मोदीको भ्रमणपछि लुम्बिनीमा भित्रिए १३ हजार भारतीय पर्यटक

काठमाडाैँ । कोभिडले शून्य अवस्थामा पुर्‍याएको लुम्बिनीको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदै गएको छ । पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ भएको लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण गरेसँगै भारतीय पर्यटकहरूको गन्तव्य पनि लुम्बिनी बन्दै गएको छ । यही २ जेठमा मोदी बुद्ध जयन्तीको अवसरमा लुम्बिनी आएका थिए । त्यसयता मात्र लुम्बिनी आएर झण्डै १३ हजार अर्थात् १२ हजार ७ सय ७० भारतीय पर्यटकले मायादेवी मन्दिर दर्शन गरेका छन् ।

भारतीय पर्यटक मात्र होइन आन्तरिक र तेस्रो मुलुकका पर्यटकको ग्राफ पनि बढेको छ । लुम्बिनी विकास कोषले दिएको तथ्याङ्कअनुसार मे महिना (१८ वैशाखदेखि १७ जेठसम्म) मा मात्र ७ सय ८२ जना पर्यटक विभिन्न ५१ वटा तेस्रो मुलुकबाट र ८६ हजार २ सय ४६ जना आन्तरिक पर्यटकले मायादेवी मन्दिरको दर्शन गरेका छन् ।

कोभिडको जोखिम कम हुँदै गएपछि विस्तारै पर्यटन व्यवसाय चलायमान जाँदा पर्यटकको चहलपहल बढ्न थालेको हो । सोही कारण पछिल्लो पाँच महिना अर्थात् २०२२ को मे महिनासम्म ६९ हजार ७ सय ७५ भारतीय पर्यटक लुम्बिनी आए । भारतीयसँगै तेस्रो मुलुकका पर्यटकको आगमन पनि बढ्दो पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *