाँ उल्लेख गरेकाे छु ।

सर्वप्रथम त हामी जापान आउन हतार गर्छौँ । जत्तिबेला मानसिकरूपमा पूर्ण तयार भइसकेका हुँदैनाैँ । त्यसमा नेपालमा च्याउसरी उम्रिएका जापानी भाषी कन्सल्ट्यान्सीहरूका कारण पनि यस्ताे दुर्घटनामा फस्न सकिन्छ । उनीहरूले सही सल्लाह, परामर्श र अवधारणा दिँदैनन्, हामी त्यसकै भरमा परेर हावामा जापान आउने पक्षमा पुग्छाैँ । हामी ‘जापा पुगिहालाैँ’ भन्ने धारणामा हुन्छाैँ र त्यसाे भन्नेहरूकाे ठूलै जमात हुन्छ । जसलाई हामी सजिलै विश्वास गर्छाैँ र अन्तत: यी र यस्तै समस्याहरूका चाङमा आइपुग्छाैँ ।

जापान आउन निकै खर्चिलो छ । हामीजस्तो मध्यम वर्गीय परिवारले चर्को ब्याजदरमा ऋण काढेर जापान आइपुगिन्छ । नयाँ ठाउँ, नयाँ वातावरण, नयाँ समाज, रहनसहन सबै सबै नयाँ हुन्छ । भाषाको समस्या, भाषा नै नभइसकेपछि सबै कुरा शून्य लाग्छ । एकपटक तपाईं आफैँ साेच्नुस् त, भाषाबिनाको जिन्दगी कस्तो हुन्छ ? सामान्यतयाः भाषा पनि बोल्न नसक्नु, बुझ्न नसक्नु नै पहिलो समस्या हो । भाषाले नै मूल समस्या सिर्जना गरिदिन्छ । दिनप्रतिदिन बढ्दै गएको ब्याजले सताउन थाल्छ । पारिवारिक बिछोड, प्रेम सम्बन्ध, अपरिपक्व उमेर, जापान आउनुअघि बनाइएकाे धारणा र सपना; यी यावत् कारक बन्छन् यहाँ आइसकेपछि । जापानकाे वास्तविक चित्र नेपालमा साेचिएकाे भन्दा धेरै पृथक छ ।

एउटा कुरा भन्छु— आईफाेनले खिचेकाे साथीकाे तस्बिरझैँ राम्राे र शानदार छैन जापान । हामी सुन्छाैँ, यसले यत्ति कमायाे, उसले यत्ति कमायाे भनेर । तर वास्तविकतामा धेरै फरक छ । यसबारे हामी जापान पुग्नुपूर्व साेच्दै साेच्दैनाैँ । यी यावत् कारण र सन्दर्भहरूले पनि नेपाली विद्यार्थीहरू आत्महत्याकाे बाटाे राज्न बाध्य बनाउँछ । यही सन्दर्भमा एउटा प्रसङ्ग जोडेँ । केही समयअगाडि एउटा भाइले ‘दाइ जापान कस्तो छ ?’ भनेर सोध्यो । ‘बुझेर आउ’ भन्ने मेरो जवाफमा उसले भन्याे— ‘आफूचाहिँ लाख-लाख कमाउने, अनि मलाईचाहिँ बुझेर आउ रे !’ भाइका लागि मुखभरीको जवाफ नभएको होइन, तर उमेर आलाकाँचा नै ती भाइलाई सम्झाउने कोसिस गरेँ । समग्रमा भन्ने हो भने यी भाइले जापानप्रतिकाे नेपाली बुझाइकाे प्रतिनिधित्व गरेका छन् । यही अपरिपक्वताका कारण जापान पुगेपछि गाह्राे हुन्छ ।

कोरोना कहरपछि विस्तारै तङ्ग्रिँदै आएको छ जापान । यहाँ विगत २ वर्षमा करिब ८० देशबाट ठूलो मात्रामा विद्यार्थीहरूकाे आगमन भएकाे छ । जसका कारण सबैभन्दा समस्याकारूपमा ‘कामको अभाव’ देखिएको छ । काम पाउन एकदमै मुस्किल छ । भाषा स्कूलहरूमा विद्यार्थीहरूको संख्या ठूलो भएकोले स्कूलले समेत काममा लगाइदिएको छैन । यो अवस्था एकजना विद्यार्थीका लागि साह्रै धेरै पीडाको विषय हो ।

कमसेकम स्वतन्त्रको मामिलामा खुला नेपाली समाजमा हुर्किएका हामीलाई जापानी समाजमा एकदमै गाह्रो हुन्छ । नयाँ ठाउँमा एकैचोटी आइपर्ने समस्याहरूसँग ‘फेस’ गर्दा मानसिक तनाव हुनु स्वाभाविक हो । तर यसलाई नियन्त्रण र व्यवस्थापन गर्न सकिएन भने यो नै आत्महत्याको कारण बन्दैन भन्ने केही हुँदैन ।

विद्यार्थीको रूपमा जापान आइसकेपछि प्रतिहप्ता २८ घण्टाभन्दा माथि काम गर्ने अनुमति विद्यार्थीको हकमा छैन । २८ घण्टाको कामले सामान्य जीवनयापन गर्न पनि गाह्रो छ । अर्काेतिर जापान पुगेकाे ऋणकाे ब्याजले टाउकाे बजाइरहेकाे हुन्छ । त्यसैले विद्यार्थीहरूलाई याे नियम कडा भएकाे छ । उनीहरू बढीभन्दा बढी समय काम गरेर ऋणबाट मुक्त हुनपाए हुन्थ्याे भनेर साेच्छन्, जुन यहाँकाे कानूनले बर्जित गरेकाे विद्यार्थीहरूकाे हकमा । कतिपय अवस्थामा त विद्यार्थीहरूले पुन: नेपाल नै फर्किनुपर्ने अवस्था पनि आउन सक्छ । यस्ता घटना पनि विगतमा टन्नै देखिएका हुन् । यहाँकाे अर्काे समस्या के पनि हाे भने विद्यार्थीकाल सकिसकेपछि ‘वर्किङ परमीट’ नपाउनु, भनेजस्तो काम नपाउनु, कम्पनीहरू नपाउनु, पाए पनि सोचे जस्तो नहुनु विद्यार्थीहरूका लागि एकदमै ठूलाे समस्याे हाे । यी र यस्तै विविध कारणले पनि यहाँ आउने विद्यार्थीहरू आत्महत्याकाे बाटाे अँगाल्न बाध्य हुन्छन् ।

०००

विद्यार्थीकै रूपमा जापान आउँदै हुनुहुन्छ भने एकपटक हैन, हजार पटक सोच्नुहोस्, कमसेकम आफूलाई ‘जापान जाँदैछु’ भन्ने कुरामा सहमत गराउनुस् । म कहाँ जाँदैछु ? किन जाँदैछु ? जापान कस्तो छ ? जापानमा साँच्चिकै भविष्य छ ? जापानमा नेपाली विद्यार्थीहरूको भविष्य कस्तो छ ? यी यावत् प्रश्नहरूको जवाफ आजै खोज्न थाल्नुहोस् । अरुहरूसँग सल्लाह लिनुस्, जानकारी राख्नेहरूसँग जिज्ञासा व्यक्त गर्नुस् । कन्सल्ट्यान्सीमा बुझ्नुस् । त्यत्तिमात्रै होइन, जापानमा रहेकाहरूसँग सल्लाह माग्नुस् । सोध्नुस् । जसरी हुन्छ, कमसेकम जापानबारे आधारभूत जानकारी जरुर राख्नुस् । यदि यसबारे आधारभूत जानकारी मात्रै राख्नुभयाे भने यहाँ आइसकेपछिकाे अवस्थामा खास गाह्राे हुँदैन । यसले तपाईंलाई यहाँ आइपगिसकेपछि यहाँको वातावरणसँग घुलमिल हुनका लागि थप सहज पनि बताउनेछ ।

जापान आइपुग्नभएपछि तपाईंको अभिभावक, साथी सबै सबै तपाईं आफैँ नै हो । यो कुरा नेपालमा हुँदै सम्झिनुपर्छ र आफूलाई कन्भीन्स् गराउनुपर्छ । कमसेकम आफैँ बस्न, बाँच्न सक्छु भनेर मात्रै आउनुस् । शिक्षामा पनि ध्यान दिनुस् कम्तीमा स्नातक सकेर आउनुस्, ताकि यहाँका भाषा स्कूलहरूले विद्यार्थीकाल सकिएलगत्तै ‘वर्किङ्ग परमीट’ दिउन् र काममा लिउन् ।

नेपालमै हुँदा सामान्य जापानी भाषा बोल्न सिक्नुस्, कम्तीमा पनि एन- ३ तहसम्मको ज्ञान हासिल गर्नुस्/भाषा सिक्नुस् । यसले यहाँ धेरै सहज बनाउनेछ । जापान आइपुग्न वा आउनु मात्रै ठूलो कुरा हुँदै होइन, यहाँ आएर आफूलाई कसरी ‘एड्जस्ट’ गराउने ? त्याे प्रश्न सबैका लागि ठूलाे चुनाैती बन्छ । यहाँको रहनसहन कसरी बुझ्ने, यहाँको जीवनशैली कसरी चलेको छ ? यी यावत् प्रश्नहरूबारे गहनरूपमा विचार गर्नुस् र आधारभूत जानकारी राख्नुस् । जसले तपाईंलाई जापानसँग नजिक बनाउँदछ ।

साथै नेपाल सरकार, जापानी भाषाका कन्सल्ट्यान्सीहरूलगायत सम्बन्धित निकाय तथा जापानका सम्बन्धित निकायहरूले पनि आउन लागेका या आइसकेका विद्यार्थीहरूलाई नियम नै लागू गरेर भएपनि सल्लाह परामर्श लिने दिने गर्ने हो भने पनि जापानमा पक्कै आत्महत्या दर घट्नमा टेवा पुग्ने थियो ।

जहाँसम्म जापानमा नेपाली विद्यार्थीहरूको भविष्य नै छैन (?) प्रश्न छ । यसकाे निश्चित र सटिक जवाफ छ— भविष्य छ । तर, उनीहरूका लागि मात्रै छ जसले बनाएको भाषा, जसले बनाएको आफ्नो क्षमताको ‘क्वालिटी’; समग्रतामा आफूलाई चिनेर आफूलाई सही ठाउँमा उभ्याएकाे छ । धेरै विद्यार्थी साथीहरू यस्ता छन्, जाे जापानलाई संसारकाेरूपमा अर्थ्याउँछन् तर, त्यसबारे सामान्य जानकारी पनि राख्दैनन् । यसले विद्यार्थी आफैँलाई गाह्राे बनाउँछ । यसलाई विशेषरूपमा ख्याल गर्नुपर्छ ।

ठूलो सपना देख्नुभन्दा पनि नअत्तालिकन मानसिक पीडा र चिन्ताबिना मेहनत गर्दै गए जापानमा अवश्य राम्रो छ । जापान यसै मेहनतीहरूकाे देश हाे । यहाँ काम ठूलाे र कामदारहरू सम्मानित हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.