नेपाली खाद्य उत्पादन प्रवर्द्धनमा जुट्न राष्ट्रपतिद्वारा सम्बद्ध सबैमा आह्वान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली मौलिक खाद्य उत्पादन र संस्कृतिको प्रवर्द्धनमा जुट्न सम्बद्ध सबै पक्षसँग आह्वान गरेकी छन् ।

विश्व मानव समुदायलाई खाद्य चुनौती बढ्दै गएकोतर्फ चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले स्थानीय उत्पादन वृद्धि गर्ने र त्यसको आधुनिक प्रशोधन र प्रयोगमार्फत खाद्य जोखिम कम गर्न सबै पक्षको उत्तिकै जिम्मेवारी रहने बताएकी हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज नेपाली मौलिक पाककलाको क्षेत्रमा आबद्ध अभियानकर्मी, शैक्षिक सङ्घ संस्थाका प्रतिनिधि, खाद्य विशेषज्ञ र सेफ प्रतिनिधिमण्डलसँगको भेटमा उनले सरकारले नेपाली मौलिक परिकारको स्थानीय तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनलाई विशेष प्राथमिकतामा राखेको औँल्याएकी छन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले अहिले युवामा देखिएको पश्चिमा खानपानको संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै नेपाली मौलिक खाद्य पदार्थलाई परिमार्जन र परिष्कृत ढङ्गले प्रयोग गर्न र पस्कने सके त्यसको बजारीकरणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति निवासको आफ्नो भान्सामा समेत विशेषगरी नेपाली मौलिक परिकार नै पाक्ने गरेको भन्दै उनले आफू गाउँमा रहँदा किनेमा, कागुनो तथा ताप्लेजुङका खोलानालामा पाइने तितो स्वाद भएका माछा खाएको स्मरण सुनाइन् ।

सरकारले विद्यालयमा बालबालिका लक्षित दिवा खाजाको व्यवस्था गरेको र त्यसमा नेपाली मौलिक उत्पादनलाई भान्सामा प्रयोग गर्नुपर्नेमा जोड दिएकी छन् । त्यसमा पनि मैदाबाट बन्ने पिज्जाको सट्टा कोदोको पिठो प्रयोग र मकैका विविध परिकार, दूधका परिकार समावेश गर्न सकिने उनले बताइन् ।

नेपालीको चिनारीलाई विश्वमाझ परिचित गर्न नेपाली मौलिक खानाको अहिले विशेष भूमिका रहेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले यस अभियानमा निरन्तर लागि परेका सम्बद्ध सबै पक्षलाई धन्यवाद र आभार प्रकट गरेकी छन् ।

त्यस अवसरमा नेपाल भ्रमणमा रहेका भारतको सिक्किम युनिर्भसिटीका प्राध्यापक ज्योतिप्रकाश तामाङले नेपालको हिमालय क्षेत्रमा पाइने हर्ब्स र स्पाइसेस वैज्ञानिक रूपमै औषधि जत्तिकै महत्वपूर्ण रहेको र सरकारले विज्ञहरू सामेल गरी विशेष योजनाबनाएर अन्तर्राष्ट्रिकरण गर्न सकिने बताए ।

कार्यक्रममा होटल एशोसिएशन अफ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले नेपालीको बसोबास रहेका विश्वका ९० भन्दा बढी देशमा मौलिक खानापानलाई प्रवर्द्धन र प्रचार गर्न आफूहरूले नेप्लीज सेफ र होटल व्यवसायीसँग दिगो योजना बनाएर अघि बढ्ने लक्ष्यका साथ छलफल गरिरहेको बताए ।

नेपाली मौलिक पाककलाको खोजी, अनुसन्धान र प्रवर्द्धनमा काम गर्दै आएको शैक्षिक संस्था आइएचएम कलेजका सिइओ सुराच प्रसाईंले नेपाली खाद्य उत्पादन, मौलिक परिकार र पाककला संस्कृतिमा नेपाली सेफको विशेष भूमिका रहेको औँल्याउँदै आइएम विथ सेफमार्फत त्यस कार्यलाई निरन्तर जोड दिइँदै आएको बताए ।

भोलि बिहीबार काठमाडौँमा आयोजना हुन गइरहेको नेपाली मौलिक परिकार ८४ व्यञ्जनको पूर्वसन्ध्यामा सोबारे राष्ट्रपतिलाई अवगत गराउन पुगेको प्रतिनिधिमण्डलले उनलाई गुन्द्रुक र जिम्बु उपहारस्वरूप हस्तान्तरण गरेको थियो ।

त्यस अवसरमा ८४ व्यञ्जन र १०१ दिने नेपाली खाना खोजी अभियानकर्मी सेफ प्रेमलाल घिसिङले नेपाल भ्रमणमा आउने विदेशी राष्ट्र प्रमुख, सरकार प्रमुख तथा विशिष्ट पाहुनालाई नेपाली ८४ व्यञ्जन तथा नेपाली मौलिक परिकारले स्वागत गर्नुपर्ने र सरकारले समेत त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *