विश्वविद्यालयमा राजनीति : संसद्‍मा उठ्यो प्रश्न, सरकार मौन

काठमाडौँ । ‘१३९ दिन भयो, त्रिभुवन विश्वविद्यालयमा ताल्चा लागेको गृहमन्त्रीज्यू, शिक्षामन्त्रीज्यू तपाईँलाई जानकारी छ ? के उत्कृष्ट हुन लागेको हो ?’, प्रमुख विपक्षी नेकपा एमाले सांसद भीम रावलले बिहीबार प्रतिनिधिसभामा बैठकमा बोल्दै त्रिविमा लागेको तालाबारे चर्को आक्रोश पोखे ।

सांसद रावलले ताला खुलाउन सरकारले पहल नलिएकोप्रति सांसद रावलले चर्को आपत्ति जनाए । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन (नेविसंघ)ले उपकुलपति सहित पदाधिकारीको कार्यकक्षमा गरेको तालाबन्दी नखुलेकोमा रावलले चर्को आक्रोश पोखे ।

नेविसंघले भ्रष्टाचार भएको, डिन, प्राध्यापक देखि विभागीय प्रमुखको नियुक्ति मनपरी ढंगले भएको भन्दै ताला लगाएको हो । अन्य एजेण्डा भन्दा पनि त्रिविको भागबन्डा नेवि संघको प्रमुख माग हो । तर, कांग्रेस सभापति समेत रहेका त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यसतर्फ ध्यान नदिएको एमाले नेताहरूले निष्कर्ष छ ।

अर्का सांसद योगेश भट्टराईले विश्वविद्यालयभित्र फैलिएको तालाबन्दीको रोगको उचित निरूपण गर्नुपर्नेमा जोड दिए । सांसद घनश्याम खतिवडाले सरकारले नै शैक्षिक क्षेत्रमा ध्यान दिन नसकेको टिप्पणी गरे ।

एमाले नेताहरूले त्रिविमा लागेको तालाबारे संसदमा कुरा उठाइरहँदा अनेरास्ववियु प्रदर्शन गरिरहेको छ । एमाले निकट अनेरास्ववियुले ताला नखुले फोर्ने चेतावनी दिएको छ । तर तिनै अनुरास्ववियुका कार्यकर्ताले अमृत साइन्स क्याम्पस (अस्कल) का उपप्राध्यापक माथि आक्रमण गरेका छन् । अस्कलका उपप्राध्यापक दिवाकर पाण्डेमाथि अखिल इकाई कमिटीका सहसचिव पंकज पाण्डेले कुटपिट गरेको क्याम्पस प्रमुख लोकबहादुर बरालले बताएका छन् ।

उनका अनुसार, एकान्तमा लगेर अखिलका कार्यकर्ताले कुटपिट गरेका हुन् । अखिलका कार्यकर्ताले भर्ना प्रक्रियामा किर्ते नामावली तयार पारेको भन्दै क्याम्पस प्रशासनले मुद्दा लगाएको थियो । त्यही मुद्दामा दबाब दिन उपप्राध्यापक पाण्डेमाथि कुटपिट भएको क्याम्पस प्रशासनले जनाएको छ ।

तर अखिलका अध्यक्ष सुनिता बरालले भने आफ्ना कार्यकर्ताले कुटपिट नगरेको जनाएकी छन् । अनेरास्ववियु र क्याम्पस प्रशासनबीच यसअघि बिच तनाव सिर्जना हुँदै गएको थियो । क्याम्पस प्रमुख माओवादी केन्द्र निकट भएको भन्दै अखिलले असहयोग गर्दै आएको छ । गएको ४ वैशाखदेखि अस्कलमा अखिलले ताला लगाइरहेको छ । तर एमाले नेताहरूले भने त्रिविका तालाबारे मात्रै कुरा उठाइरहेका छन् भने अखिलले आन्दोलन गरिरहेको छ ।

जबकि त्रिविको समस्या भने अस्कलकै जस्तो हो । अस्कलमा अखिलको ताला छ भने त्रिविमा नेवि संघको । दुवैको समस्या क्याम्पसमा राजनीतिक स्वार्थ देखिनु हो । प्राध्यापक राजनीतिक स्वार्थमा नियुक्त गरिने र आफू निकटलाई प्राध्यापक ल्याउन चाहने विद्यार्थी संगठनको असर भने विश्वविद्यालयमाथि पर्दै आएको छ ।

कतिसम्म भने आफू अनुकूल विश्वविद्यालय चलाउने खोज्ने विद्यार्थी संगठनहरुको स्वार्थमा प्राध्यापक कुटिने शृङ्खला बढेर गएको छ । २० असोज २०७७ मा त्रिविकै उपप्राध्यापक प्रेम चलाउने विद्यार्थीकै कुटपिटबाट गम्भीर घाइते भएका थिए । कुटपिटमा संलग्नहरूले दिएको बयान अनुसार, नेवि संघकै आडमा उपप्राध्यापक चलाउनेमाथि कुटपिट भएको थियो ।

उपप्राध्यापक कुटपिटमा संलग्न रुपेश शाह र नवीन लामालाई प्रहरीले पक्राउ गरेपनि काठमाडौँ जिल्ला अदालतले ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । कतिसम्म भने चिट चोर्न नपादिएको भन्दै आरआर क्याम्पसका शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको थियो । विश्वविद्यालयमा छिरेको राजनीतिकै कारण हुने तालाबन्दी र कुटपिटको घटना लगातार अदालत पुग्ने गरेको छ ।

यसरी विश्वविद्यालयमा राजनीति भइरहेको भन्दै संसदबाट सांसदहरूले दिनहुँ सरकारको ध्यानाकर्षण गरिरहेका छन् । प्रतिनिधिसभामा बिहीबार शिक्षा मन्त्रालयका लागि विनियोजन भएको बजेट शीर्षकमाथि छलफल थियो ।

छलफलमा भाग लिँदै सांसदहरूले विश्वविद्यालयमा राजनीति नगर्न दलहरूलाई सुझाएका छन् भने समस्या समाधानका लागि सरकारलाई खबरदारी । कहिले विद्यार्थी संगठनले, कहिले प्राध्यापकसँग जोडिएका संघसंस्थाले विश्वविद्यालयमा तालाबन्दी गर्दा शैक्षिक क्रियाकलाप प्रभावित हुने गरेकोमा सांसदहरूको चिन्ता छ ।

सरोकारवाला निकायले ध्यान नदिँदा शैक्षिक स्थल अराजकताको भुमरीमा फसेको सांसदहरूको निचोड छ । बिहीबार प्रतिनिधिसभामा बोल्दै सांसद राजेन्द्र गौतमले भने, ‘त्रिभुवन विश्वविद्यालयमा भइरहेको तालाबन्दीको संस्कारबाट कहिले मुक्ति पाइएला ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *