पोखराको कार्यपालिका चुनाव : एमाले-कांग्रेसले होटलमा राखे आफ्ना जनप्रतिनिधि

पोखरा । आज पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यका लागि मतदान हुँदैछ । ८ सदस्यको निर्वाचनका लागि एमाले एक्लै र गठबन्धनले ४ दलबाट उम्मेदवार उठाएको छ ।

महिला सदस्यतर्फ कांग्रेसबाट डाल्डादेवी भुजेल, दुर्गादेवी केसी थापा, पवित्रा थापा, भावना श्रेष्ठ, रनसुबा गुरुङ उम्मेदवार छन् भने एमालेबाट धनकुमारी पोख्रेल, निर्मला पौडेल, भीमकुमारी पुन गर्बुजा, मन्दिरै परियार र हरिमाया विश्वकर्मा उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, दलित तथा अल्पसङ्ख्यक कोटामा गठबन्धनबाट माओवादीका भीमबहादुर सार्की, जनता समाजवादी पार्टी (जसपा) का पानबहादुर घर्ती र नेकपा (एकीकृत समाजवादी) का लालबहादुर विक उम्मेदवार छन् भने एमालेबाट गोविन्द तुलाचन, दीपक घिमिरे र निर्मल दियालीले मनोनयन दर्ता गराएका छन् ।

महिला सदस्य यसअघि नगरसभामा निर्वाचित भएकै मध्येबाट ५ जना आउनेछन् भने दलित तथा अल्पसङ्ख्यक बाहिरबाट ल्याइन्छ । नगरसभामा एमालेको एकल बहुमत छ । कार्यपालिकामा भने कांग्रेसको एकल बहुमत छ । वैशाख ३० को निर्वाचनबाट १ सय ६७ सदस्य निर्वाचित भएकोमा एमालेको मात्रै ८६ जना छन् । कांग्रेससहित गठबन्धनको ८१ सदस्य छन् । नगरसभा सदस्यले मतदान गरेर ८ जना कार्यपालिका सदस्य निर्वाचित गर्ने कानूनी व्यवस्था छ ।

पोखराको कार्यपालिका ४३ सदस्यीय हुन्छ । कांग्रेसले मात्रै २३ अध्यक्ष चुनाव जितेको छ । मेयर र स्वतन्त्र सहित २५ जना गठबन्धनका छन् । हालसम्म एमालेबाट ९ जना वडाध्यक्ष निर्वाचित भएका छन् । उपमेयर सहित १० जना कार्यपालिकामा सहभागिता छ । एमालेले ८ सदस्य निर्वाचित भए १८ जना पुग्छन् । तर बहुमत अझै पुग्दैन । गठबन्धनले चुनाव जिते ७७ प्रतिशत अर्थात् २ तिहाइ बहुमतभन्दा बढी हुन्छ ।

एमालेले आफ्नो मत सुरक्षित गरे पुग्छ भने गठबन्धनले आफ्नो सुरक्षित गरेर ३ जना एमालेको मत चोर्नुपर्छ । जनप्रतिनिधिले फ्लोर क्रस गर्न सक्ने डरले एमाले र गठबन्धनका जनप्रतिनिधिहरूलाई छुट्टाछुट्टै रिसाेर्टमा राखिएको छ । एमालेले सोमबारदेखि अन्नपूर्ण गाउँपालिकाको हिमालयन रिपोर्टमा राखेको छ भने कांग्रेसले मंगलबारदेखि लेकसाइडको होटल कान्तिपुरमा राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *