दाङको गणेशपुर पार्कमा बुद्धको मूर्ति हेर्न पर्यटकको घुइँचो

काठमाडौँ । दाङको तुलसीपुर–७ गणेशपुरस्थित राप्ती शान्ति उद्यानमा दिनहुँजस्तो भीडभाड हुन्छ । टिकटक बनाउनेहरूका कारण होस् या अवलोकन गर्नेहरूका कारण दैनिकजसो यहाँको पार्क भरिभराउ हुन्छ ।

गेटबाट प्रवेश गरेलगत्तै देखिने शान्तिका अग्रदुत गौतम बुद्धको मूर्ति हेर्न पनि उत्तिकै घुइँचो लाग्ने गर्छ भने त्यहाँको वनजङ्गलसहितको सुन्दर वातावरणमा रमाउन पनि पर्यटक त्यहाँ पुग्ने गर्छन । “एउटा त यो ठाउँ आफैँ पनि सुन्दर छ, किनभने सामुदायिक वनमा यो पार्क छ,” पार्कका अध्यक्ष डिल्ली भण्डारीले भने, “त्यसमा पनि हामीले गौतम बुद्धको मूर्ति निर्माण गरेपछि झनै पर्यटकहरू बढेका छन् ।”

उनका अनुसार दैनिक चारदेखि पाँचसयसम्म पर्यटकले यो क्षेत्र अवलोकन गर्ने गरेका छन् । विद्यार्थीलाई प्रवेशमा ५० प्रतिशत छुट छ भने अपाङ्गता भएका व्यक्ति, असहाय, ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको छ । त्योबाहेक अन्यले रु. ३० को टिकट काट्नु पर्छ ।

भित्र प्रवेश गरेलगत्तै गेटबाटै देखिने गौतमबुद्धको मूर्तिसहित सयपत्री फूलले पर्यटकलाई स्वागत गरिरहेका हुन्छन् । अलि भित्र पस्दा पानीको फोहोरा, कृत्रिम पहाडबाट बगिरहेको झरना, चिडियाखानामा राखिएका चितुवा, बाँदर, उल्लु, खरायोका बच्चा लगायतका जनवारसँग पनि पर्यटकहरू उत्तिकै रम्ने गरेका देखिन्छन् । त्यहाँ रहेको चिल्ड्रेन पार्कमा पनि मानिसहरू उत्तिकै झुम्मिएका देखिन्छन् । चिल्ड्रेन पार्क सञ्चालनका लागि अर्को संस्थालाई भाडामा दिइएको छ । त्यहाँ पिङ, पौडीदेखि बच्चाहरूले खेल्ने हरेक सामग्रीहरू राखिएका छन् ।

बाहिरबाट दाङमा काम विशेषले आएकाहरू पनि गणेशपुर पार्कको अवलोकन नगरी फर्किँदैनन् । बाँके राप्ती सोनारी निवासी सपना चौधरी भन्छिन्, “म पहिले पनि यो पार्क हेर्न आएकी थिएँ, दिदीको घर आउँदा यो पार्कमा सधैँ  आउने गर्छु। यहाँ घुम्दा आनन्द आउने भएकाले पनि म यहाँ आउँछु ।”

पार्कमा जिल्लाबाहिर बाँके, बर्दिया, सल्यान, रुकुम, रोल्पाबाट समेत घुम्न आउनेहरूको सङ्ख्या पनि बढ्दो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *