नाबालिग प्रेम विवाह : गर्भ बसेपछि बलात्कार मुद्दा र जेल सजाय !

पोखरा । एउटै स्कुलमा पढेका छात्रछात्रा । ६ कक्षादेखि सँगै पढेका उनीहरू ११ कक्षासम्म सँगै भए । पढ्दै जाँदा एकआपसमा प्रेम सम्बन्ध भयो । तर मिलेन, जात । केटा दलित समुदायका र केटी जनजाति समुदायकी । घरबाट सम्बन्ध नस्विकार्ने थाहा पाएका उनीहरू विवाह गर्ने निधो गरे । केटा होटेलमा काम गर्न थालिसकेका थिए । २०७६ मङ्सिरको पहिलो हप्ता केटीले कलेजकै ड्रेसमा केटालाई भेटेर आफूलाई बिहे गर्न दबाब दिइन् । केटाले साथीको डेरामा राखे ।

दुवैतिर घरबाट थाहा भएपछि केटीलाई फिर्ता पठाइयो । तर पनि केटीले मानिनन् । मङ्सिरको १३ गते उनीहरूले ४ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे । पोखरामा बस्न नसक्ने भएपछि दुवैजना भारत जाने निधो गरे । केटाले उनलाई सुनौलीतिर आफन्तकोमा राखे । केही दिनपछि चेन्नाई पुगे । त्यहीँ काम गरे । समय बित्दै जाँदा केटी गर्भवती भइन् । त्यतिबेलासम्म केटीका आफन्तले आफ्नो छोरी हराएको सूचना प्रहरीमा दिएका थिए ।

उनीहरू दुवैजनाको फोटो बोर्डरमा पुर्‍याइसकेको थियो । विश्वव्यापी रूपमा कोरोना महामारी चल्यो । केटाले नेपाल फर्कने निधो गरे । तर केटी भने मानिन् । कोरोनाको डरमा हेरचाह नपुग्ने भन्दै उनले नेपालमै आएर बस्न राजी गराए । दुवैजना फर्किए । सुनौली बोर्डर आइपुगेपछि केटालाई प्रहरीले पक्रियो । त्यहाँबाट ल्याएर पोखराको मालेपाटन क्वारेनटिनमा राखेपछि साउन १ गते प्रहरीले केटालाई हिरासतमा थुन्यो ।

केटीको गर्भमा ८ महिनाको बच्चा थियो । केटीकी आमाले केटाविरुद्ध किटानी जाहेरी दिइन् । उनले ललाई फकाई लगेको र बलात्कार गरेको भनेर उजुरी दिएकी थिइन् । त्यसपछि केटा र केटीबीच भेटघाट बन्द भयो । १ महिनापछि बच्चा जन्मियो । जतिबेला अदालतमा मुद्दा चलिसकेको थियो । मुद्दामाथि छानबिन हुँदै जाँदा जिल्ला अदालत कास्कीले २०७७ को पुसमा बलात्कार भएको फैसला गर्‍याे । बच्चा ५ महिनाको भैसकेको थियो । आमासँगै रहेको बच्चालाई आमाको परिवारले नस्विकार्ने भन्यो । केटातर्फ पनि छोरो जेलमा भएपछि पाल्ने मान्छे नहुने भने ।

अदालतले नै शिशुलाई अनाथालय पठाउने भन्यो । त्यति लामो समयको प्रेम सम्बन्ध अन्ततः बलात्कारमा गएर टुङ्गियो । अदालतले १० वर्षको कैद सजाय सुनायो । तर केटा नाबालिग भएको कारण ६ वर्ष ८ महिना मात्रै सजाय हुन्थ्यो । प्रहरीले उनलाई सुधार गृह पठायो । यत्तिकैमा समाचार आयो विवाह गरेको मान्छेलाई जबरजस्ती करणी मुद्दामा सजाय दिएको भनेर । पोखराका अधिवक्ता वीवी विष्टले त्यो समाचार पढे । अन्याय भएको महसुस गरेपछि उनले उच्च अदालतमा मुद्दालाई पुनरावेदन गराउने निर्णय लिए । उनैले पुनरावेदन गराए । अभियोजन नै बालविवाह उल्लेख नगरेका कारण फैसलामा बलात्कार आएको अधिवक्ताहरू बताउँछन् ।

उच्च अदालतले अन्ततः उक्त मुद्दामा बलात्कार नभई बालविवाह भनेर फैसला गरिदियो । शुक्रबार न्यायधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले कास्की अदालतको फैसला उल्ट्याउँदै बालविवाहको फैसला अनुसार कारबाही सुनाएको हो । केटालाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना फैसला भयो । तर फैसला हुने बेलासम्म उनले करिब २ वर्ष सजाएँ भोगिसकेका छन् । विवाह गरेर भागेको दिन केटीको उमेर १७ वर्ष १० महिना र किशोरको उमेर १७ वर्ष ६ महिना थियो । किशोरलाई सुधारगृहबाट पनि थुनामुक्त गरिएको छ । उनीसँग अहिले २१ महिनाको छोरो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *