प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटी जंगी अड्डा पुगे अमेरिकी सेनाका कमाण्डर

काठमाडौँ । अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिन बालुवाटार र शीतलनिवास हुँदै सैनिक मुख्यालय पुगेका छन् ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि उनी भद्रकालीस्थित सैनिक मुख्यालय पुगेका हुन् । जंगी अड्डामा उनलाई नेपाली सेनाले प्रदान गर्ने विशेष सलामी ‘गार्ड अफ अनर ‘प्रदान गरिएको छ भने नेपाली सेनाले उनलाई अपरेशनल गतिविधिका बारेमा ब्रिफिङ समेत गरेको छ ।

उनले प्रधान सेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गरेका छन् । प्रधान सेनापतिको शर्माको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

अहिले राति प्रधानसेनापति शर्माले उनको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन्। प्रधानसेनापतिले आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी भएका छन्। भोलि शनिबार बिहानै उनी हिमालका दृश्य अवलोकन गर्न माउण्टेन फ्लाइटमा जाने कार्यक्रम छ । शनिबार बिहानको ब्रेकफास्ट माउण्टेन फ्लाइटपछि सोलुखुम्बुको एभरेष्ट भ्यु होटलमा तय गरिएको छ ।

सोलुखुम्बुको भ्रमणबाट फर्किएपछि दूतावासले तय गरेका कार्यक्रम र भेटवार्तामा उनी व्यस्त हुनेछन् । आइतबार पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र जानेछन् । त्यहाँ पनि उनलाई अवलोकन र ब्रिफिङ गराइनेछ । त्यहाँबाट सिधै शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी त्यहाँ रहेका प्रशिक्षार्थीलाई सम्बोधन गर्नेछन् ।

भारतको चार दिने भ्रमण सकेर नेपाल आइपुगेको सैनिक उच्च अधिकारीको यो टोली बिहीबार मध्याह्न नेपाल आइपुगेका हो भने आइतबार स्वदेश फर्किनेछ ।

केही दिनअघि मात्र प्रधानमन्त्री देउवा र प्रधान सेनापति शर्माको अमेरिका भ्रमण तय भएको हो सो अवस्थामा अमेरिकी सेनाका कमाण्डिङ जनरल नेपाल भ्रमणमा आउनुलाई विशेष महत्त्वका साथ लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *