दाङका स्थानीय तहमा २१७ महिला जनप्रतिनिधि

काठमाडौँ । हालै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा दाङका दश स्थानीय तहका १०० वडामा प्रमुख पदमा कोही पनि महिला निर्वाचित भएका छैनन् ।

प्रमुख पदमा निर्वाचित नभए पनि उपप्रमुख, उपाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य गरी २१७ महिला निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। उपप्रमुखमा ३, उपाध्यक्षमा ६, महिला सदस्यमा १००, दलित महिला सदस्यमा १०० र खुला सदस्यमा ८ महिला उम्मेदवार निर्वाचित भएको निर्वाचन अधिकारी नारायण भण्डारीले जानकारी दिए ।

जिल्लामा ८७२ महिलाले चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए । प्रमुख पदका लागि १०, उपप्रमुखमा ४६, वडाध्यक्षमा १९, महिला सदस्यमा ३९५, दलित सदस्यमा ३५५ र खुला सदस्यमा ४७ महिला उम्मेदवार बनेका थिए । दुई उपमहानगरपालिका र पहाडी गाउँपालिका बङ्गलाचुलीमा गठबन्धनबाट प्रमुख र उपप्रमुखमा महिलालाई उम्मेदवार बनाइएको थिएन । नेकपा (एमाले)ले ती सबै ठाउँमा महिलालाई उपप्रमुखमा उम्मेदवार बनाएको थियो । राप्रपासहित अन्य साना दलले पनि प्रमुखमा महिलालाई उम्मेदवार बनाएका थिए ।

दलहरूले गठबन्धन नगरेका यहाँका सात स्थानीय तहमध्ये नेपाली कांग्रेसले राप्ती गाउँपालिकामा अध्यक्ष र शान्तिनगर गाउँपालिका–२ मा महिला उम्मेदवार बनाएको थियो । ती दुवै स्थानमा उनीहरू पराजित भए । एमाले लगायत अन्य दलले पनि वडामा महिला उम्मेदवार बनाएका थिए । कोही पनि विजयी भएनन् ।

दाङका १० स्थानीय तहको प्रमुख र उपप्रमुख, वडाध्यक्ष, दलित, महिला र खुला सदस्यमा गरी कूल दुई हजार २०७ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *