चिमखोलामा बहुआयामिक नमूना ग्राम कार्यक्रम लागू

काठमाडौँ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बहुआयामिक नमूना ग्राम कार्यक्रम लागू भएको छ ।

विपन्न, सीमान्तकृत समुदायलाई समेटेर लैङ्गिक समानताउन्मुख नमूना गाउँ स्थापना गर्ने उद्देश्यले दलित र मगर समुदायको बसोबास भएको चिमखोलामा नमूना ग्राम कार्यक्रम सञ्चालन गरिएको हो । सडक, खानेपानी, विद्युत्, सञ्चार, पैदलमार्ग, भवनलगायत भौतिक पूर्वाधार निर्माण, नेतृत्व र क्षमता विकासमार्फत लैङ्गिक, जातीय समानता कायम गरी सामाजिक तथा सीपको विकास, रोजगारी सिर्जना र आयआर्जन वृद्धि गरी आर्थिक रुपान्तरण गर्ने उद्देश्य रहेको छ ।

रघुगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले स्वीकृत गरेको नमूना ग्राम कार्यक्रमको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार कार्यक्रम कार्यान्वयन थालिएको बताएका छन् । “गत माघमा रु ९६ करोडको डिपिआर स्वीकृत गरेर पहिलो चरणमा गाउँपालिकालाई पठाएको रु. ११ लाख बजेटबाट सीपमूलक तालिम सञ्चालन गरेका छौँ”, उनले भने, “मन्त्रालय आफैले पनि तालिम सञ्चालनका लागि थप रु. छ लाख विनियोजन गरेको छ ।”

सातवटा प्रदेशको एक–एकवटा पालिकामा लागू गरिएको कार्यक्रमका लागि गण्डकी प्रदेशको चिमखोलालाई छनोट भएको हो । प्रतिनिधिसभा सदस्य तथा पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाका अनुसार आर्थिक, सामाजिक र भौतिकरूपमा नमूना गाउँ बनाउन कार्यक्रम सञ्चालन गरिएको हो । भौतिक पूर्वाधारलाई बालबालिका, ज्येष्ठ नागरिक र महिलामैत्री बनाउने, लैङ्गिक समानता र विभेदरहित समाज निर्माण र नागरिकको आर्थिकस्तर सुधारमा सघाउ पुग्ने योजना तथा कार्यक्रमलाई समेटेर डिपिआर बनाइएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय र साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने अवधारणा छ । मन्त्रालयबाट स्वीकृत भइसकेको कार्यक्रमलाई मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत र राष्ट्रपतिबाट घोषणा गराई विषयगत मन्त्रालयमार्फत् डिपिआरमा उल्लेखित कार्यक्रम र योजनामा बजेट विनियोजन गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *