बागलुङ उद्योग वाणिज्य सङ्घको निर्वाचन नजिकिँदै, ६ व्यवसायीबीच होडबाजी

काठमाडौँ । बागलुङ उद्योग वाणिज्य सङ्घको निर्वाचन नजिकिएसँगै व्यवसायीमा नेतृत्वका लागि दौडधुप बढेको पाइएको छ । स्थानीय तहको निर्वाचनले गर्माएको बागलुङ बजार पुनः व्यवसायीको निर्वाचनले चुनावी माहोल सिर्जना गरेको छ ।

निर्वाचन नजिकिएसँगै व्यवसायले राजनीतिक भेटघाट, व्यवसायीसँग परामर्शलगायतका कार्य गरिरहेका छन् भने बागलुङ उद्योग वाणिज्य सङ्घले निर्वाचनको आन्तरिक तयारीलाई तीव्रता दिएको छ । सम्पूर्ण व्यापारी व्यवसायीको साझा संस्थाका रूपमा रहेको बागलुङ उद्योग वाणिज्य सङ्घको १८औं अधिवेशन आउँदो असार ४ गते हुँदैछ ।

सदस्यको पुसमा नवीकरण सकिएको र मतदाता नामावली जेठ १७ गते मतदान अधिकृतलाई दिएको युवराज राजभण्डारीले जानकारी दिए । उनका अनुसार सङ्घका कानूनी सल्लाहकार भूमिश्वर गौतमलाई नै मतदान अधिकृत बनाइएको छ । अहिलेको नेतृत्व सर्वसम्मत बनाएर लैजाने गरी विभिन्न चरणमा छलफल भइरहेको उनको भनाइ छ ।

तीन वर्षमा परिवर्तन हुने बागलुङ उद्योग वाणिज्य सङ्घको नेतृत्व तीन वर्ष छ महिनापछि मात्रै चयन हुँदैछ । विधानविपरीत समय सीमाभित्रै नयाँ नेतृत्व चयन नभएको भन्दै उद्योग वाणिज्य सङ्घको नेतृत्वप्रति केही व्यवसायीहरू असन्तुष्ट समेत भएका थिए । तर अधिवेशन गर्ने समयमा साधारणसभा गरेर त्यहीअनुसार आफूले अहिले निर्वाचन गराउन थालिएको राजभण्डारीले जानकारी दिए । उनले कोरोनाका कारण पाँच महिना निर्वाचन धकेलिएको बताए । उनले यसपटकको नेतृत्व सकभर सहमतिमा हुने र निर्वाचन नगर्ने गरी वातावरण तयार गरिरहेको अध्यक्ष राजभण्डारीले जानकारी दिए ।

उद्योग वाणिज्य सङ्घको नेतृत्वका लागि छ जना व्यवसायीले नेतृत्वका लागि आफ्नो दाबेदारी रहेको बताएका छन् । सङ्घको अध्यक्षका लागि सङ्घका वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा बाबु, उद्योग वाणिज्य सङ्घका सल्लाहकार तथा अघिल्लो निर्वाचनका प्रतिस्पर्धी दयाराम पौडेल, वर्तमान महासचिव नरेश कँडेल, प्रथम अध्यक्ष राजनकुमार शाक्य, कार्यसमिति सदस्य शशिकपुर श्रेष्ठ र पूर्वकार्य समिति सदस्य सञ्जय श्रेष्ठले नेतृत्वका लागि आफ्नो दाबेदारी रहेको बताएका छन् ।

विसं २०२० मा स्थापित सङ्घमा एक हजार ४९० व्यवसायी सदस्य मतदाता रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *