आईजीपी नियुक्तिविरुद्धको रिटमा अन्तिम सुनुवाइ आज, के आउला फैसला ?

काठमाडौँ । ज्येष्ठता मिचेर प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरिएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दर्ता गरेको रिटको अन्तिम सुनुवाइ आज हुँदैछ ।
यसअघि सुस्मलता माथेमाको एकल इजलासले पोखरेलको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि पेशी सार्न नमिल्ने गरी जेठ १७ गतेका लागि अन्तिम सुनुवाइको मिति तोकेकी थिइन् । सरकारले १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गरेपछि अन्यायमा परेको भन्दै वरिष्ठता र ज्येष्ठतामा पहिलो नम्बरमा रहेका एआईजी पोखरेलले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
पोखरेलले अन्तरिम आदेश माग गरेपनि न्यायाधीश माथेमाले स्थानीय निर्वाचनमा प्रहरी संगठन प्रमुखविहीन हुँदा समस्या हुने तर चाँडै फैसला गर्न सकिने सरकारी पक्षको आग्रहलाई समर्थन गर्दै आदेश गरेकी थिइन् । आईजीपीको दर्ज्यानी चिह्न लगाइसकेको व्यक्तिलाई काम गर्नबाट रोक्न नहुने तर्कसमेत सरकारी पक्षका वकिलहरूले गरेका थिए ।
न्यायाधीश माथेमाले भने दर्ज्यानी चिह्न लगाइसकेको अवस्थाबारे अन्तिम सुनुवाइमा छलफल हुने आदेश गरेकी थिइन् । सिंह एआईजीमा बढुवा भएको एक महिनामै आईजीपीमा बढुवा भएका थिए । सरकारले एआईजीका तीनवटा दरबन्दी थप गरेपछि सिंहको आईजीपी बन्ने बाटो खुलेको थियो । प्रहरी नियमावलीमा उपलब्ध एआईजीमध्येबाट आईजीपी बनाउनसक्ने व्यवस्था रहेकाले सरकारलाई आफूले चाहेको व्यक्तिलाई बढुवा गर्नसक्ने सुविधा रहेको सरकारी वकिलहरूको तर्क छ ।
पोखरेल २०७७ मंसिर र सहकुल थापा २०७८ असारमा एआईजीमा बढुवा भएका थिए। ज्येष्ठता मिच्दा प्रहरी संगठनमा चेन अफ कमान्ड नै ध्वस्त हुने र अराजक बन्नसक्ने खतरा रहने पोखरेल पक्षको तर्क रहेको छ । पोखरेलको विपक्षमा फैसला भए उनले आगामी साउनमा उमेर हदका कारण अवकाश पाउने छन् । पोखरेल र सिंहले एउटै मिति अर्थात् २०४९ चैतमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा सुरु गरेका हुन् ।








