जिसस मकवानपुरमा गठबन्धनभित्र सहमति जुटेन, वाम तालमेलको सम्भावना

चितवन । जिल्ला समन्वय समिति मकवानपुरको नेतृत्वको लागि गठबन्धनभित्रका दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच नै सहमति हुन सकेको छैन । दुवै पार्टीले जिसस मकवानपुरमा दावी गरेपछि पासा नेकपा एमालेको भागमा पल्टने त होइन भन्नेमा चर्चा परिचर्चा हुन थालेको छ ।

जिसस मकवानपुरको निर्वाचन असार २ गते तोकिएको छ, तर गएको चुनावमा सहमति गरेका गठबन्धन दलबीच जिससको लागि सहमति हुन सकेको छैन । बाम तालमेल गरेर जिसस प्रमुख नेकपा एमालेले हत्याउन सक्ने सम्भावना पनि बढेको छ । जेठ ३० गते उम्मेदवारीको मनोनयन दर्ता, ३१ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन, असार १ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ ।

उम्मेदवारीको मनोनयन दर्ता गराउने मिति २ दिनमात्रै बाँकी सत्तारुढ गठबन्धनमा सहमति जुटेको छैन । गठबन्धनमा रहेको नेपाली कांग्रेसले जिससको प्रमुखमा दावी गरिरहे सहमति जुट्न नसक्ने माओवादी केन्द्रका नेताहरू बताउँछन् । यतिबेला जिसस मकवानपुर नेतृत्वको लागि माओवादी केन्द्र र नेपाली कांग्रेस दुबैले दाबी गरिरहेका छन् ।

हेटौंडा उपमहानगरपालिकामा कम्युनिष्ट पार्टीले नेतृत्व गरेका कारण जिससको प्रमुखमा कांग्रेसले पाउनुपर्ने अडानमा नेपाली कांग्रेस बसेको छ भने चुनावअघिको सहमतिअनुसार जिसस प्रमुख माओवादी केन्द्रले पाउनुपर्ने सहमति भएका कारण माओवादी केन्द्रकै भागमा पर्नुपर्ने अडानमा माओवादी केन्द्र बसेको छ । मकवानपुरका ६ वटा पालिकामा आफूहरूले कांग्रेसलाई सघाएको कारण जिसस प्रमुख माओवादी केन्द्रले पाउनुपर्ने माओवादीका नेताहरू बताउँछन् ।

नेपाली कांग्रेसले जिसस प्रमुख माओवादीलाई नछोडे बाम तालमेल हुनसक्ने पनि माओवादी केन्द्रको भनाइ छ । यस विषयमा एमालेले अहिलेसम्म मुख खोलेको छैन । नेपाली कांग्रेस र माओवादी केन्द्रको आ–आफ्नो दाबीलाई हेरिरहेको छ ।

मकवानपुरको अंकगणित

मकवानपुरमा ८ वटा पालिका छन् । प्रमुख र उपप्रमुख २० जनाले जिससको लागि मतदान गर्न पाउनेछन् । ९ सदस्यीय जिल्ला समन्वय समिति मकवानपुर बन्ने भएको छ । प्रमुख तथा उपप्रमुखसहित ७ सदस्यको लागि असार २ गते निर्वाचन हुँदैछ ।

मकवानपुरमा नेपाली कांग्रेसका ९ जना प्रतिनिधि छन् । कांग्रेसको अन्य पार्टीको भन्दा प्रतिनिधि धेरै छन् । त्यसैले पनि कांग्रेसले जिसस प्रमुखमा दावी गरेको हो ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका ७ जना प्रतिनिधि छन् । चुनावकै समयमा माओवादी केन्द्रको भागमा जिसस परिरहेको उसको दाबी छ । नेकपा एमाले ३ प्रतिनिधिसहित तेस्रो र नेकपा एकीकृत समाजवादी एक प्रतिनिधिका साथ चौथो स्थानमा छ । निर्वाचनमा विजयी हुन ११ मत आवश्यक पर्दछ । माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादीबीच तालमेल भयो भने बहुमत पुग्छ । कांग्रेसले बहुमत ल्याउन माओवादी वा एमालेसँग सहमत गर्नैपर्छ ।

गठबन्धन कायमै रहे १७ मत पुग्छ, तर कांग्रेस र माओवादी केन्द्रबीच सहमति हुन नसके गठबन्धनको मत विभाजन हुन्छ, यसको फाइदा नेकपा एमालेलाई हुनसक्ने विश्लेषण पनि भइरहेको छ । कांग्रेसले माओवादीलाई छोडेर एमालेको सहयोग लिँदा पनि ११ मत पुग्छ । माओवादी केन्द्रले एमालेको सहयोग लियो भने पनि बहुमत ल्याउन एक मत पुग्दैन । एकीकृत समाजवादीलाई साथ लिएर वाम तालमेल हुनसक्ने पनि देखिएको छ ।

कुनै समय एमालेले गढ मानिएको मकवानपुरमा यतिबेला एमालेले धेरै नोक्सान व्यहोर्न परेको छ । त्यसैले जुनकुनै दलसँग तालमेल गरेर उपप्रमुखसहित केही सदस्य लिनलाई एमाले अघि बढेको स्रोतको भनाइ छ । गठबन्धन भत्काएर आफ्नो पक्षमा उपप्रमुखसहित केही सदस्य लिएर भए पनि स्थानीय साख जोगाउन नेकपा एमाले लागिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *