ककनीमा झुण्डिएका माइलाको उद्धारका लागि मन्त्री भुसालद्वारा सेनाको सहयोग अपिल

काठमाडौँ । नुवाकोटको ककनीस्थित प्रसारण लाइनमा झुण्डिएर बसेका व्यक्तिको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्धार गर्न नेपाली सेनालाई अनुरोध गरेकी छन् ।

मन्त्री भुसालले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् नेपाली सेनालाई ककनीस्थित त्रिशूली ‘थ्रि ए’को प्रसारण लाइनमा झुण्डिएका व्यक्तिको उद्धार गर्न अनुरोध गरेको जानकारी दिएकी हुन् । साथै, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घण्टाको १० लाख रुपैयाँ बराबरको क्षति व्यहोरेर उनको सुरक्षाका लागि पावर हाउस बन्द गरिएको बताएका छन् ।

आज शनिबार बिहान १० बजेदेखि पोलमा चढेका उनी अहिलेसम्म तारमा हिँडिरहेका छन् । ज्यान जान सक्ने भन्दै प्रहरी र स्थानीयले ओर्लन भन्दा समेत उनी ओर्लन मानेका छैनन् । विद्युतको पोलमा चढेर हाइटेन्सन लाइनमा यताउता गरिरहेका उनी बेलकोटगढी नगरपालिका–१३ घलेगाउँका ४४ वर्षीय माइला भनिने प्रेमबहादुर विक रहेको बुझिएको छ ।

प्रहरीहरूले उनलाई मासुभात खान दिने भन्दै भुइँमा ओर्लन फकाइरहेका छन् । साथै, उनलाई सेनाको हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले जानकारी दिए । उनी हाल तारैतार हिँडेर लिखु गाउँपालिका पुगिसकेको बताइएको छ ।

प्रहरीले उनको मानसिक अवस्था अस्वस्थ रहेको जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *