म्याग्दीको खटेनमा अझै पुगेन बिजुली

काठमाडौँ । म्याग्दीको मालिका गाउँपालिका–३ खटेनमा वायरिङ गरेको दुई वर्षसम्म पनि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छैन ।

बिजुली बल्ने आशामा वायरिङ गरेका खटेनवासी निराश भएका छन् । विद्युतीकरणका लागि गाउँमा लगिएका सामग्री अलपत्र परेका छन् । मालिका गाउँपालिका–३ का अध्यक्ष मोतिप्रसाद बुढाले विद्युतीकरणमा भएको ढिलाइ र सामग्री अलपत्र परेको विषयमा नेपाल विद्युत् प्राधिकरणको बेनीस्थित कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको बताए ।

“दुई वर्षदेखि अधुरो विद्युतीकरण योजनालाई पूर्णता दिन प्राधिकरणको कार्यालयको ध्यानाकर्षण गराएका छौँ”, उनले भने, “ पोल गाडेको, तार तानेको र वायरिङ गरेको दुई वर्षसम्म पनि बिजुली नबल्दा स्थानीय निराश बन्नुका साथै विद्युतीकरणका सामग्री बेवारिसे भएका छन् ।” खटेनका १५० घरधुरीमा विद्युतीकरणका लागि तयारी छन् । वडाध्यक्ष बुढाका अनुसार मिटरबक्स जडान र लाइन जडान गरेमा ती घरधुरीमा बिजुली बल्छ । खटेनवासीले च्युरीबोटमा रहेको दाजुङखोला लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दै आएका छन् ।

खटेनसँगै रहेको इग्रेमा भने दुई वर्षअघि नै बिजुली बालिएको थियो । खटेन र इग्रेका लागि विद्युतीकरणका लागि जडान गरिएको ट्रान्सफर्मर चार्ज भइसकेको छ । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका इञ्जीनियर शिवराज पौडेलले मालिका गाउँपालिकामा विद्युतीकरणका लागि चालु आर्थिक वर्षमा प्राप्त भएको रु. एक करोड ५० लाख बजेटको ठेक्का सम्झौताको तयारी भएको बताए । “सामग्री खरिद भइसकेको छ”, उनले भने, “मजदूरको काम गर्न आह्वान गरिएको ठेक्का मूल्याङ्कन गरेर सम्झौताको तयारीमा छौँ ।”

मालिका गाउँपालिकाको वडा नं ३ मा खटेनसहित पात्ले, लुक्सीपार, औल भिरवाङ, स्याकलुङमा विद्युतीकरण बाँकी छ । इग्रे, लामखोरे, सराग्दी र किटिनीमा विद्युतीकरण गरेर केन्द्रीय लाइन विस्तार गरिसकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *