नुवाकोट पोल प्रकरणः उद्धारका लागि सेनाको हेलिकप्टर ककनी प्रस्थान

काठमाडौँ । नुवाकोटको ककनीमा विद्युतीय तारमा बिहान १० बजेदेखि झुण्डिएर ओर्लिन नमानेका व्यक्तिको उद्धारका लागि नेपाली सेनाले हेलिकप्टरसहित उद्धार टोली पठाएको छ ।

सेना प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर साँझ ६:३३ मिनेटमा उडेको हो । उनले भने,  ‘हेलिकप्टर उडिसकेको छ। घटनास्थलमा प्रहरीको टोली पनि छ। उनीहरूसँग समन्वय भइरहेको छ । विपद व्यवस्थापन सहितको टोली गएको हो ।’

मन्त्री भुसालले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् नेपाली सेनालाई ककनीस्थित त्रिशूली ‘थ्रि ए’को प्रसारण लाइनमा झुण्डिएका व्यक्तिको उद्धार गर्न अनुरोध गरेको जानकारी दिएकी हुन् ।

साथै, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घण्टाको १० लाख रुपैयाँ बराबरको क्षति व्यहोरेर उनको सुरक्षाका लागि पावर हाउस बन्द गरिएको बताएका छन् ।

आज शनिबार बिहान १० बजेदेखि पोलमा चढेका उनी अहिलेसम्म तारमा हिँडिरहेका छन् । ज्यान जान सक्ने भन्दै प्रहरी र स्थानीयले ओर्लन भन्दा समेत उनी ओर्लन मानेका छैनन् । विद्युतको पोलमा चढेर हाइटेन्सन लाइनमा यताउता गरिरहेका उनी बेलकोटगढी नगरपालिका–१३ घलेगाउँका ४४ वर्षीय माइला भनिने प्रेमबहादुर विक रहेको बुझिएको छ ।

प्रहरीले उनको मानसिक अवस्था अस्वस्थ रहेको जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *