सडकमा खाल्डा देख्नेबित्तिकै महानगरलाई खबर गर्न आग्रह

पोखरा महानगरमा अभियानका रूपमा खाल्डा पुर्न थालियो

पोखरा । पोखरा महानगरपालिकाले अभियानकै रूपमा सडकमा परेका खाल्डा पुर्न थालेको छ । महानगर कार्यपालिकाको निर्णयअनुसार आजदेखि सडकमा परेका खाल्डा पुर्न थालिएको हो ।

प्राविधिकसहितको टिम बनाएर काम थालेको महानगरले कतै खाल्डा देख्ने बित्तिकै खबर गर्न आग्रहसमेत गरेको छ । नयाँ जनप्रतिनिधि आएपछि बिहीबार बसेको पहिलो कार्यपालिका बैठकले पोखरा महानगरपालिकाले तत्काल आपत्कालीन सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

जसमा सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, आगलागी तथा विभिन्न घटनामा तत्काल जनशक्ति परिचालन गर्ने गरी पूर्वाधार महाशाखाको क्षमता विकास गर्ने र कर्मचारीसमेत भर्ना गरेर सेवामा प्रभावकारिता ल्याउने काम हुनेछ ।

छाडा चौपाया सडकबाट हटाउने र ढल तथा नाला सफाइ अभियान चलाएर व्यवहारिक रूपमा आपत्कालीन सेवा सञ्चालन गर्दै महानगरको दायित्वभित्र पर्ने अत्यावश्यक कार्यलाई तत्काल अगाडि बढाउने निर्णय पनि बैठकले गरेको छ । छाडा चौपाया व्यवस्थापन मेयर धनराज आचार्यको निर्देशनपछि बिहीबारबाटै सुरु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *