गैरसांसद कुँवर पनि मन्त्री बन्दै

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर पनि मन्त्री बन्ने भएका छन् । उनकाे नाम एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिससमेत गरिसकेका छन् । पार्टीले उनलाई श्रम तथा राेजगार मन्त्रालयकाे जिम्मेवारी दिएकाे छ । याे मन्त्रालय यसअघि एकीकृत समाजवादीकै कृष्णकुमार श्रेष्ठले हेर्दै आएका थिए ।
कुँवर कुनै पनि संघीय संसद्काे सदस्य छैनन् । नेपालकाे संविधानले कुनै पनि संघीय संसद्काे सदस्य नभएकाे नेता बढीमा ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था गरेकाे छ । संविधानको धारा ७८ मा संघीय संसद्को सदस्य नभएको व्यक्ति मन्त्री हुने व्यवस्था छ । ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै पनि व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ । मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्यता प्राप्त गर्नुपर्छ ।’
उक्त अवधिभित्र सांसद बन्न नसकेमा तत्काल कायम रहेको प्रतिनिधिसभाको कार्यकालभर ती व्यक्ति पुनः मन्त्रीमा नियुक्त हुन अयोग्य हुने संविधानमा व्यवस्था छ । याे व्यवस्थाअनुसार कुँवर बढीमा ६ महिना मात्रै मन्त्री पदमा बहाल रहन पाउँछन् । उनी यसअघि राष्ट्रिय सभा सदस्य थिए । उनले गत फागुनमा राष्ट्रिय सभाको चार वर्षे कार्यकाल पूरा गरेका थिए ।
देउवा नेतृत्वकाे मन्त्रिपरिषद्मा रहेका कानूनमन्त्री गाेविन्द बन्दी पनि कुनै पनि संघीय संसद्काे सदस्य छैनन् । अब कुँवर थपिएसँगै देउवा नेतृत्वकाे मन्त्रिपरिषद्मा २ जना गैरसांसद मन्त्री हुने भएका छन् ।
यसबाहेक एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाउने भएकाे छ भने मेटमणि चौधरीले सहरी विकास मन्त्रालयकाे जिम्मेवारी पाएका छन् । यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई फिर्ता बोलाएर राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङलाई बढुवा गरिएको छ । राज्यस्वास्थ्यमन्त्रीमा भने हिरा केसीलाई सिफारिस गरिएकाे छ ।
संघीय संसद् राष्ट्रिय सभामा एकीकृत समाजवादीका ८ सांसद् छन् । त्यस्तै, प्रतिनिधिसभामा २३ सांसद रहेका छन् ।








