हावाहुरीका कारण ऐतिहासिक गलकोट कोतघरमा क्षति

काठमाडौँ । केही दिनअघि चलेको हावाहुरीका कारण बागलुङको गलकोट नगरपालिका–३ स्थित ऐतिहासिक गलकोट कोतघरमा क्षति पुगेको छ ।

हावाहुरीका कारण रूख ढल्दा कोतघरको गारो र छानो भत्किएको हो । कोतघर पूजा व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर खत्रीका अनुसार सल्लाको हाँगाले कोतघरको दक्षिणपट्टिको भागमा क्षति पुगेको हो । “सिङ्गै रूख कोतघरमाथि परेका भए झन् ठूलो क्षति निम्तने थियो”, उनले भने । चौबिसे राज्यका पालाको उक्त कोतघर रुग्ण अवस्थामा छ । विसं २०४० तिर पुनःनिर्माण गरिए पनि फेरि जीर्णोद्धार गर्नुपर्ने स्थिति छ ।

“यसै त कोतघर धेरै पुरानो भइसक्यो, भूकम्पले पनि चर्काएको थियो”, अध्यक्ष खत्रीले भने, “संरचना कमजोर भइसकेकाले सामान्य मर्मतसम्भारले मात्र हुँदैन, पुनःनिर्माण नै गर्नुपर्छ ।” उनले बर्सातका बेला कोतघरमा थप क्षति हुन नदिन बाहिरी सुरक्षा र सामान्य मर्मतको काम थालिएको बताए । अध्यक्ष खत्रीले कोतघरका लागि दीर्घकालीन संरक्षण योजना चाहिएको उल्लेख गरेका छन् ।

वडा नं ३ का अध्यक्ष फमबहादुर खत्रीले कोतघरको पुनःनिर्माणका लागि नगरमार्फत् गण्डकी प्रदेशको पर्यटन तथा संस्कृति मन्त्रालय र सङ्घ सरकारसँग सहयोग माग गरिएको बताए । ऐतिहासिक र पुरातात्विक महत्त्वको भएकाले कोतघरको पुनःनिर्माण त्यसैअनुसार गर्नुपर्ने उनको भनाइ छ । यसअघि पनि नगरकै लगानीमा कोतघर संरक्षण योजनाले गति लिएको भन्दै वडाध्यक्ष खत्रीले अहिले पनि त्यसलाई प्राथमिकतामा राखिने बताए । आर्थिक  वर्ष २०७६-०७७ मा कोतघरलाई नगर गौरवको योजनामा समेटेर संरक्षण र विकासको काम थालिएको थियो ।

कोतघरलाई आकर्षक सम्पदास्थलका रूपमा चिनाउने लक्ष्यसहित नगरपालिका संरक्षणमा जुटेको हो । नगरपालिकाको पहलमा कोतघरको मर्मतसम्भार, हातहतियार प्रतिस्थापन, घेराबार, पदमार्ग, खानेपानी, शौचालयलगायत संरचना बनेका छन् । कोतघरको बृहत् जीर्णोद्धारका लागि नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि तयार पारेको छ ।

नगरप्रमुख भरत शर्मा गैरेले कोतघरलाई ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने गरी पूर्वाधार बनाइने बताए । उनले हटिया बजार (मध्यपहाडी पुष्पलाल लोकमार्ग)देखि कोतघर जोड्ने पहुँच मार्ग कालोपत्रका लागि पनि डिपिआर बनेको उल्लेख गरेका छन् । जीर्णोद्धार या पुनःनिर्माण गर्दा कोतघरको ऐतिहासिकता र मौलिकता जोगाइने नगरप्रमुख गैरेको भनाइ छ । उक्त कोतघरबाट विसं १६३१ देखि १८४४ सम्म मल्ल राजाले स्वतन्त्र राज्य चलाएका थिए । गलकोट राज्यका पहिला राजा जितारी मल्लले कोतघर बनाएको इतिहासमा उल्लेख छ ।

राजाले त्यहाँ दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाल आदि निर्माण गरेका थिए । कोतघरले झण्डै सात रोपनी जग्गा चर्चेको छ । कोतघरसँगै इष्टदेवी र भगवतीको मन्दिर पनि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *