गोरखाको गण्डकी गाउँपालिका केन्द्र विवाद, गाउँसभामा कांग्रेस र एमालेको बहिष्कार

पोखरा । गोरखाको गण्डकी गाउँपालिका केन्द्र विवाद झनै चुलिएको छ । अघिल्लो कार्यकालमा जनप्रतिनिधिले एउटा ठाउँ तोकेर भवनको टेण्डर नै निकालिसकेको अवस्थामा अहिलेका नव निर्वाचित पालिका अध्यक्षले पहिलो दिन नै उक्त निर्णय खारेज गरिदिए । यहाँको केन्द्र विवाद पहिले पनि कायम थियो ।

केन्द्र सार्ने प्रस्ताव अहिलेको गाउँसभा बैठकमा पेश गर्न खोजेपछि नेपाली कांग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले सभा नै बहिष्कार गरेका छन् । केन्द्र सार्न संविधानतः २ तिहाइ बहुमत चाहिन्छ । बहुमत नपुगेपछि अध्यक्ष दीपक तिमिल्सीनाले प्रस्ताव फिर्ता गरेका छन् । यहाँ माओवादीको बहुमत छ । यसअघिको कार्यकालमा भने माओवादीले बहिष्कार गर्दै आएको थियो ।

कांग्रेस एमालेले दलभन्ज्याङमा सार्ने अडान राखेका छन् भने माओवादीले बण्टारमा सार्न खोजेको छ । केन्द्र सार्ने प्रस्ताव छलफलमा नगएपछि अध्यक्ष तिमिल्सीनाले सबैको सहमति खोजेका छन् । उनले सामाजिक सञ्जालमा सुझाव मागेका हुन् । यहाँ अध्यक्ष सहित माओवादी बहुमतमा छ भने उपाध्यक्ष सहित कांग्रेस अल्पमतमा छ ।

एमालेबाट वडा नम्बर ४ मा १ मतअन्तरले एकजना वडाध्यक्ष र अर्का एकजना सदस्य विजयी भएका थिए । अध्यक्ष तिमिल्सीनाले छिटै केन्द्रको निर्णय गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *