तियानमेन नरसंहारको ३३ वर्ष : समृद्ध चीनको कलंक

आज जुन ३ अर्थात् आधुनिक चीन निर्माणका क्रममा तत्कालीन चिनियाँ शासकले राजनीतिक स्वतन्त्रता र मानव अधिकारको माग राख्दै शान्तिपूर्ण प्रदर्शन गरिरहेका आफ्ना नागरिकको आम नरसंहार गरेको दिन ।

जुन नरसंहारमा परेर दशौंहजार चिनियाँ स्वतन्त्रता प्रेमी विद्यार्थी, अभियन्ता र राजनीतिज्ञ मारिएका थिए । यो घटनालाई चीनको कम्युनिष्ट सरकारले सधैं, आधुनिक चीन निमार्णमा तत्कालीन सरकारले चालेको कठोर आवश्यकता थियो भन्दै आएको छ । जुन घटनाले चीनको आधुनिकीकरण प्रभावित गरेको छ र यसले कम्युनिष्ट पार्टीको छविमा धब्बा लगाएको छ । अनि लोकतन्त्र तथा मानवअधिकारको पक्षमा उभिनेहरू भनिरहेका छन्, यो घटना चीनका क्रुर शासकद्वारा इतिहास कब्जा गर्न लोकतन्त्रविरुद्ध भएको निर्मम नरसंहार हो ।

सन् १९८९ को जुन ३ र ४ मा प्रदर्शनकारीमाथि चरम दमन भएको थियो, त्यही घटनाको स्मरणमा चीनमा कसैले कुनै कार्यक्रम गर्न पाउंँदैन । सामाजिक सञ्जालमा केही कुरा राखेमा सरकारले कारबाही गर्छ । यो घटनाका विषयमा व्यक्त हुनसक्ने आक्रोश र विरोधको अनुगमन गर्न सरकारले १० हजारभन्दा बढी मानिसलाई खटाइरहेको हुन्छ । कसैले यो घटनालाई लिएर कुनै कार्यक्रम गरे उसलाई साढे तीन वर्षसम्म जेल सजाय गर्ने प्रावधान राखिएको छ ।

यही नरसंहार अघि लोकतन्त्रको पक्षमा आन्दोलन गरेका लुन झाङ त्यो समय युवा थिए र आफूले चीनको जागरणमा सहभागी भइरहेको महसुस गरेको उनी सम्झन्छन्– बीबीसी हिन्दीले यो नरसंहारका बारेमा लेखेको छ । यही नरसंहारका आधारमा लुन झाङले ग्राफिक उपन्यास लेखेका छन् । जसमा उनले त्यहाँका लोकतन्त्रका पक्षधरमाथि प्रहरी र चिनियाँ अधिकारीहरू गरेको क्रुरतापूर्ण जंगली व्यवहारको चित्रण गरेका छन्– बीबीसीले लेखेको छ ।

बेइजिङको तियानमेन स्क्वायरमा भएको ठूलो प्रदर्शन रोक्न सुरक्षाबलले गोली प्रहार गरेको थियो । झाङ त्यसबेला ग्रामीण क्षेत्रको विद्रोहमा सहभागी थिए । अप्रिल महिनामा सुरु भएको सो आन्दोलन जुन ३ र ४ तारेखको बीचमा बेइजिङ नरसंहारमा परिणत भएर अन्त्य भएको थियो । जुन विषयको समाचार संकलनमा समेत तत्कालीन चीन सरकारले प्रतिवन्ध लगाएको थियो । झाङ यो नरसंहारपछि हङकङ हुँदै फ्रान्स पुगेका भुक्तभोगी नागरिक हुन् । जसले कम्युनिष्ट पार्टीको तानाशाही व्यवस्था समाप्तिको माग गरेका थिए ।

के हो नरसंहारको पृष्ठभूमि

सन् १९८९ को जुनमा चीनको तियानमेन चोकमा भएको एउटा रक्तपातपूर्ण राजनीतिक नरसंहारमा कति मानिस मारिएका थिए भन्ने अझै खुलेको छैन । जसलाई दशककै सबैभन्दा ठूलो क्रुर दमनको महिनाका रूपमा विश्वले स्मरण गर्दै आएको छ । त्यो दिन राजनीतिक सुधारको मागसहित बेइजिङको तियानमेन स्क्वायरमा भेला भएर विरोध प्रदर्शन गरिरहेका हजारौं चिनियाँ विद्यार्थीमाथि सैनिक ट्याङ्क कुदाइएको थियो । तियान–आनमेन स्क्वायरमा रगतको भेल बगेको थियो ।

३ दशक यता अमेरिका लगायत पश्चिमा मुलुकले तियान–आनमेन स्क्वायरमा भएको यो नरसंहारलाई लिएर चीनका विरुद्ध अन्तर्राष्ट्रिय मानवअधिकार मञ्चमा प्रश्न उठाइरहेका छन् । बेइजिङले भन आजसम्म वास्तविक तथ्याङक सार्वजनिक गरेको छैन । चीन सरकारले एकतर्फी रूपमा, सन् २०१७ मा सार्वजनिक गरेको केही दस्तावेजलाई आधार मान्ने हो भने उक्त दमनमा एकै रातमा १० हजारभन्दा बढी चिनियाँ नागरिक मारिएका थिए । कैयौं अङ्गभङ्ग भएका थिए ।

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूको दाबी छ– उक्त आम नरसंहारपछि पनि कैयौं वर्षसम्म राजनीतिक सुधारको माग राख्नेहरूलाई सेनाले खोजी खोजी मारेको थियो । त्यसैले अहिले पनि अन्तर्राष्ट्रिय समुदायले चीनद्वारा सार्वजनिक सन् २०१७ को तथ्याङ्कलाई मिथ्या भनिरहेका छन् ।

घटनाको पृष्ठभूमि

तियानमेन स्क्वायरको नरसंहारको पृष्ठभूमि सन् १९८० को दशकमा जोडिन्छ । त्यसवेला कम्युनिष्ट शासन भएका देशमा विरोध प्रदर्शनको लहर चलेको थियो । प्रदर्शनकारीको एउटै माग थियो– ‘शासकीय सुधार र राजनीतिक परिवर्तन’ ।

त्यसवेला चीन ‘आर्थिक, सांस्कृतिक जागरण’ को प्रारम्भिक चरणमा थियो । आफ्नै रफ्तारमा अघि बढ्न खोजिरहेको बेला चीनमा भित्रिएको ‘शासकीय सुधार र राजनीतिक परिवर्तन’ को आन्दोलनले आधार लिन थालेपछि तत्कालीन सत्ताले अन्तिम विकल्पका रूपमा सेना परिचालन गरेर आन्दोलन दबाएको थियो ।

त्यसवेला हजारौं विद्यार्थीहरू तियानमेन स्क्वायरमा भेला भएर प्रजातान्त्रिक सुधारसहितको व्यवस्था माग गर्दै महिनौसम्म चरणवद्ध विरोधका कार्यक्रमहरू गरिरहेका थिए । युवा पुस्तामा आन्दोलनले आशाको तरङ्ग उत्पन्न गराइरहेको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीले प्रजातन्त्र र स्वतन्त्रताको आन्दोलन प्रजातान्त्रिक मुलुकबाट भित्रिएको भन्दै आन्दोलनकारीको आवाजलाई निरन्तर दबाइरह्यो । यही त्रास र दमनको माहोलमा हजारौं विद्यार्थी तथा अभियन्तालाई तियानमेन स्क्वायरमा सेनाको ट्यांकर चलाएर मारिएको थियो ।

महिनौंसम्म लम्बिएको प्रदर्शनलाई त्यसवेला मत्थर बनाउने प्रयास नगरिएको होइन तर प्रदर्शन झन् प्रभावकारी र बृहत् बन्न थालेपछि अन्ततस् जुन ३ को मध्यरातमा बेइजिङको तियानमेनमा सैनिक ट्याङ्क दौडिन थाले । बिहानसम्म सैनिक ट्याङ्कले कति प्रर्दशनकारीको ज्यान लियो भन्ने विषय कसैलाई थाहा छैन । किनभने यो इतिहासकै व्यापक दमन थियो र यो दमनको विरोध गर्ने थुप्रै नेता जेल मै मारिएका थिए ।

त्यसपछि चीनमा प्रजातन्त्र र राजनीतिक सुधारको चाहना राख्ने नागरिकका सपना निषेध गरिएझैं भए । चीनले आफ्ना नागरिकको मुखबाट यो घटनाको विषयमा सुन्न, बोल्न निषेध गर्‍यो । त्यसैले अहिले पनि चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको सरकार, त्यस घटनाबारे केही कुरा सुन्न चाहँदैन । देशमा एकखालको निषेधको राजनीति निरन्तर चलिरहेको छ ।

विश्व समुदायलाई समेत चीनले यो ३ दशक पुरानो घटना बारे प्रश्न नउठाउन चेतावनी दिंदै आएको छ तर पश्चिमा मुलुकले बेइजिङसँग वास्तविक विवरण सार्वजनिक गर्न दबाब दिइरहेका छन् । बेइजिङ भने एउटै जवाफ दिन्छ– यो दुखद् घटना, चीनको आन्तरिक राजनीतिक मामिला हो । त्यसैले यो नरसंहारको स्मरणमा हुने कार्यक्रममा समेत चीन सरकारले दमन गर्दै आएको छ ।

आधुनिक चीन निमार्णमा लागेका कम्युनिष्ट नेताहरूको तर्क सुनिन्छ– तियानमेन नरसंहार आधुनिक चीन निमार्णमा तत्कालीन सरकारले चालेको कठोर आवश्यकता हो । चिनियाँ नेताहरूले अहिलेको पुस्तालाई यही पाठ पढाइ रहेका छन् । यो घटनाले चीनको आधुनिकीकरण प्रभावित गरेको छ र यसले कम्युनिष्ट पार्टीको छविमा धब्बा लगाएको छ ।

हु याओ वाङले जगाएको सपना

तियान आनमेन नरसंहारको पृष्ठभूमि हेर्दा, कम्युनिष्ट पार्टी अफ चाइना सीपीसीका भूतपूर्व महासचिव हु याओ–वाङको ७३ वर्षको उमेरमा मुटु रोगका कारण निधन भयो । उनी सुधारवादी नेताका रूपमा लोकप्रिय थिए ।

उनको निधनपछि, थुप्रै कलेजका विद्यार्थी शोक व्यक्त गर्न तियानमेन स्क्वायरमा भेला हुन्छन् । उनीहरू महासचिव हु याओ–वाङले भनेजस्तै चीनमा सुधारको माग गर्न थाल्छन् । किनभने महासचिव हु याओ–वाङ चीनमा राजनीतिक स्वतन्त्रताको पक्षपाती थिए । त्यही सहानुभूतिमा तियानमेन स्क्वायरमा भेला भएका विद्यार्थी र अभियन्ताहरूको संख्या विस्तारै बढ्न थाल्छ । हु याओ वाङले कम्युनिष्ट पार्टीभित्र सुधारवादी नेताको छवी बनाए कै कारण उदारवादी बुद्धिजीवी र विद्यार्थीहरू माझ उनी लोकप्रिय थिए । जसको शंकास्पद निधन नै तियानमेन स्क्वायरको नरसंहारको कारण बन्न पुग्यो । जसले सुधारवादी विचार अघि सारेकै कारण सन् १९८७ मा पार्टी महासचिवबाट राजीनामा दिनु परेको थियो ।

पार्टी महासचिवबाट राजीनामा दिएपछि विद्यार्थीहरूले सुरुमा हु याओ वाङको राजीनामा बारे पुनस्समीक्षा गर्न सरकार समक्ष माग गरिरहेका थिए । संशय कै बीचमा सुधारवादी नेता बाङको निधन भयो । उनको निधनपछि सन् १९८९ को एप्रिल १७ मा राजधानी बेइजिङमा विस्तारै प्रदर्शनकारी भेला हुन थाले । यो संख्या हजारौंमा पुगेपछि, पेकिङ विश्वविद्यालय र रेन्मिन विश्वविद्यालयका विद्यार्थीले ग्रेट हल अफ द पीपल अगाडि समेत आन्दोलन सुरु गरे ।

हु याओ वाङको राजीनामा बारे पुनस्समीक्षा गर्न सरकार समक्ष माग गर्दैआएका युवा विद्यार्थीले उनको निधनपछि धर्नामा–प्रजातान्त्रिक सुधारको गतिलाई तीव्रता दिन माग गरे । सरकारसमक्ष आवश्यक निवेदन दर्ता गर्ने आवाज उठ्यो । जसमा अधिकांश सुधारवादी नेता र विद्यार्थीको साथ थियो । परिणाम विरोधप्रदर्शन देशका अन्य सहरमा फैलिन पुग्यो ।

अप्रिल २२ का दिन सरकारले राजधानी बेइजिङ नजिकै हु याओ बाङको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्‍यो । यही शोक र आक्रोशमा भड्किएका युवा विद्यार्थीले तियानमेन स्क्वायरमा रहेको छेकबार भत्काइदिए ।

आन्दोलनमा युवा विद्यार्थी र सुधारवादीको साथ जोडिँदै गएपछि आन्दोलनकारीले केन्द्रीय सरकारी मुख्यालयको मुख्य प्रवेशद्वार अगाडि धर्ना दिन थाले । जसमा हजारौं सुधारवादी युवा विद्यार्थी सहभागी थिए । सरकारले आन्दोलनकारीलाई पछि हट्न र अवरोध सिर्जना नगर्न आह्वान गरिरहेको थियो ।

सुधारवादी कार्यक्रम तत्काल घोषणा गर्न माग गर्दै आन्दोलनकारीले तत्कालीन प्रधानमन्त्री ली पेङसँग भेट गर्न प्रस्ताव गरे तर उनीहरूको माग सुनुवाई भएन । प्रधानमन्त्रीलाई भेटेर आफ्नो माग पत्र बुझाउने प्रयत्न असफल भएपछि, शिआन र चाङ्शा शहरसम्म विरोध प्रदर्शन फैलियो । सरकारले आन्दोलन दबाउन सुरक्षाकर्मी परिचालन गर्न थालेपछि, शान्तिपूर्ण आन्दोलन दङ्गामा परिणत हुनथाल्यो ।

देशभरबाट विद्यार्थीहरू आन्दोलनमा जोडिन थालेपछि १९८९ को अप्रिल २३ का दिन विद्यार्थीहरूले संयुक्त युनियन स्थापनाको घोषणा गरे । सार्वजनिक विवरण अनुसार, बेइजिङमा रहेका २० वटाभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले अस्थायी विद्यार्थी युनियन स्थापना अभियान थालेपछि सरकारले समाचार स्वतन्त्रता माथि समेत अंकुश लगाउन थालेको थियो । अनि स्वतन्त्रता र राजनीतिक सुधारको माग गर्दै आएका विद्यार्थीले– प्रेस स्वतन्त्रताको माग जोडेर राजधानी बेइजिङ आसपासको शहरमा अनिश्चितकालीन हड्ताल घोषणा गरे ।

पीपल्स डेलीको विशेष सम्पादकीय

सुधारवादी विद्यार्थीको आन्दोलन नियन्त्रण बाहिर जान थालेपछि, अप्रिल २६ को अंकमा पहिलो पटक सरकारी मुखपत्र पीपल्स डेलीमा आन्दोलन सम्बन्धी विशेष सम्पादकीय छापियो । सरकारी समाचारपत्रले भद्रगोलविरुद्ध स्पष्ट अडानको आवश्यकता शीर्षकमा सम्पादकीय छापेपछि सरकार आन्दोलन दवाउने बाटोमा गएको प्रष्ट भइसकेको थियो । जसमा लेखिएको थियो– निहित स्वार्थ भएका थोरै मानिसले आम विद्यार्थीलाई प्रयोग गरेर भद्रगोल मच्चाउन खोजेका छन् ।

भद्रगोल र नियोजित षड्यन्त्रको उपज विद्यार्थी आन्दोलन नियन्त्रणमा लिनुपर्छ भन्ने सन्देश पत्रिकामा छापिएपछि–प्रदर्शनकारीको आक्रोश बढ्दै गयो । आन्दोलनमा जनसहभागिता बढ्न थाल्यो । १० दिनदेखि निरन्तर चलिरहेको विद्यार्थी आन्दोलन दबाउने सरकारी आशय पोखिएपछि, अप्रिल २७ का दिन विद्यार्थीले सरकारसँग वार्ताको प्रस्ताव गरे तर सरकारले वार्ता प्रस्ताव अस्वीकार गरिदियो ।

लगत्तै विभिन्न विश्वविद्यालयका विद्यार्थीहरू सडकमा ओर्लिए । अस्थायी विद्यार्थी युनियनको पुनर्संरचना गरियो । त्यसको नेतृत्व वुअरकाइ शीले गरे र बेइजिङ स्वायत्त विद्यार्थी महासङ्घको नाममा आन्दोलन उत्कर्षमा पुग्यो । तीनवटा माग र सात वटा वार्ताको प्रस्ताव गर्दै विद्यार्थी युनियनले सरकारसामु खुला रूपमा वैध संस्थाको मान्यता दिन र पीपल्स डेलीमा अप्रिल २६ मा छापिएको सम्पादकीय पूर्ण रूपमा फिर्ता लिन माग गरे ।

लगत्तै, युआन मु, स्टेट काउन्सिलका तत्कालीन प्रवक्ता र अन्य केही सरकारी अधिकारीले बेइजिङका १६ विश्वविद्यालयका ४५ जना विद्यार्थीसँग खुला वार्ता गरे । युनियनका नेता वाङ डान र वुअरकाइ शीले वार्ता अस्वीकार गरेपछि आन्दोलन अझै चर्कियो । आन्दोलन चर्केको झण्डै एक महिनापछि चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवले विद्यार्थी आन्दोलन रोक्न आग्रह गर्दै मेलमिलापपूर्ण सम्बोधन गरे तर मे ३ सम्म आइपुग्दा आन्दोलनले नियन्त्रण गुमाइसकेको थियो ।

मे ४ का दिन, सीपीसीका तत्कालीन महासचिव तथा उदारपन्थी सुधारवादीका रूपमा परिचित झाओ झि–याङले विद्यार्थीहरूसँगको वार्ताका लागि जोड दिए । उनले विद्यार्थीहरूप्रति सहानुभूति व्यक्त गर्दै दुईवटा भाषण गरेका थिए । सम्बोधनका क्रममा उनले भ्रष्टाचारका सन्दर्भमा विद्यार्थीले उठाएको आवाज युक्तिसङ्गत रहेको स्वीकार गरेका थिए ।

विद्यार्थी युनियनको आन्दोलन कै परिणामले मे ४ का दिन विभिन्न क्याम्पसका विद्यार्थीले नयाँ मे ४ घोषणापत्र जारी गर्ने तयारी थाले । फलस्वरूप पूरै विद्यार्थी आन्दोलन बेइजिङको तियानमेन स्क्वायरतर्फ केन्द्रित भयो । जुलुसका सहभागीले एक दलीय कम्युनिष्ट शासन व्यवस्थाको विरोध गर्दै प्रजातान्त्रिक अभ्यासको माग गर्न थालिसकेका थिए ।

आन्दोलनको राप, बेइजिङबाट सांघाइ, नान्जिङ र ग्वाङ्झाउसम्म फैलिएको थियो । विद्यार्थीहरू निरन्तर सडकमा ओर्लन थालेपछि सरकारले पुनस् विद्यार्थीहरूसँग वार्ताको प्रस्ताव ल्याएको थियो तर आन्दोलन रोकिएन । उल्टै विद्यार्थी नेताहरूले प्रदर्शन अरु उचाइमा पुर्‍याउन र थप कडा कदम चाल्न आह्वान गरे ।

बेइजिङमा मिखाइल गोर्वाचोभको अपमान

सोभियत संघका तत्कालीन नेता मिखाइल गोर्बाचोभको चीन भ्रमण तालिका तय भएपछि विद्यार्थीहरूले मे १३ बाट सरकार बिरुद्ध भोक हड्ताल थालेका थिए । विद्यार्थी नेता चाइ लिङ्‍को नेतृत्वमा सयौं विद्यार्थीले गोर्वाचोभ, चीन आउनु दुई दिनअघि तियानमेन स्क्वायरमा थालेको अनिश्चितकालीन भोक हड्तालले सरकार बिरोधी आन्दोलनलाई अन्तराष्ट्रियकरण गरिदियो । त्यसबेला गोर्भाचोभको चीन भ्रमण महत्वपूर्ण थियो र विश्वका अधिकांश सञ्चारकर्मी बेईजिङ पुगेका थिए । जसले यो आन्दोलनलाई महत्वका साथ प्रसारण गरे ।

सिनो–सोभियत विभाजनपछि मिखाइल गोर्बाचोभ पहिलो पटक शिखरवार्ताका लागि बेइजिङ आउँदै थिए । उनको भ्रमणको उद्देश्य दुई देशबीच तीन दशकदेखि रहेको शत्रुता अन्त्य गर्नु थियो । तियानमेन स्क्वायर विद्यार्थीहरूको कब्जामा भएकाले सरकारद्वारा उनलाई मे १५ का दिन, बेइजिङ विमानस्थलमा स्वागत गरियो । शक्तिमा भएका नेताहरूका लागि यो निकै लज्जास्पद विषय मानिन्थ्यो । त्यसैले गोर्भाचोभलाई लज्जास्पद रूपले स्वागत गरेकै कारण सोभियत संघसँगको सम्बन्ध सुध्रिने आधार अरु कमजोर बन्यो ।

आन्दोलनकारीले यो बीचमा प्रजातान्त्रिक अधिकारको माग गर्न थालिसकेका थिए । थप आन्दोलन हुन नदिन मिखाइल गोर्वाचोभ फर्किए लगत्तै मे १८ का दिन कट्टरपन्थी मानिने तत्कालीन प्रधानमन्त्री ली पेङले, वाङ दान, वुएरकाइ शी र अन्य विद्यार्थी प्रतिनिधिसँग ग्रेट हल अफ द पीपल्समा छलफल गरे । जुन छलफल, तत्काल आमरण अनसन भङ्ग गर्न र तियानमेन स्क्वायर खाली गर्ने दुई एजेण्डामा केन्द्रित थियो ।

विद्यार्थीहरूले सरकारलाई पीपल्स डेलीको सम्पादकीय सच्याउन र उनीहरूको आन्दोलनलाई ‘प्रजातान्त्रिक राष्ट्रवादी अभियान’ मान्न प्रस्ताव गरे । सरकारले यो माग सुन्न चाहेन र वार्ता भंग भयो । मे १९ मा सुधारवादी नेता झाओ झियाङ र विद्यार्थी नेतृत्वका बीचमा छलफल भयो । झाओ झियाङले विद्यार्थीहरूलाई पार्टी तथा सरकारले प्रतिशोध नलिने वचन दिँदै आमरण अनशन त्याग्न आग्रह गरेका थिए । विद्यार्थीले भने त्यो पनि अस्वीकार गरे ।

वार्ता असफल भएपछि झाओ झियाङले भनेका थिए– हामी धेरै ढिला भइसकेका छौं तर पनि तपाईहरूको माग प्रति म सकारात्मक छु । यसरी विद्यार्थी आन्दोलनको पक्षमा सकारात्मक सम्बोधन गरेपछि झाओ त्यसपछि कहिल्यै पनि सार्वजनिक कार्यक्रममा देखिएनन् । सायद उनको हत्या भयो अथवा नजरबन्दमा परे ।

मे १९ मा झाओले आन्दोलनकारीको पक्षमा बोलेको २४ घण्टा नबित्दै मे २० का दिन बेइजिङका अधिकारीहरूले सैन्य कानुन लागु गरे । मे १८ को वार्ता असफल भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी खटिइसकेका थिए । सैन्य ट्याङ्कहरू सडकमा निस्कन थाले । केही ट्याङ्क आन्दोलनकारी विद्यार्थीले घेरेर राखे, वेइजिङका बाटोहरू अबरुद्ध बने । मे २४ पछि आन्दोलन थप हिंसात्मक बन्यो । विद्यार्थीहरू सेनाको घेराबन्दीमा परिसकेको तियानमेन स्क्वायर छोड्न तयार भएनन् । जहाँ अनसन चलिरहेको थियो । राजधानी शहरबाट सुरु भएको अशान्ति र आन्दलोलन पूरै चीनमा फैलिसकेको थियो । परिणाम सरकारी पक्ष सैन्य कारबाही गरेर आन्दोलन निस्तेज पार्ने बाटोमा गयो ।

बेइजिङमा सैन्य कानुन

जुन २ का दिन बेइजिङ नर्मल युनिभर्सिटीका लेक्चरर लिउ शिया–बो, ताइवानका चर्चित गायक हू तेइ–चि–एन र अन्य दुई चर्चित हस्तीले विद्यार्थीहरूको समर्थनमा तियानमेन स्क्वायरमा भोक हडताल सुरु गरे । जुन २ मा उनीहरूले जुन २ भोक हडताल घोषणापत्र सहित ७२ घण्टा अनशनमा बस्ने उद्घोष गरेका थिए । यो आन्दोलनको निर्णायक घुम्ती थियो । त्यसैले, चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूले ‘प्रतिक्रान्तिकारी दङ्गा’लाई बल प्रयोग गरेर अन्त्य गर्ने निर्णय गरे । त्यसैको परिणाम थियो– जुन ३ को घटना ।

जुन २ भोक हडताल घोषणापत्रसहित कहलिएका व्यक्तिहरू सरकार विरुद्धको आन्दोलनमा भोक हड्तालमा बसेपछि जुन ३ का दिन सैन्य ट्याङ्क र बख्तरबन्द गाडीसहित ठूलो सङ्ख्यामा खटिएका जनमुक्ति सेनाका सुरक्षाकर्मीले प्रदर्शनकारीलाई हटाउन थाले । केही सैनिकले गोली प्रहार गर्दा कैयौं निशस्त्र नागरिकको मृत्यु भयो । अनसन बसेकाहरूको भिडमा सेनाको ट्याङ्कर कुदाइयो । कैयौं घाइते भए । केही सैनिक पनि प्रदर्शनकारीको आक्रमणमा परे । तियानमेन स्क्वायरमा जुन ३ को राति रक्तपात मच्चियो । राति रक्तपात भएपछि जुन ४ का दिन सवेरैदेखि तियानमेन स्क्वायर सेनाले सफा गर्‍यो । भनिन्छ, जुन ४ का दिन दिनभरि तियानमेन स्क्वाएर क्षेत्रमा सेनाले गोली चलाएको थियो । जुन घटनामा कति मरे, कति अंगभंग भए, कतिलाई पक्रेर जेल हालियो यसको विवरण कतै छैन । यो घटनालाई, अहिले पनि चीन तत्कालीन सरकारले चालेको कठोर आवश्यकता भनेर पन्छिरहेको छ । यो घटना सम्बन्धित अभिलेख कतै पनि प्रकाशित छैन । जुन नरसंहार लगत्तै, चीनका विभिन्न सहर तथा हङकङ र मकाऊमा समेत ऐक्यबद्धता प्रकट गर्न ठूल ठूला प्रदर्शन भएका थिए ।

जुन ३ पछि राजधानी बेइजिङका सडक शान्त भए । सेनाको हमलाबाट बँचेका विद्यार्थी तथा अभियन्ता सरकारको खोजीको सूचीमा परे । घटना लगत्तै चीन सरकारले दर्जनौं विद्यार्थी नेतालाई खोजीको सूचीमा राखेको थियो । जसमा धेरै विद्यार्थी नेता यो घटना लगत्तै देश छाडेर भागे । देश बाहिर गएका अभियन्ता र विद्यार्थीले जुनसुकै बेला आन्दोलनको झिल्को झोस्न सक्ने भन्दै चीन सरकारले– हङकङ गएर लुकेकाहरू बिरुद्ध ‘अपरेसन एलो बर्ड’ चलायो । बँचेका तथा भागेका धेरै अभियन्ताहरू पक्राउ परे । दुई महिनासम्म चलेको आन्दोलनले कुनै आकार लिन पाएन । चीन पुनः एक दलीय कम्युनिष्ट शासन प्रणालीमा अघि बढ्यो र त्यहाँ नागरिक अधिकार कुण्ठित् भइरह्यो । – स्राेतः INS न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *