फुकोट–कर्णाली जलविद्युत आयोजनाको मूल्यांकन प्रतिवेदन अन्तिम चरणमा

काठमाडौँ । फुकोट–कर्णाली जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआइए) अन्तिम चरणमा पुगेको छ ।

विद्युत् उत्पादन कम्पनीले तयार पारेको अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको ईआइए प्रतिवेदन ऊर्जा मन्त्रालयले स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पठाएको हो । ४८० मेगावाट क्षमताको सो आयोजनाले ईआइए स्वीकृति माग गरेको छ।

सम्भाव्यता, डिटेल डिजाइन तथा बिडिङ डकुमेन्टलगायतका काम सकिसकेको र ईआइए रिपोर्ट स्वीकृति हुने क्रममा रहेको जलविद्युत आयोजनाका प्रमुख हीरामान वाइबाले बताए । उनले भने, ‘अब लगानीको मोडालिटी टुंग्याउन पाए निर्माणको काममै जान सक्छौँ ।’

आयोजनाले सर्वेक्षण अनुमति पाएको भए पनि उत्पादनका लागि लाइसेन्स लिन बाँकी रहेको आयोजनाका प्रमुख वाइबाले बताए । ‘आउँदो असार महिनामा उत्पादन लाइसेन्सका लागि आवेदन दिने योजना रहेको छ’, उनले भने, ‘आयोजनाले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए)का लागि पनि नेपाल विद्युत् प्राधिकरणमा आवेदन दिएको छ।’

फुकोट–कर्णाली जलविद्युत् आयोजनाबाट कालिकोटको पचाल झरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाँडाचक्र नगर प्रभावित हुनेछन् । यस आयोजनाको मुख्य बाँध सान्नी त्रिवेणी गाउँपालिका–३ मा हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *