नेता अनिल परियार हत्या प्रकरण: परिवारको किटानीका आधारमा तीन पक्राउ

चितवन । नेपाली कांग्रेसका नेता ‘कान’ भनिने अनिल परियारको हत्या प्रकरणमा पीडित परिवारको तर्फबाट किटानी जाहेरी परेको आधारमा चितवन प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर–१५ बस्ने ३५ वर्षका ‘विश्व’ भनिने हेमन्त बास्तोला, भरतपुर १२ बस्ने २३ वर्षीय राहुल परियार र चितवन माडी घर भई हाल भरतपुर–१५ मा बस्ने २५ वर्षीय रोहित सिलवाल रहेका छन् । चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले परिवारको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरेको बताएका छन् ।

आरोपित बास्तोलालाई काठमाडौँबाट पक्राउ गरिएको थियो भने अन्य दुईजनालाई चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरोपित तीनैजनालाई चितवन जिल्ला अदालतबाट अनुमति लिई प्रहरी हिरासतमा राखी अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता अधिकारी बताउँछन् । उनका अनुसार उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजी कार्य भइरहेको छ ।

स्थानीय तह चुनावको मुखमा गत वैशाख २५ गते साँझ भरतपुर–७ कृष्णपुरस्थित नगर प्लटिङको भित्री सडकमा धारिलो हतियारको प्रयोगबाट परियारको हत्या गरिएको थियो । नेपाली कांग्रेसका बागमती प्रदेश कमिटीका प्रतिनिधि परियारको हत्यालगत्तै नेपाली कांग्रेस चितवनले विरोध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *