मनिपाल अस्पतालमा कर्मचारीले थाले धर्ना

पोखरा । पोखराको मनिपाल शिक्षण अस्पतालमा कर्मचारीले नै आन्दोलन सुरु गरेका छन् । अस्पताल प्रशासनले कर्मचारीमाथि अमानवीय व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले धर्ना थालेका हुन् ।

कानूनी व्यवस्था अनुसार सेवा सुविधा नदिएको र सरकारी निकायले गरेको निर्देशन समेत नमानेको उनीहरूको गुनासो छ । शिक्षण बाहेकका साढे ४ सय कर्मचारी अस्पताल परिसरमा धर्ना बसेका स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष अमृत पौडेलले जानकारी दिए । उनका अनुसार सबै कर्मचारीहरू पालो गरेर धर्ना कार्यक्रममा सहभागी भएका छन् ।

भारतीय लगानीकर्ताको लगानीमा सञ्चालित यो अस्पतालमा कर्मचारी भने बढी नेपाली छन् । विशेषगरी नेपाली कर्मचारीमाथि अस्पतालले ज्यादती गरेको आरोप कर्मचारीहरूको छ ।

प्रशासनले पटक पटक सम्झौता गर्ने तर कार्यान्वयन नगरेका कारण दबाब स्वरूप आन्दोलन गरिएको पौडेलको भनाई छ । ‘सुत्केरी र किरिया बिदा समेत नदिएर कर्मचारीमाथि अमानवीय व्यवहार गरिएको छ । न कर्मचारीले तह अनुसारको तलब सुविधा पाएका छन्,’ उनले भने, ‘उपदानमा समेत निकै घटाइएको छ । श्रम ऐन यहाँ लागू भएकै छैन ।’

सुत्केरी, किरिया बिदा लगायत अति सामान्य बिदा समेत नदिएको, अवधि पुगेका कर्मचारीलाई उपदान नदिइएको, वर्षौँसम्म करारमा रहेका कर्मचारीलाई स्थायी नगरिएको लगायत समस्या रहेको कर्मचारीहरूले बताए । अस्पतालमा आउने बिरामीलाई असर नपर्ने गरी संघर्ष सुरु गरिएको कर्मचारीहरूले बताएका छन् ।

उनीहरूले यसअघि नै संस्था प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिदिएका थिए । मनिपालमा कर्मचारी र प्रशासनबीचको यो समस्या धेरै पुरानो भैसकेको छ । धेरै पटक जिल्ला प्रशासन कार्यालय र श्रम मन्त्रालयकै उपस्थितिमा सम्झौता हुन्छ, तर कार्यान्वयन कहिल्यै भएको छैन ।

केही समयअघि मनिपाल नेपाली लगानीकर्ताले खरिद गर्ने तयारी गरेका थिए । चौतर्फी विरोधपछि अहिलेलाई खरिद प्रक्रिया रोकिएको छ । अस्पताल प्रशासनले भने नियमानुसार पाउने सुविधामा आफूहरूले कन्जुस्याइँ नगरेको बताउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =