पाेखराका हाेटेल तथा रेस्टुरेन्टका शाैचालय सार्वजनिक प्रयाेगका लागि खाेल्ने महानगरकाे निर्णय

पोखरा । पोखरामा पनि काठमाडौँमा जस्तै निजी क्षेत्रले आफ्नो व्यवसायमा राखेका शौचालयहरू सार्वजनिक प्रयोगका लागि खुला गरिने भएको छ । पोखरा महानगरपालिकाले कार्यपालिका बैठकबाट निजी क्षेत्रका शौचालयलाई सार्वजनिक रूपमा खुला गर्ने निर्णय गरेको हो ।

त्यसका लागि होटेल, रेस्टुरेन्ट सहित बैंक र व्यापारिक महलसँग सम्झौता गर्ने महानगरले जनाएको छ । आउँदो १ वर्षभित्र आवश्यक ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्ने र त्यसअघि निजी क्षेत्रका शौचालयलाई प्रयोग गर्ने मेयर धनराज आचार्यले जानकारी दिए ।

यस्तै, बैठकले पोखराको ल्याण्डफिल साइट पोखरा ३३ मा सार्ने निर्णय गरिएको छ । अहिले पोखरा १४ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न तत्काल हटाउनुपर्ने छ ।

महानगरमा निर्वाचित जनप्रतिनिधिको पहिलो बैठकबाटै उक्त निर्णय गरिएको हो । ल्याण्डफिलका लागि आवश्यक बजेट व्यवस्था गर्ने निर्णय भएको छ । योसँगै पोखराको प्रशासकीय भवन निर्माणका लागि जग्गा खोजी गर्न समिति गठन भएको छ ।

समितिमा पोखरा २ का अध्यक्ष दिवसमान प्रधानाङ्ग, पोखरा १७ का अध्यक्ष राधिका शाही योगी र वरिष्ठ इन्जिनियर पूर्ण गुरुङ सदस्य छन् ।

उनीहरूले तत्काल अध्ययन गरेर उपयुक्त जग्गाको खोजी गर्नेछन् । आगामी कार्यपालिका बैठकमा जग्गा सिफारिस गर्ने जिम्मेवारी समितिलाई दिइएको आचार्यले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *