सामुदायिक वनमा वन्यजन्तुका लागि पोखरी निर्माण

काठमाडौँ । वन्यजन्तुको उपभोगका लागि गोरखाका सामुदायिक वनमा पोखरी निर्माण गरिएका छन् । डिभिजन वन कार्यालयले जिल्लाभित्रका सामुदायिक वनमा ‘एक सामुदायिक वन, एक संरक्षण पोखरी’ कार्यक्रमअन्तर्गत हालसम्म १५ पोखरी निर्माण गरेको छ ।

सहायक वन अधिकृत महेश पौडेलका अनुसार पोखरी निर्माणका लागि छनोटमा परेका प्रत्येक सामुदायिक वनलाई कार्यालयले रु. एक लाख उपलब्ध गराउँदै आएको छ । “कार्यालयले उपलब्ध गराएको रकमबाहेक थप २० प्रतिशत रकम उपभोक्ताको साझेदारीमा लगानी हुन्छ, उपभोक्ता र कार्यालयको साझेदारीमा सामुदायिक वनमा पोखरी निर्माण गरिँदै आएको छ”, उनले भने ।

वन कार्यालयले सकेसम्म सामुदायिक वनमा नजिकै पानीको मुहान भएको ठाउँमा पोखरी निर्माण गर्ने गरेको छ । पानी अभाव भएको स्थानमा समेत बाहिरबाट पाइपमा पानी ल्याएर पोखरीमा सङ्कलन गर्ने गरेको छ । “वन्यजन्तुलाई अब पानीको अभाव हुँदैन”, पौडेलले भने, “त्यसबाट जङ्गली जनावर गाउँबस्तीमा छिर्ने क्रम रोकिनेछ ।” पोखरी निर्माणले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा योगदान पुग्ने उनको भनाइ छ ।

जङ्गलमा पोखरी निर्माण गर्दा डढेलो लागेमा त्यसलाई निभाउन पनि सहज हुनेछ । कार्यालयले निर्माण गर्दै आएको पोखरी करिब १३ मिटर लम्बाइ ६ मिटर चौडाइ र झण्डै एक मिटर गहिराइको रहेको छ । कार्यालयले आर्थिक वर्ष २०७५-०७६ देखि गोरखाका सामुदायिक वनमा ‘एक सामुदायिक वन, एक–एक पोखरी’ कार्यक्रमअन्तर्गत पोखरी निर्माण गर्दै आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *