विद्यार्थी भर्नाको विषयमा विवाद हुँदा सुन्दरबजारको कृषि क्याम्पस अनिश्चितकालीन बन्द

पोखरा । विद्यार्थी भर्नाको विषयमा विद्यार्थी संगठनबीच नै कुटाकुट हुन थालेपछि लमजुङको सुन्दरबजारमा रहेको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अनिश्चितकालका लागि बन्द भएको छ ।

विद्यार्थीका संघ संगठनहरुले क्याम्पसमै तोडफोड र आगजनी गर्न थालेपछि बन्द गरिएको क्याम्पस प्रशासनले जनाएको छ । विद्यार्थी संगठनहरुले नयाँ विद्यार्थीहरुलाई आफ्नो पक्षमा पार्न होडबाजी गर्ने र त्यसकै कारण झडप समेत हुने गरेको छ । अहिले विएससी एजीमा भर्ना खुलेको छ ।

‘बाहिरबाट आउने विद्यार्थीलाई तानातान चलेको छ । अनेरास्ववियु र नेविसंघका विद्यार्थीबीच यहि कारण झगडा भैरहन्छ,’ क्याम्पसका एक प्राध्यापकले भने, ‘यस्तो अवस्थामा कसरी पढाउने ? भर्ना कसरी लिने ?’ यही कारण मंगलबार झडप र आगजनी भएको थियो ।

क्याम्पस प्रमुख डा. नारायण न्यौपानेले स्थिति सामान्य नहुँदासम्म पठनपाठन ठप्प हुने बताए । ‘दिनदिनै झगडा छ । क्याम्पसमा आगजनी हुन्छ । यस्तो जटिल परिस्थिति सामान्य नहुँदासम्म क्याम्पस खोल्न गाह्रो छ,’ उनले भने । क्याम्पसले छात्राबास समेत खाली गर्न सूचना जारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *