प्रधानमन्त्री देउवाकाे अमेरिकी भ्रमणबारे सदनमा जानकारी गराउन एमालेकाे माग

काठमाडाैँ । नेकपा एमालेले प्रधानमन्त्री शेर बहादुर देउवाको अमेरिका भ्रमणकाे विषयमा सदनमा जानकारी गराउन माग गरेको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकको सुरुमै एमाले सांसद सूर्यप्रसाद पाठकले अमेरिका भ्रमणमा प्रधानमन्त्री र प्रधानसेनापति जान लागेको र नेपाल कतै आइपीएस सहभागी हुने हो की भन्ने आशंका पैदा भएकाले प्रधानमन्त्रीले संसदको रोष्ट्रममा उभिएर यसको जवाफ दिनुपर्ने माग गरे ।
उनले जेठ २६ गते सत्ता घटक दलका प्रमुख सचेतकले राष्ट्रिय सुरक्षा संवेदनशीलताका सम्बन्धमा राखेको अभिव्यक्तिले प्रतिपक्षीलाई अत्यन्त चिन्तित चुल्याएको भन्दै उनले हिन्द प्रशान्त रणनीतिमा सहभागी हुने हो कि भन्ने आशंका पैदा भएको धारणा राखे ।
प्रमुख सचेतकको आशंका अनुसार अमेरिकाको भ्रमणका सैन्य गठबन्धनमा प्रवेश गर्ने हो की भन्ने देखिएकाले राष्ट्रिय स्वाधीनता, सार्वभौकिमता र भौगोलिक अखण्डताको विषयमा देश चिन्तित रहेको उनले बताए । उनले यस विषयमा प्रधानमन्त्रीलाई सदनमा जवाफ दिन सभामुखले रुलिङ गर्नुपर्ने माग गरे ।
जेठ २६ गतेको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमण स्थगित गर्न माग गरेका थिए ।
अहिले अत्यन्तै संवेदनशील अवस्था रहेको बताउँदै गुरुङले अहिलेको परराष्ट्र नीति सैन्य नीतिमा गइरहेको समेत टिप्पणी गरेका थिए ।








