गण्डकीका मन्त्रीले गरे आफ्नै सरकारको विरोध, बजेट नपुगेपछि राजीनामाको धम्की

पोखरा । गण्डकीका ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्रीले अहिलेको सरकारले अपारदर्शी ढंगबाट बजेट ल्याउन लागेको भन्दै विरोध जनाएका छन् ।

सोमबार संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी उनले बजेट अपारदर्शी हिसाबले ल्याउन लागिएको भन्दै विरोध गरे ।

असार १ गते सरकारले आगामी वर्षको बजेट प्रस्तुत गर्दैछ । बजेट बनाउँदा आफ्नो मन्त्रालयलाई सहभागी नगराएको र चालू वर्षको बजेट भन्दा घटाएर सिलिङ लिएको भन्दै उनले बजेट कार्यान्वयन हुनै नदिने धम्की दिएका छन् ।

‘हामी अन्धभक्त हैनौँ कि सरकारले जे ल्यायो त्यही पास गर्ने । नीति तथा कार्यक्रम पास भएको छ । त्यो राजनीतिक हिसाबले एउटा कर्मकाण्ड पूरा भएको हो,’ उनले भने, ‘तर व्यवहारिक रूपमा मेरो समर्थन छैन । भद्र अवज्ञा गरेको थिएँ । बजेटमा पनि त्यही हुन्छ ।’ उनले यसअघि नीति तथा कार्यक्रम नै पारित हुन नदिने बताएका थिए ।

आचार्यले मुख्यमन्त्री र अर्थमन्त्रीले गलत बाटोबाट बजेट निर्माण गरेको आरोप लगाए । ‘बजेट निर्माण प्रक्रिया लाजमर्दो र घिनलाग्दो छ । सरकारमै रहेर मैले यस्तो बोल्नुपर्दा लज्जित छु,’ आचार्य भन्छन्, ‘कति बजेट आउँदै छ भन्ने मन्त्रीलाई नै थाहा छैन । अर्थ मन्त्रालयले कुन ठाउँबाट बजेट बनाइरहेको छ ?’

उनले अहिले बनेको बजेट आफूले कार्यान्वयन गर्न नदिने चेतावनी सरकारलाई दिएका छन् । ‘सबैसँग सल्लाह गरेर ढोकाबाट बजेट ल्याउनुहुन्छ भने स्वागत छ । नत्र यो कार्यान्वयन हुन दिन्नँ । अर्थमन्त्रीले मात्रै कार्यान्वयन गरेर सम्भव छ ?,’ उनले अघि भने, ‘सरकारले गलत काम गरिरहेको छ । यो सच्चिनुपर्छ ।’

कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा रहेको सरकारमा ४ राजनीतिक दल र स्वतन्त्र सांसद सहितको समर्थन छ । जनता समाजवादीबाट २ सांसद रहेकोमा एकजना (आचार्य) मन्त्री छन् । उनले सुरु देखि नै सरकारको कामबारे गुनासो र असहमति जनाउँदै आएका छन् । उनले आफ्नो मन्त्रालयलाई अघिल्लो वर्ष भन्दा १ अर्ब कम बजेट दिएको गुनासो गरे ।

‘३० अर्बको बजेट हुँदा ३ अर्ब मेरो मन्त्रालयलाई थियो । अहिले ३८ अर्ब बजेट पुगेको छ । मेरो मन्त्रालयको सिलिङ २ अर्ब छ । यो कसरी न्यायोचित हुन्छ ? मैले के काम गर्ने ?,’ उनले प्रश्न गरे । अवस्था आए आफूले राजीनामा नै दिने घुर्की समेत आचार्यले लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *