राजा वीरेन्द्रको २१ औँ स्मृति दिवस मनाइयो

काठमाडौँ । शान्ति प्रेमी राजाकाे परिचय बनाएका वीरेन्द्र वीरविक्रम शाहदेवको २१औँ स्मृति दिवस मनाइएको छ ।
स्व.राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले शान्ति क्षेत्र घोषणाका प्रस्तावक राजा वीरेन्द्रको स्मरण गर्दै देशमा शान्ति र राजनीतिक स्थायित्वको कामनासहित जावलाखेलस्थित वीरेन्द्रको शालिकमा आज माल्यार्पण गरी स्मृति सभा मनाइएको हो ।
राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न महत्वपूर्ण योगदान दिएका थिए, त्यसैले वीरेन्द्र शान्तिवादी राजाको रूपमा परिचित छन् । उनले शान्ति र विकासको निमित्त राष्ट्रलाई दिएको त्याग र योगदानको उच्च मूल्यांकन गरी देशमा शान्ति र अमनचयन राख्नु नै उनीप्रतिको सच्चा सम्मान हुने प्रतिष्ठानको ठहर छ ।
प्रतिष्ठानका सचिव रञ्जित धमलाले प्रजातन्त्रका पक्षधर राजा वीरेन्द्रको शासन खण्डमा शान्ति क्षेत्र घोषणा गर्न गरिएका प्रस्ताव, जनमत संग्रह, प्रजातन्त्र पुनर्वहालीजस्ता कार्यको सधैँ प्रसंसायोग्य भएको बताए ।
प्रतिष्ठानका अध्यक्ष शिवहरी खनालले विश्वशान्तिका ज्योति भगवान बुद्ध जस्तै नेपालको शान्ति क्षेत्र र विकासको लागि राजा वीरेन्द्रको योगदान पनि उच्च रहेको बताए । देशभक्ति र जनताप्रेमी राजा वीरेन्द्रको अभाव सधैँ खड्किरहेकाे बताए । उनले राजा वीरेन्द्रको शालिक, दरबार, धर्मशाला, सांस्कृतिक धरोहर लगायत सम्पूर्ण सम्पत्तिको रक्षा गर्नु राज्य एवं सरोकारवाला निकायको प्रमुख दायित्व भएको बताए ।








