सरकारलाई सत्तारूढ सांसदको प्रश्न : नेपाल अमेरिकी सैनिक कार्यक्रममा जोडिन खोजको हो ?

सैन्य भ्रमणको उद्देश्य र एजेण्डाबारे सदनलाई जानकारी गराउन माग

काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले नेपाल अमेरिकी सैनिक र रणनैतिक कार्यक्रममा जोडिन खोजको हो भनी सरकारलाई प्रश्न गरेका छन् ।

नेपाल र अमेरिकाबीच स्टेट पाटनरसिप प्रोग्रामको सम्झौता हुन लागेको र उक्त सम्झौतामार्फत नेपाल सैनिक र रणनैतिक कार्यक्रमहरूमा जोडिन खोजेको हो कि भन्ने उनको आशंका छ ।

बिहीबार प्रतिनिधिसभाका बजेटको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा भाग लिँदै सत्तारूढ दल माओवादी केन्द्रका सांसद पोखरेलले सरकारसँग नेपाल र अमेरिकाबीच हुन लागेको सैन्य भ्रमणको उदेश्य र एजेण्डाबारे सदनलाई जानकारी गराउन माग गरे । अमेरिकी सेनाका प्यासिफिक कमान्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लिन चार दिने नेपाल भ्रमणमा आउँदैछन् ।

ए फ्लिन भारतीय सेनाका अधिकारीहरूसँग छलफलपछि नेपाल आउन लागेको भन्दै उनले आशंका व्यक्त गरे । केही समयपछि इन्डो प्यासिफिकका प्रमुख जोन लिनोले पनि नेपाल भ्रमण गर्ने तय भएको बताइएको छ ।

त्यसपछि नेपाली सेनाका सेनापतिले अमेरिका भ्रमण गर्ने र लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी भ्रमण गर्ने तय भएको उल्लेख गर्दै सांसद पोखरेलले भ्रमणहरूको उदेश्य र एजेण्डाबारे जानकारी मागेका हुन् ।

‘अमेरिकी सेनाहरूको नेपाल भ्रमण र नेपाली सेनाहरूको अमेरिकी भ्रमणको उदेश्य र एजेण्डाबारे सरकारले सदनलाई जानकारी गराउनु पर्दैन ? अविलम्ब सदनलाई जानकारी गराइयोस् भन्ने माग गर्छु’ उनले भने ।

आफूले अमेरिकी र नेपाली सेना बीच स्टेट पाटनरसिप प्रोग्रामको सम्झौता हुन लागेको सुनेको उल्लेख गर्दै उनले भने, ‘यो स्टेट पाटनरसिप प्रोग्राम भनेको के हो ? यसबारे सरकारको धारणा के छ ? स्टेट पाटनरसिप प्रोग्रामको नाममा सैनिक र रणनैतिक कार्यक्रमहरूमा जोडिन खोजिएको हो ?’

स्टेट पाटनरसिप प्रोग्रामको माध्यमबाट विस्तारै अमेरिकाको इन्डो प्यासिफिक स्ट्याट्रेजीमा नेपाललाई सामेल गराउने विज्ञहरूले उठाइराखेको भन्दै उनले यसबारे सदनलाई स्पष्ट पार्न सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *