जेठ २८ र नाइन एन एबीबीको इतिहास

काठमाडौँ । तत्कालीन शाही नेपाल वायु सेवा निगमको कलसाइन नाइन एन एबीबीको ट्विनअटर विमान २०३० जेष्ठ २८ गते आजकै दिन अपहरणमा परेको थियो ।

नेपाली नागरिक उड्डयनको इतिहासमै यो नै पहिलो बिमान अपहरण थियो । तत्कालिन अबस्थामा नेपाली कांग्रेसले पञ्चायत व्यवस्थाविरुद्ध चलाएको आफ्नो सशस्त्र युद्ध ताका आर्थिक अभाव पूर्ति गर्न यो विमान अपहरण गरेको थियो । अपहरणमा स्व. गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा बसन्त भट्टराई, दुर्गा सुवेदी, नगेन्द्र ढुंगेल र स्व. सुशील कोइराला समेतको संलग्नता रहेको थियो ।

नेपाल राष्ट्र बैंक विराटनगर शाखाबाट काठमाडौँ ल्याउँदै गरेको भारु. ३० लाखसहित उक्त विमान अपहरण गरी भारतको फारबेसगञ्जमा अवरतरण गराइएको थियो र त्यसमा भएको भारु. ३० लाख कब्जामा लिइसकेपछि विमान र यात्रुलाई तत्काल अपहरणमुक्त गरियो । विमानमा १९ यात्रुसहित चालकदलका ३ सदस्य थिए ।

उडानकै क्रममा यो ट्विनअटर विमान २०७० फागुन ४ गते पोखरा–जुम्ला उडानका क्रममा अर्घाखाँचीको मसिनेलेकमा दुर्घटनाग्रस्त भई क्षतविक्षत भएको थियो ।

ऐतिहासिक विमान भएका कारण सो विमानप्रति सुन्दरीजलमा अवस्थित विपी संग्राहलयले चासो देखायो । अनेकौं प्रयासपछि १ अमेरिकी डलरमा यो विमानको कल साइन संग्राहलयले किन्यो । पछि मसिनेलेकबाट भगनावशेषहरू सबै हेलिकप्टरबाट नेपालगञ्ज ल्याई त्यहाँबाट ट्रकमा विपी संग्रहालयमा ल्याइयो ।

हाल यो विमानलाई मर्मत-सम्भार गरी सर्वसाधारणका लागि हेर्न संग्रहालयमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *