मुस्ताङमा फौजी किराको प्रकोप, लखेट्न लामा पूजा

पोखरा । मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड क्षेत्रमा फौजी किराको प्रकोप फैलिएको छ ।

एक महिनाअघिदेखि सामान्य देखिएको फौजी किराले अहिले प्रकोपको अवस्था सिर्जना गरेको छ । घिलिङदेखि कोरलासम्मको खेतबारी र बस्तीहरूमा फौजी किराले किसानको खेतीबाली नष्ट गरेको छ । अहिले त्यहाँ उवा, गहुँ र जौको खेती छ ।

फट्याङग्रा प्रजाति फौजी किराले बाली नष्ट गरेको स्थानीय टसी गुरुङले जानकारी दिए । ‘जताततै किरा छ । गहुँको बोटभरी किरा बस्छ । बाली खाएर हैरान छ,’ उनले भने, ‘न्यूनीकरणका लागि कतैबाट केही भएको छैन ।’ त्यहाँको कृषि शाखाले विषादी छर्किएर नियन्त्रणमा लिने प्रयास गरेपनि सम्भव नहुने प्राविधिक कृष्ण गौतमले बताए ।

मुस्ताङमा ३ वर्षअघि पनि यस्तै प्रकोप फैलिएको थियो । स्थानीयले भने पाप लाग्ने भन्दै खेतवारीमा विषादी छर्किन नमानेका प्राविधिकहरू बताउँछन् । खेतबारीमा विषादी छर्किँदा नाग देवता रिसाउने धार्मिक मान्यता छ । किरा नियन्त्रणका लागि लामा पूजा सुरु गरिएको छ । छोसेर र घिलिङमा लामा पूजा गरिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *