कृष्णपुर स्वास्थ्यचौकीमा २४ घण्टे सेवा सञ्चालन

काठमाडौँ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सर्वसाधारणको स्वास्थ्य उपचारमा सघाउ पु¥याउन स्वास्थ्यचौकीमा २४ घण्टे सेवा सञ्चालनमा ल्याउन लागेको छ ।

आगामी असार १ गतेदेखि स्वास्थ्यचौकीबाट उपलब्ध हुने सबै सेवा चौबीसै घण्टा पाइने भएको छ । स्वास्थ्यचौकीमा यसअघि बर्थिङ सेन्टरबाट उपलब्ध हुने प्रसूति सेवा मात्रै २४ घण्टा उपलब्ध गराइँदै आएको थियो । प्रसूति सेवासहित अन्य स्वास्थ्यचौकीबाट उपलब्ध हुने सेवा चौबीसै घण्टा उपलब्ध गराउनका लागि कार्य अगाडि बढाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर विष्टले बताए ।

“सार्वजनिक बिदाका दिनसमेत स्वास्थ्यचौकीमा चौबीसै घण्टा सेवा प्रदानका लागि स्वास्थ्यकर्मी व्यवस्थापनको कार्यलाई अगाडि बढाएका छौँ”, उनले भने, “सार्वजनिक बिदा र कार्यालय बिदा भएपछि सर्वसाधारणले स्वास्थ्यचौकीबाट सेवा पाउनबाट वञ्चित रहनुपर्ने अवस्था थियो, त्यसको अब अन्त्य हुने भएको छ ।”

नियमित रूपमा सञ्चालन हुँदै आइरहेको सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्ने कार्यसँगै सेवाग्राहीको स्वास्थ्य सेवामा पहुँच बढाउन र सर्वसुलभ गुणस्तरीय सेवा प्रदान गर्नका लागि हाल सञ्चालनमा रहेका सेवालाई नै नियमित २४ घण्टे सेवा दिने व्यवस्था गरिएको नगर प्रमुख हेमराज ओझाले जानकारी गराए ।

कृष्णपुर स्वास्थ्यचौकीमा मात्रै २४ घण्टे सेवा सञ्चालन गर्ने निर्णय भएको उल्लेख गर्दै उनले बिरामीको चाप र आवश्यकताका आधारमा अन्य स्वास्थ्यचौकीमा समेत सेवा उपलब्ध गराउने समय विस्तार गर्दे लैजाने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *