फेरिएनन् दलितका गुनासा- ‘जातकै कारण अपहेलित हुनुपर्छ’

सुर्खेत । सुर्खेतका ग्रामीण क्षेत्रमा कुनै न कुनै रूपमा जातीय विभेदका घटनाहरू भइरहेको गुनासो बढेको छ । समाजमा अझै पनि माथिल्लो जातका व्यक्तिहरूले छोइ-छिटो गर्ने, दलित भएकै कारण अपमान गर्ने र दलितमाथिको विभेद हटाउन व्यवहारत: लागू नभएको दलित समुदायले गुनासो गरेका हुन् ।

शनिवार भेरीगङ्गा नगरपालिका १३ रामघाटमा आयोजित अन्तर [दलित र गैरदलित] समुदाय संवाद कार्यक्रममा सहभागी दलित समुदायका नागरिकहरूले कानूनी रूपमा छुवाछुत र जातीय विभेद गर्नुहुँदैन भन्ने उल्लेख गरेपनि समाजमा यी घटनाहरू बारम्बार भइरहेको गुनासो गरेका छन् । छुवाछुतका घटनाहरूमा शिक्षित व्यक्तिहरूबाटै हुने गरेको भक्त नेपालीले बताए । ‘पुराना व्यक्तिहरूबाट छुवाछुत कुरा गर्नु स्वाभाविकै हो, किनकी उनीहरू त्यहीँ मानसिकताबाट आएका व्यक्ति हुन्,’ उनले भने, ‘अहिलेको नयाँ पुस्ता जुन परिवर्तनकारी हुन् जुन शिक्षित र बाैद्धिक वर्गका हुन् तर उनीहरूबाटै छुवाछुत र जातीय विभेदमा उद्दत भएको देखिन्छ, जुन राम्रो पक्ष मान्न सकिँदैन ।’

अन्तरजातीय विवाह गरेकी मनिषा विकले धारामा पानी लिन जाँदा छुइ हुन्छ भन्दै विभेद गर्ने गरेको गुनासो गरिन् । ‘अन्तरजातीय विभेदकै कारण परिवारबाट अपहेलित बनेकै छाैँ तर समुदायले पनि विभेद गर्दा समुदाय अझै रूपान्तरण भएकाे छैन,’ उनले भनेका छन् । दलित समुदायका नागरिकहरूले संविधानमा उल्लेखित कानूनलाई अक्षरस्त पालना गर्न आग्रह गरेका छन् । ‘कानून छ भन्ने कार्यान्वयन गर्ने निकाय मौन हुँदा दलितमाथि बेला बखत अप्रिय घटना हुने गरेका छन्,’ स्थानीय लक्ष्मण सुनारले भने, ‘मानसिकताबाटै जातीय विभेद अन्त्य गर्न प्रभावकारी रुपमा कानून कार्यान्वयन गर्न जरुरी छ ।’

उनले नजिकको सरकार स्थानीय सरकार भएकाले वडा कार्यालयबाट सामाजिक विकृती हटाउनमा गम्भीर बन्न सुझाए । समुदायबाट उठेका गुनासोहरूको सम्बोन्धन गर्दै भेरीगंगा नगरपालिका १३ का वडाध्यक्ष गणेशबहादुर भण्डारीले आफ्नो कार्यकालमा छुवाछुत र जातीय विभेद गर्नेलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाए । वडामा १२ जोडीले अन्तरजातीय विवाह गरेकाले उनीहरूको सुरक्षाका लागि वडा कार्यालय कटिबद्ध रहेको र उनीहरूले समाजमा कुनै अपहेलित हुने गतिविधि गर्नेलाई कानूनी दायरमा ल्याउने बताए ।

आगामी पाँच वर्षमा वडालाई छुवाछुत तथा जातीय विभेदमुक्त वडाको बनाउन कटिबद्ध भएर लाग्ने उनले उल्लेख गरे । ‘दलित भएकै कारण कसैले अपमानित हुनुपर्ने छैन्,’ वडाध्यक्ष भण्डारीले भने, ‘दलित भएकै कारण समाजले विभेद गरेमा तत्काल आफूलाई खबर गर्न आग्रह गर्दछु, वर्षौँदेखीको जरो उखेल्न सबैको साथ आवश्यक रहेकाले सहयोग गर्न आग्रह गर्दछु ।’

भेरीगंगा नगरपालिकाको सहयोग र नेपाल पीडित समुदाय संरक्षण केन्द्र [नेप्सकोन] सुर्खेतको आयोजनामा गरिएको कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक धनमल विकेले जिल्लामा सञ्चालन गरिरहेका गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रममा सिभिल सोसाइटीका सामाजिक अभियान्ता गजधर सुनारले नेपालमा छुवाछुत र जातीय विभेदका घटना हुनुका कारण र त्यसको न्यूनीकरणका लागि थाल्नु पर्ने विषयमा जानकारी गराएका थिए ।

उनले नेपालका विकास नहुनुमा स्रोत साधनको सही परिचालन नहुनु, जातीय विभेद कायमै रहनु र भ्रष्टाचार गतिविधिले प्रशय पाउनु मुख्य कारण रहेको उल्लेख गरे । नेपाल पीडित समुदाय संरक्षण केन्द्र सुर्खेतले जिल्लामा विगत दुई दशकदेदेखि वन, कृषि, वातावरण, सुशासन, गरिबी निवारण, जनवकालत तथा छुवाछुत र जातीय भेदभावविरुद्धका गतिविधिहरू सञ्चालन गर्दै आएको केन्द्रका कार्यकारी निर्देशक विकेले बताए । कार्यक्रममा दलित र गैरदलित समुदायका स्थानीयहरूको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *