गण्डकीका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौँ । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजना एवं सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरणमा गण्डकी प्रदेशका नवनिर्वाचित जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी अभिमुखीकरण दिइएको छ ।

स्थानीय सरकार सञ्चालनमा जनप्रतिनिधिलाई काम, कर्तव्य अधिकारसँगै जिम्मेवारी, दायित्वलगायत विषयमा जानकारी दिने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनतालाई सहज, सरल एवं प्रभावकारी सेवा प्रवाह गर्नु जनप्रतिनिधिको दायित्व भएको बताए ।

समृद्ध गण्डकी प्रदेशको सपनालाई साकार पार्न एकापसमा सहकार्य र समन्वय गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै उनले पालिका–पालिकाबीचको सहयोग आदानप्रदान एवं सहकार्यलाई अघि बढाउनुपर्ने बताए । प्रदेशको समृद्धिसँग जोडिएको कोरोला–त्रिवेणी सडकअन्तर्गत डेढगाउँ झ्यालवासखण्ड जोडिन लागेको उनले बताए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गण्डकी आफैँमा सम्भावनायुक्त प्रदेश भएकाले एकापसमा सहकार्य गर्दैअघि बढ्नुपर्ने आवश्यकता औँल्याए । पोखरा र वरपरका सहरबीच सहकार्य गर्दै बृहत् पोखराको अवधारणा समेटेर अघि बढ्नुपर्ने उनले बताए । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोलाले एकापसको सहकार्य र सहयोगले समृद्धि तथा विकासका लागि महत्वपूर्ण सहयोग मिल्ने हुँदा त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न जनप्रतिनिधिलाई सुझाव दिएका छन् । स्थानीय तहमा प्रतिपक्षको प्रणाली नभएका कारण उपविजेता, नागरिक समाजलगायतलाई साथमा लिएर हिँड्नुपर्ने आवश्यकता औँल्याए ।

प्रदेशभित्रका ८५ वटै पालिकाका प्रमुख तथा उपप्रमुख सहभागी अभिमुखीकरण शनिबारसम्म चल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *