तारा एयरद्वारा दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त (विज्ञप्तिसहित)

काठमाडौँ । गत जेठ १५ गते आइतबार बिहान पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको जहाज दुर्घटनाग्रस्त हुन पुग्दा जहाजमा भएका सम्पूर्ण यात्रु एवं चालक दलको घटनास्थलमै निधन भएकोप्रति तारा एयरले विज्ञप्ति सार्वजनिक गरी श्रद्धाञ्जली अर्पण गरेको छ।

उड्ने क्रममा सम्पर्कविहीन हुन पुगेको तारा एअरको (9N AET)  वायुयान २०७९ जेठ १६ गते मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएकोमा उक्त दुर्घटनामा परी ३ जना चालकदलका सदस्य, २ जना जर्मन, ४ जना भारतीय र १३ जना नेपाली यात्रुहरू गरी २२ जनाकै घटनास्थलमै दुःखद् निधन भएको पुष्टि भएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यस अकल्पनीय दुर्घटनामा परी निधन हुनु भएका चालकदल तथा सम्पूर्ण यात्रुहरूको दिवङ्गगत आत्माको चिर शान्तिको प्रार्थना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।’

दुर्घटनामा मृत्यु भएका यात्रुको परिवार एवं आफन्तमा समेत समवेदना प्रकट गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘यस दुःखद घडीमा शोकाकुल परिवार, इष्टमित्र, साथीभाइ तथा आफन्तजनहरूमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछौँ। यस दुर्घटनाबाट परिवारजन तथा आफन्तमा पर्न गएको अपूरणीय क्षतिप्रति हामी क्षमाप्रार्थी छौँ।’

तारा एयरले सङ्कलित बाँकी १२ जनाको शव पनि दुर्घटनास्थलबाट काठमाडौँ ल्याइसकिएको र त्रि. वि. शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमका लागि आज लगिएको जानकारी गराएको छ। पोस्टमार्टमपश्चात् प्रक्रियाअनुसार २२ जनाको शव सम्बन्धित परिवारजनमा हस्तान्तरण गरिने एयरले जनाएको छ।

साथै, प्रतिकूल मौसम र भौगोलिक जटिलताका बाबजुद पनि खोजी तथा उद्धारकार्यमा सहयोग गर्ने नेपाल नागरिक उड्ययन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्र, त्रि.अ.वि., नागरिक उड्डयन कार्यालय, पोखरा नागरिक उड्डयन कार्यालय, जोमसोम नागरिक उड्डयन कार्यालय, कास्की तथा मुस्ताङका जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न हेलिकप्टर कम्पनीहरु, स्थानीय निकाय, नेपाल राष्ट्रिय माउन्टेन गाईड एसोसिएसनका उद्धार टोली लगायत उद्धारकार्यमा संलग्न अन्य सबै व्यक्ति तथा संघसंस्थाहरूप्रति समेत सोही विज्ञप्तिमार्फत् आभार व्यक्त गरिएको छ।

एयरले अकल्पनीय दुर्घटना हुँदा अपूरणीय क्षति भएकोमा दुःख व्यक्त गरेको हो।

विज्ञप्तिः
No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *