गाली नै सुन्नुपरे आफ्नै महानगरवासीको सुन्छुः महानगरप्रमुख बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले हेटौँडाको कार्यक्रम छोडेको विषयमा स्पष्टीकरण दिएका छन् ।

काठमाडौँ महानगरवासीबाहेक अन्यको गाली सुन्न आफूलाई कर नभएको मेयर बालेनले स्पष्ट पारेका छन् । उनले एक वक्तव्य जारी गर्दै गाली नै खानुपर्ने भए आफ्नै नगरवासीको खाने भनेर आफू हेटौँडाको कार्यक्रमबाट फर्किएको बताएका हुन् । उनले भनेका छन्, ‘गाली र आलोचना नै सुन्ने भए म आफ्नै महानगरमा आफ्नै महानगरवासीहरूको सुन्नेछु । अथवा, सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रमहरूमा सुन्नेछु।’

आफूलाई व्यक्तिगत रूपमा गाली एवं आलोचना गर्न छुट भएको तर, काठमाडौँवासीसँग असम्बन्धित कार्यक्रममा काठमाडौँलाई गाली गर्न समय खर्च गर्नु बुद्धिमानी नहुने समेत उनले बताएका छन् । जारी वक्तव्यमा उनले भनेका छन्, ‘मलाई व्यक्तिगत रूपमा आलोचना वा गाली गर्न पाइयो तर काठमाडौँसँग र काठमाडौँवासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा काठमाण्डौँलाई गाली गर्न किन समय र ऊर्जा खर्चिने ? मेरो प्रश्न यति हो ।’

उनले काठमाडौँ केवल राजधानी मात्रै नभई कसैको कर्मभूमि र जन्मभूमिसमेत रहेको बताएका छन् । ‘काठमाडौँ केवल राजधानी मात्रै होइन, अझ बागमती प्रदेशको लागि त एउटा पालिका मात्रै हो । तर, काठमाडौँ कसैको जन्मभूमि, कसैको कर्मभूमि हो,’ उनले भनेका छन्, ‘गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँ-कार्यक्रममा बस्ने औचित्य नदेखेर मैले हिजोको कार्यक्रम छोडेको हुँ ।’

तीन दिन सञ्चालन हुन गइरहेको कार्यक्रममा सहभागी हुन हेटौँडा पुगेका मेयर शाह र उपमेयर सुनिता डंगोल पहिलो दिन सोमबार बेलुका नै काठमाडौंँ फर्किएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *